बढ्याे महँगी : तेल, तरकारी र फलफूलको मूल्य अकासिँदो

काठमाडौँ । पछिल्लो समय मध्यपूर्वमा जारी युद्धको कारण नेपालीको भान्सासमेत प्रभावित हुने अवस्था आएको छ । मध्यपूवृको युद्ध अन्य विभिन्न कारणहरूले न्यून र मध्यम आय भएका परिवारको भान्सा निकै प्रभावित हुन पुगेको छ । पछिल्लो समय बजारमा तरकारी, फलफूल लगायतका बस्तुहरूको मूल्य बढ्दो क्रममा छ, भने अन्य औद्योगिक बस्तुहरूको मूल्य बढ्नुको साथै आयात नै प्रभावित हुने अवस्थामा छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को ८ महिनाको प्रतिवेदनअनुसार फागुनन महिनामा उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत पुगेको छ । ८ महिनाको औसत मूल्य वृद्धि दर २.१३ प्रतिशत छ । गत आर्थिक वर्ष २०८१/०८२ को यो अवधिसम्मको औसत मूल्य वृद्धि ४.७२ प्रतिशत थियो ।

चालु आवको ८ महिनामा तरकारीको मूल्यमा ११.४९ प्रतिशतको उच्च वृद्धि देखिएको छ । त्यस्तै, घ्यू तथा तेलमा ९.८६ प्रतिशत र फलफूलमा ९.६३ प्रतिशतले महँगी बढेको छ । दाल तथा गेडागुडीको मूल्यमा ३.६६ प्रतिशत र मरमसलामा २.०३ प्रतिशतले गिरावट आएको छ ।

भान्सासँगै सेवा क्षेत्रमा पनि महँगी बढेको छ । गैर–खाद्य तथा सेवाअन्तर्गत विविध वस्तु तथा सेवामा २२.८१ प्रतिशत, शिक्षा ७.४६ प्रतिशत, मदिरा तथा पेय पदार्थको ४.७७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलमा ४.७३ प्रतिशत, सुर्तिजन्य पद्धार्थको ३.५७ प्रतिशतले बढेको छ । बिमा तथा वित्तीय सेवाहरू उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक भने ०.०३ प्रतिशतले घटेको छ ।

आर्थिक सूचकहरूले मुद्रास्फीति नियन्त्रणभित्रै रहेको देखाए पनि आमनागरिकको क्रयशक्ति र बजारको वास्तविकताबीच ठुलो खाडल देखिन्छ । विशेषगरी तरकारी र फलफूलजस्ता दैनिक आवश्यक वस्तुमा भएको दोहोरो अंकको वृद्धिले निम्न वर्गीय परिवारको समस्यामा पर्ने विज्ञहरू बताउँछन् ।

भौगोलिक र प्रादेशिक आधारमा हेर्दा महँगीको दरमा निकै भिन्नता पाइएको छ । समीक्षा महिना फागुनमा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६४ प्रतिशत, तराईको ४.११ प्रतिशत, पहाडको ३.११ प्रतिशत र हिमालको २.८३ प्रतिशत रहेको छ ।

मधेश प्रदेशमा मुद्रास्फीति सबैभन्दा बढी ४.९५ प्रतिशत पुगेको छ, भने लुम्बिनीमा ४.२१ प्रतिशत छ । तुलनात्मक रूपमा कर्णालीमा महँगी कम रहेको छ । कर्णालीमा महँगी २.२१ प्रतिशतमा सीमित छ ।

नेपालको अर्थतन्त्र भारतीय बजारसँग प्रत्यक्ष जोडिएको छ । पछिल्लो तथ्यांकले नेपालमा भारतको तुलनामा महँगी बढी रहेको देखाएको छ । सन् २०२६ को फेब्रुअरीमा भारतको मुद्रास्फीति ३.२१ प्रतिशत रहँदा नेपालमा भने यो ३.६२ प्रतिशत पुगेको छ । यसले नेपाली बजारमा वस्तुको आपूर्ति व्यवस्था र मूल्य नियन्त्रणमा चुनौती थपिएको संकेत गरेको विज्ञहरूले बताएका छन् ।

प्रतिक्रिया