नासिँदै संस्कृति, मेटिँदै पहिचान !

आधुनिकता र व्यस्त जीवनशैलीले परम्परागत संस्कृति मासिँदै जाँदा सहअस्तित्व र विशिष्ट पहिचानको चक्र पनि टुट्दै गएको छ

प्रा.डा. रमेश ढुंगेल

संस्कृति मर्नु देशको अस्तित्व सकिनु हो – प्रा.डा. रमेश ढुंगेल, संस्कृतिविद्

जुन देशको संस्कृति मर्छ, त्यो देशको अस्तित्व पनि समाप्त हुन्छ । हाम्रो जस्तो विविधतायुक्त देशमा संस्कृति तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण महत्वपूर्ण कुरा हो । हामी अहिले देखासिकीले बिग्रिएका छौँ । आफ्नो प्रेस्टिज बचाउने हो भने संस्कृतिको संरक्षण आवश्यक हुन्छ । हाम्रो पहिचान र स्वाभिमान संस्कृतिसँग जोडिएको हुन्छ । त्यसैको संरक्षण भएन भने हाम्रो पहिचान पनि रहँदैन ।

समुदायले आफ्नो समाजमा रहनका लागि गर्ने हरेकजसो गतिविधि नै त्यो समाजका लागि संस्कृति बन्छन् । भौगोलिक अवस्थिति र जात वा समुदायविशेष संस्कृतिका आयाम फरक हुन सक्छन् । तराई क्षेत्रमा गर्मीका कारण धोती वा पातलो कपडा लगाउनु त्यहाँको संस्कृति नै बनिसकेको छ भने हिमाली भेगमा बख्खी लगाउनु त्यहाँको संस्कृतिसँग जोडिन्छ । समुदायमा संस्कृतिले सामूहिक विश्वास, मूल्य, रीतिरिवाजलाई जीवित बनाएको हुन्छ भने यसले समाजको यथार्थलाई चित्रण पनि गर्छ ।

भनिन्छ— संस्कृति नै समाजमा रहनेका लागि जीवन जिउने शैली, मानिसको पहिचान पनि हो । तर, पछिल्लो समय बढेको बसाइँसराइ, समाजमा फरक–फरक समुदायको अन्तरघुलनजस्ता गतिविधिले जातीय वा समुदाय विशेषका संस्कृति पनि अन्तरघुलन भएर केही परिष्कृत भएका छन् त केही लोप हुने अवस्थामा छन् । १ दशक अघिसम्म हरेक दिन काठमाडौँका कुनै न कुनै चोक वा गल्लीमा जात्रा वा रथयात्रा देखिन्थ्यो । तर, आजभोलि त्यस्तो चहलपहल कमै देखिन्छ । कायम रहेका जात्रा, रथयात्रामा पनि खट बोक्ने मान्छेकै कमी हुन थालेको छ । व्यस्त जीवनशैली र मोर्डन हुन चाहनेको भिडमा सदियौँदेखिका संस्कृति बिस्तारै मासिँदै गएका छन् ।

काठमाडौँको वातावरणीय र सामाजिक रूपमा महत्वपूर्ण मानिने सिथि नखः अहिले विलुप्त हुने अवस्थामा पुगेको छ । हरेक वर्षको वैशाख वा जेठमा पानीका स्रोतहरू इनार, पोखरी तथा धारा सफा गरेर मनाइने यो सांस्कृतिक परम्परा अहिले काठमाडौँभित्र कमै देखिन्छ । इनार र पोखरी नै हराउँदै जाँदा काठमाडौँको यो पुरानो संस्कृति पनि विलुप्त हुँदै छ । भएका ठाउँमा पनि मानिसको व्यस्तताले सांस्कृतिक परम्पराअनुसार नभई मन लागेको र फुर्सद भएका बेला सफा गर्ने प्रचलनले पनि सिथि नखः को अस्तित्व समाप्त हुँदै गएको छ ।

यस्ता सयौँ संस्कृतिहरू काठमाडौँ उपत्यकाबाट लोप भएका छन् भने केही लोप हुने अवस्थामा छन् । कतिपय स्थानीय जात्राहरू हुन छाडेका छन् भने जात्रा, रथयात्रामा खट बोक्ने मान्छे नै कम हुँदै गएका छन् । देशभरको कुरा गर्ने हो भने त हाम्रा यस्ता ती अनगन्ती पुराना परम्परा तथा संस्कृतिहरू हाम्रा विगत बनिसकेका छन् । नेवार र क्षेत्री, बाहुन र जनजाति, मधेसी समुदाय र हिमाली शेर्पाजस्ता एउटा समुदायलाई अर्को समुदायबाट अलग र विशिष्ट रूपमा चिनाउने माध्यम नै तिनका संस्कृति हुन् । समय र परिवर्तनले पनि संस्कृतिमा परिवर्तन ल्याएको देखिन्छ । भक्तपुरका चोकमा अहिले पनि सुकुल बिछ्याएर घाम ताप्दै गफिने गरेको देख्दा काठमाडौँमा ती प्रचलन हटिसकेका छन् । अहिले घाम ताप्न र गफ गर्न पार्कको आवश्यकता छ । यसले शुकल संस्कृतिलाई पार्क संस्कृतिमा रूपान्तरण गरेको छ ।

नेपालका संस्कृतिक विविधताको संरक्षणमा नागरिकदेखि सरकारसमेत गम्भीर नभएको संस्कृतिविद् प्रा.डा. रमेश ढुंगेलको आरोप छ । देशको संस्कृति मासिँदा देशको अस्तित्व पनि समाप्त हुने चतावनी दिँदै ढुंगेल देखासिकी र आफ्नो संस्कृति छाडेर विदेशी संस्कृतिप्रति नेपालीहरूको मोह बढ्दै गएकामा सतर्क हुन आग्रहसमेत गर्छन् । देश र त्यहाँका नागरिकको स्वाधीनता त्यहाँको संस्कृतिसँग जोडिने हुनाले यसप्रति सजग बन्नुपर्ने उनको सुझाव छ । ‘जुन देशको संस्कृति मर्छ, त्यो देशको अस्तित्व पनि समाप्त हुन्छ । हाम्रो जस्तो विविधतायुक्त देशमा संस्कृति तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण महत्वपूर्ण कुरा हो । हामी अहिले देखासिकीले बिग्रिएका छौँ । आफ्नो प्रेस्टिज बचाउने हो भने संस्कृतिको संरक्षण आवश्यक हुन्छ,’ ढुंगेल भन्छन्, ‘हाम्रो पहिचान र स्वाभिमान संस्कृतिसँग जोडिएको हुन्छ । त्यसैको संरक्षण भएन भने हाम्रो पहिचान पनि रहँदैन ।’

०००

प्लटिङले मास्यो किसानको संस्कृति – राजु महर्जन, वडाध्यक्ष, ललितपुर–९

राजु महर्जन

संस्कृति त जीवितै छ, तर निकट भविष्यमै लोप हुन सक्छ । महंगिदो बजार, जीवनशैलीमा भएको परिवर्तन, समयको चाप, रोजगारीजस्ता विषयले संस्कृतिहरू मासिँदै गएका हुन् भन्न सकिन्छ ।

०००

ललितपुर महानगरपालिका–९ का वडाध्यक्ष राजु महर्जन विगत सम्झिँदै आफ्ना पुराना संस्कृतिहरू कतै लोप हुन लागेका त होइनन् भन्ने सोच्न बाध्य हुन्छन् । बाल्यकालमा गाउँघरमा देखेका कतिपय परम्पराहरू अब उनको स्मृतिमा मात्र छन् । र, अहिले चलनमा रहेका केही संस्कृति पनि अर्को पुस्तासम्म नपुग्ने हो कि भन्ने चिन्ता छ । हरेक अष्टमी, पूर्णिमा र औँसीमा पाटीपौवा तथा चोकचोकमा बसेर बाजागाजा बजाउने ललितपुरको संस्कृति आजकाल कहीँकतै मात्र देखिन्छ । देखिए पनि त्यहाँ मानिसको सहभागिता अत्यन्तै कम हुन्छ ।

कृषिसम्बन्धी सबैजसो सांस्कृतिक परम्परा त करिब–करिब लोप भइसकेका छन् । उपत्यकामा पहिले धान रोपिसकेपछि असार–साउनमा अर्थात् जनैपूर्णिमाका दिन खेतमै गएर भ्यागुतोलाई खुवाउने परम्परा थियो । तर, उपत्यकामा आजभोलि यो परम्परा देखिँदैन । नेवारी भाषमा ‘व्यां चा वानेगू’ भनिने यो संस्कृति अहिले करिब–करिब लोप भइसकेको छ । उपत्यकामा विस्तार भएको बाक्लो बस्ती, प्लटिङ र विकासका नाममा खेत नै मासिँदा यस्ता संस्कृति पनि मासिए ।

नेवार समुदायमा रोपाइँ सकेपछि अर्थात् साउन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिका दिन घण्टाकर्ण चतुर्दशी मनाउने प्रचलन छ । यस दिन सबैले आ–आफ्नो घर सफा गरेर साँझका बेला परालको मुठोमा आगो बालेर घर पन्छाएर चौबाटोमा फ्याँक्ने र त्यसपछि घोरको ढोका बन्द गरेर त्यो रात घरबाहिर निस्किन मिल्दैनथ्यो । एकै पटक भोलिपल्ट बिहान मात्र बाहिर निस्किने परम्परा थियो । तर, अहिले रमाइलोका लागि दिउँसै परालको मुठोमा आगो बालेर ¥याली निकाल्ने प्रचलन बढेको छ । यसले पुरानो संस्कृतिलाई नै विस्थापित गरेको छ । ‘यो पनि केही वर्षसम्म मात्र होला जस्तो छ । उपत्यकामा धान नै रोप्न छाडिसके, पराल पनि पाइँदैन । अनि कसरी त्यो परम्परा चल्ला त ?,’ राजु महर्जन भन्छन् । त्यस्तै, कृषिसँगै उपत्यकाका स्थानीय खेल र त्यससँग सम्बन्धित सबै संस्कृति अहिले लोप भइसकेका छन् ।

समाजको अभिन्न अंगका रूपमा रहेको जन्म, मृत्युमा अपनाइने संस्कार र त्यसभित्रका संस्कृति पनि लोप हुने दिशामा छन् । बारनको समयमा प्रयोग हुने सामग्रीहरू फेरिँदै र घट्दै गएका छन् भने बारनको दिन नै घटेको छ । यस विषयमा राजु भन्छन्, ‘संस्कृति त जीवितै छ, तर यसले गर्दा निकट भविष्यमै यस्ता संस्कार र संकृस्कृति लोप हुन सक्छ । महंगिदो बजार, जीवनशैलीमा भएको परिवर्तन, समयको चाप, रोजगारी जस्ता विषयले संस्कृतिहरू मासिँदै गएका छन् । कतिपय सांस्कृतिक परम्परा तथा संस्कृतिका पाटाहरू पात्रोअनुसार समय, स्थान र दिन फरक फरक पर्छ, यो व्यस्त जीवनशैलीमा कामले गर्दा कसैको फुर्सद नै हुँदैन, कोहीको चासोमै पर्दैन । अनि संस्कृतिको स्थायित्व कसरी हुन सक्छ ?’

०००

संस्कृति त्यो हो, जसले एउटालाई चोट लाग्दा अर्कोलाई दुःखाउँछ – सानुमैया महर्जन, वडाध्यक्ष, कीर्तिपुर–८

सानुमैया महर्जन

भोजले नेवार बिग्रियो भन्ने गलत भाष्यका कारण यहाँका कतिपय संस्कृतिहरू लोप भए । संस्कृतिले समाजलाई संगठित गर्छ । पहिले–पहिले एउटालाई चोट लाग्दा अर्कोलाई दुःख्ने गथ्र्यो, तर अहिले वल्लो–पल्लो घरका मान्छे नचिनिने अवस्था आइसक्यो । संस्कृतिले समाजलाई बाँधेर राखेको थियो । यस्ता संस्कृति जोगाउँदा फाइदा हुन्छ, घाटा हुँदैन ।

०००

नेवार समुदायले मनाउने ‘च थाः’ अर्थात् गणेश चौथी उपत्यकाको कीर्तिपुुर तथा चन्द्रागिरी भेगमा फरक शैलीमा मनाइन्थ्यो । केही फरक संस्कृति देख्न पाइन्थ्यो, तर आजभोलि हराउँदै गएको छ । सो दिन साँझ परेपछि बाहिर निस्किनु हुँदैन भन्ने मान्यता थियो भने निस्किँदा रातो खुर्सानी टाउकोमा राखेर बाहिर निस्केको बाल्यकालको सम्झना सानुमैया महर्जनसँग छ । कीर्तिपुर नगरपालिका–८ की वडाध्यक्ष महर्जनसँग तिजको चतुर्थीमा मनाइने ‘च थाः’ पर्वको सांस्कृतिक पाटो हराउँदै गएको अनुभव छ ।

धान रोपिसकेपछि सबै आफन्त र सहयोगीहरू बोलाएर भोज गर्ने चलन थियो, जसलाई स्थानीय भाषामा धार्खः भनिन्छ । यसमा सूचना दिएरै परेलीहरूलाई बोलाउने र सँगै बसेर असारे दौडधुपलाई बिसाउने प्रचलन थियो । तर, खेत मासिएसँगै ती सांस्कृति परम्परा पनि मासिए । विशेष गरी उपत्यकाको दक्षिण भेगमा म्हः पूजाको दिन पूजाका लागि आवश्यक सबै सामग्री माइतीले ल्याइदिने चलन थियो । त्यसलाई ‘म्हः पूजा कु’ अर्थात् म्हः पूजाका लागि चाहिने सामग्रीको भारी भन्ने गरिन्छ । तर, व्यस्तता र माइतीलाई भार पर्छ भन्ने सोचका कारण आजकल कहीँकतै मात्रै उक्त परम्परा देखिन्छ ।

यस्ता संस्कृतिहरू मासिनुमा सामाजिक चेतनामा विदेशी प्रभाव हावी र नेवार समुदायमाथि लाग्ने गरेको सामाजिक आरोप मुख्य रहेको महर्जनको बुझाइ छ । उनी भन्छिन्, ‘भोज धेरै भयो भन्ने मान्यता र भोजले नेवार बिग्रियो भन्ने गलत भाष्यका कारण यहाँका कतिपय संस्कृतिहरू लोप भए ।’ संस्कृति पैसा र व्यवहारमा मात्र सीमित नभएर समाजको अभिन्न अंग भएकाले यसको जगेर्ना र संरक्षण सबैको दायित्व हुनुपर्ने उनी बताउँछिन् । ‘संस्कृतिले समाजलाई संगठित गर्छ । पहिले पहिले एउटालाई चोट लाग्दा अर्कोलाई दुःख्ने गथ्र्यो, तर अहिले वल्लो घर र पल्लो घरका मान्छे नचिनिने अवस्था आइसक्यो,’ महर्जन भन्छिन्, ‘संस्कृतिले समाजलाई बाँधेर राखेको थियो । यस्ता संस्कृति जोगाउँदा फाइदा हुन्छ, घाटा हुँदैन ।’

०००

संस्कृति संरक्षण गर्ने पहिलो दायित्व समुदायको – नवीन मानन्धर, प्रवक्ता, काठमाडौँ महानगरपालिका

नवीन मानन्धर

हिजोको समय सम्पदा र संस्कृतिमैत्री थियो भने विकास पनि त्यहीअनुसार हुन्थ्यो । तर, अहिले मोर्डन हुने होडमा विकास गर्दा ती सम्पदा र संस्कृति ख्याल नै राखिएन । हिजो ती संस्कृतिहरू हाम्रो बाँच्ने आधार थिए, अहिले बाँच्ने आधारहरू फेरिँदै गएका छन् । योसँगै हाम्रा संस्कृति पनि फेरिँदै र परिमार्जित हुँदै गएका छन् । तर, हिजोका ती मौलिकता गुम्न दिँदैनौँ ।

०००

काठमाडौँको वातावरणीय र सामाजिक रूपमा महत्वपूर्ण मानिने सिथि नखः अहिले विलुप्त हुने अवस्थामा पुगेको छ । हरेक वर्षको वैशाख वा जेठमा पानीका स्रोतहरू इनार, पोखरी तथा धाराहरू सफा गरेर मनाइने यो परम्परा अहिले काठमाडौँभित्र कमै देखिन्छ । इनार र पोखरी नै हराउँदै जाँदा काठमाडौँको यो पुरानो संस्कृति पनि विलुप्त हुँदै छ । भएका ठाउँमा पनि मानिसहरूको व्यस्तताले गर्दा सांस्कृतिक परम्पराअनुसार नभई मन लागेको र फुर्सद भएका बेला सफा गर्ने प्रचलनले पनि ‘सिथि नखः’ को अस्तित्व समाप्त हुँदै छ ।

अन्धाधुन्ध गरिएको सहरीकरणले पाटी, पौवा, इनार, ढुंगेधारा नै विस्थापित गर्दा यसको प्रचलन नै हट्दै गएको छ । र, यीसँग जोडिएका संस्कृति पनि विस्थापित भएका छन् । यस्ता इनार, पोखरी र ढुंगेधाराहरूलाई पहिलेकै अवस्थामा ल्याउन नसकिए पनि तिनलाई सम्पदाका रूपमा संरक्षण गरेर आगामी पुस्ताका लागि संरक्षण गर्ने काठमाडौँ महानगर–१७ का वडाध्यक्ष नवीन मानन्धर बताउँछन् । काठमाडौँ महानगरका प्रवक्तासमेत रहेका मानन्धर भन्छन्, ‘हाम्रा संस्कृति पनि फेरिँदै र परिमार्जित हुँदै गएका छन् । तर, हिजोका ती मौलिकता गुम्न दिँदैनौँ । संस्कृतिहरूलाई आगामी पुस्ताका लागि सम्पदाका रूपमा रहने गरी पनि जोगाउन हामी लागिपरेका छौँ ।’

समय र आवश्यकताले त्यस्ता संस्कृति मासिएको उनको बुझाइ छ । त्यस्तै, केही दशकअघिसम्म काठमाडौँका हरेक गल्ली र चोकमा अक्षय तृतीयाका दिन स्थानीयले सक्खर र पानी मट्कामा राखेर बटुवाहरूलाई खुवाउने गरेकामा आजभोलि युवाहरू भेला भएर यसलाई मुस्किलले जोगाइरहेका छन् । बाँच्ने आधार र त्यसका मान्यता फरिँदै गर्दा कतिपय संस्कृतिहरू मासिएको र कतिपय परिमार्जित भएर नयाँ स्वरूपमा आएको मानन्धर बताउँछन् ।

संस्कृतिको लोप हुने अवस्था र त्यसको चरणबारे मानन्धर भन्छन्, ‘सक्खर पानी खाँदा हामीलाई त्यतिबेला तागत मिल्थ्यो । त्यही भएर गर्मीको बेला सक्खर पानी खुवाउने संस्कृति नै बस्यो । तर, अहिले बजारमा अनेक प्रकारका जुस र शीतल गर्ने पेयपदार्थ पाइन्छन् । अनि त्यही सक्खर खानैपर्ने बाध्यता भएन नि !’


कला संस्कृति स्थानीय तह वा अरू सरकारले जोगाइदिने भन्दा पनि समुदाय आफैँले जगाउनुपर्ने काठमाडौँ महानगर–२४ को मख्खन टोलकी स्थानीय सुनिता महर्जन बताउँछिन् । ‘पहिला कुनै सरकारले सहयोग नगर्दा पनि संस्कृति जोगिएकै थियो, अहिले स्थानीय सरकारहरू यसमा लाग्दा पनि जोगिन सकेको छैन,’ वडा सदस्यसमेत रहेकी महर्जनले भनिन्, ‘त्यसैले आफ्नो संस्कृति जोगाउने पहिलो दायित्व स्थानीय र त्यहाँका समुदायकै हो ।’

प्रतिक्रिया