जतिबेला डोलीमा हिँड्थ्यो समाज !

आजभोलि दुलही भित्र्याउन विलासी कार र हेलिकोप्टरको होडबाजी छ । यस्तो अवस्थामा काँधमा डोली बोक्ने परम्परालाई ‘पुरानो वा असभ्य’ सोच्ने मानसिकता हाबी हुन थालेको छ । भोलिको पुस्तालाई त्यो गौरवशाली इतिहास बुझाउन डोलीलाई सांस्कृतिक उत्सवहरूमा भए पनि जीवित राख्नुपर्ने आधुनिक युगको टड्कारो आवश्यकता छ

लुम्बिनी । अहिलेको दुनियाँ पांग्रामा गुड्छ, पखेटा फिँजाएर आकाशमा उड्छ । तर, एउटा यस्तो समय थियो— जतिबेला हाम्रो समाज र संस्कार ‘डोली’ मा हिँड्ने गथ्र्यो । सडक सञ्जालले भूगोल जोडिनुअघि मानिस बोक्ने त्यो काठको वाहन अहिले आधुनिकताको तीव्र वेगमा केवल किंवदन्ती र संग्रहालयको एउटा कुनामा खुम्चिन पुगेको छ । इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार नेपालमा डोलीको प्रयोग लिच्छविकालदेखि नै राजकीय सानका रूपमा हेरिन्थ्यो । मल्लकालीन समयमा काठमाडौँ उपत्यकाका रानीहरू र उच्च घरानाका महिलाका लागि ‘तामदान’ (पर्दा लागेको विशेष डोली) अनिवार्य थियो ।

१९०६ सालमा प्रधानमन्त्री जंगबहादुर राणा बेलायत जाँदा पनि तराईको चारकोशे झाडी र पहाडी भन्ज्याङहरू पार गर्न डोलेहरूले नै बोकेरै यात्रा गराएका तथ्यहरू भेटिन्छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० की लक्ष्मी थारूले भनिन्, ‘डोली, अहिले देखिन छाडिसक्यो ।’ दुलहीलाई माइतीबाट बिदाइ गरी ससुराली लैजाने काठको परम्परागत सवारी साधन नै डोली हो । कहारहरूले काँधमा बोक्ने डोली नेपाली संस्कृतिमा प्रेम र विछोडको प्रतीक मानिन्छ । धार्मिक उत्सवहरूमा देवीदेवताका मूर्तिलाई डोलीमा बोकेर शोभायात्रा गराइन्छ । यो सवारीसाधन सिसौ वा खयरजस्ता मजबुत काठबाट बनाइन्छ । यसको सामान्य स्वरूपलाई ‘डोली’ भनिन्छ भने सम्भ्रान्त वर्गले प्रयोग गर्ने अलि ठुलो र कलात्मक स्वरूपलाई ‘पालकी’, ‘मयाना’ (ठुलो पालकी), ‘तामदान’ वा ‘शिविका’ (संस्कृतनिष्ठ शब्द) भन्ने गरिन्छ ।

डोली केवल मान्छे बोक्ने साधन मात्र होइन, संगीतको जननी पनि हो । कैयौँ माइलको यात्रामा गह्रौँ डोली काँधमा बोक्दा हुने थकान मेट्न कहारहरूले एउटा विशेष पदचाप (पाइलाको चाल) सिर्जना गरेका थिए । त्यही पदचापको लय बिस्तारै संगीतको ८ मात्रा (धा गे ना ति । न क धिं न)मा बाँधियो, जसलाई आज हामी शास्त्रीय र लोक संगीतको प्रसिद्ध ‘कहरवा ताल’ भन्छौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. त्रिभुवन बरईले भने, ‘यातायातले यात्रा त सहज बनायो, तर यसले श्रम–संस्कृति र लोकसंगीतको प्राण मानिने कहरवा लयलाई नै संकटमा पा¥यो ।’ सम्मरीमाई गाउँपालिका, रूपन्देहीका शिक्षा शाखा प्रमुख रामदास गौडले भने, ‘कहार (डोले)हरूले सामूहिक रूपमा गाउने करुण रसका गीतले उतिबेला गाउँको वातावरण नै संगीतमय बनाउँथे ।’

विवाह उत्सवबाट ओझेलिए पनि डोली संस्कृतिको नाता देवी–देवतासँग अझै प्रगाढ छ । संस्कृतिविद् सत्यमोहन जोशीकोे ‘कर्णाली लोक संस्कृति’ मा नेपाली जात्रा र डोलीको सम्बन्धबारे चर्चा गरिएको छ । सुदूरपश्चिमको बडिमालिका मन्दिरमा डोटी दरबारबाट पठाइने ‘सरकारी पेटारो’ (एक विशेष प्रकारको पूजा सामग्री राखिएको बाकस) र माताको डोलीलाई श्रद्धाका साथ बोक्ने गरिन्छ । कर्णालीकोे समाजमा विवाहको समयमा दुलहीलाई डोलीमा राखेर भित्र्याउने र बिदाइ गर्ने परम्पराको सामाजिक महत्वबारे बिहारीकृष्ण श्रेष्ठले व्याख्या गरेका छन् । त्यहाँ देवीदेवताका ‘धामीझाँक्री’ र देवी–देवताको प्रतीकलाई डोलीमा राखेर जात्रा गर्ने वा ‘पैठ’ (मेला) भर्ने परम्परा छ । यसलाई त्यहाँको आध्यात्मिक शक्तिको प्रतीक मानिन्छ भने प्रदीप रिमालले संकलन गरेको देउडा र फागहरूमा ‘डोली’ शब्दको प्रयोग तथा दुलहीहरूको बिदाइका बेला गाइने करुण रसका गीतहरूको चर्चा छ ।

आजभोलि दुलही भित्र्याउन विलासी कार र हेलिकोप्टरको होडबाजी छ । यस्तो अवस्थामा काँधमा डोली बोक्ने परम्परालाई ‘पुरानो वा असभ्य’ सोच्ने मानसिकता हाबी हुन थालेको छ । दशकौँसम्म डोली बोकेका अनुभवी महेश कहारले भावुक हुँदै भने, ‘पहिले विवाहको सिजनमा हामीलाई कामबाट फुर्सद नै हुँदैनथ्यो । अहिले सबै गाडीमै आउजाउ गर्दा, हाम्रो पहिचान र पेसा दुवै खोसियो ।’ इतिहासका जानकार तथा लोक सांस्कृतिकका अध्येता डा. भोला गुप्ताले डोली विस्थापित हुनुलाई एउटा युगकै अन्त्य बताए । उनले भने, ‘डोली विस्थापित हुनु केवल एउटा काठको बाकस हराउनु मात्र होइन, बरु सिंगो श्रम–संस्कृति र लोक संगीतको अध्याय समाप्त हुनु पनि हो ।’ बनाउने मिस्त्री, सजाउने कलाकार र बोक्ने डोलेहरू आफ्नो पुख्र्यौली पेसा छाडिसकेको उनले बताए ।

‘पहिला विवाहलगायत विशेष समारोहमा पुग्न डोली खोजिन्थ्यो, अहिले मोटरकार,’ सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोदकुमार श्रीवास्तवले भने, ‘अहिले आधुनिकताले गति त दियो, तर डोलीसँगै हराएको त्यो मानवीय न्यानोपन र काँधको भरोसालाई कुनै पनि मेसिनले फिर्ता ल्याउन सक्दैन ।’ भोलिको पुस्तालाई त्यो गौरवशाली इतिहास बुझाउन डोलीलाई सांस्कृतिक उत्सवहरूमा भए पनि जीवित राख्नुपर्ने आजको आधुनिक युगको टड्कारो आवश्यकता रहेको उनको भनाइ छ । ‘परिवर्तन अनिवार्य भए पनि आफ्नो मौलिक जग बिर्सिनु दुःखद् हो,’ रूपन्देही–४ बाट निर्वाचित संघीय सांसद कन्हैया बनियाले भने, ‘आधुनिकताले मौलिक जग बिर्सायो । यसको ऐतिहासिक महत्व जोगाउन अब संग्रहालयहरूको खाँचो छ ।’ अचेल सहरिया विवाहमा ‘हेरिटेज वेडिङ’ का नाममा डोलीको प्रयोग केही मात्रामा देखिन्छ, तर यो केवल फोटो खिच्ने ‘प्रोप्स’मा मात्र सीमित छ ।

प्रतिक्रिया