
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२–०८३ को ८ महिनामा साढे १४ खर्ब रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । चालु आवको साउनदेखि फागुन मसान्तसम्म १४ खर्ब ४९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३७.७ प्रतिशत बढी हो । त्यस्तै चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आव २०८१–०८२ फागुनमा १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
चालु आर्थिक वर्षको पहिलो ८ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३१ प्रतिशतले बढेको छ । साउनदेखि फागुन मसान्तसम्म १० अर्ब १५ करोड अमेरिकी डलर बराबर रेमिट्यान्स भित्रिएको हो । खाडी मुलुकमा देखिएको तनावका कारण फागुनमा रेमिट्यान्स उच्च दरले प्रभावित हुने अनुमान गरिए पनि तथ्यांक भने सामान्य देखिएको छ । ८ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख १७ हजार ६८ र २ लाख १७ हजार ४०३ रहेको थियो ।
३४ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२–०८३ को फागुनसम्म देशको कुल विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यो सञ्चितिले बैंकिङ क्षेत्रको हालको आयात क्षमताअनुसार १८.५ महिनासम्मका वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । केवल वस्तु आयातलाई आधार मानेमा यो सञ्चिति २१.४ महिनासम्मको आवश्यकतालाई धान्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
डलरमा गणना गर्दा २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड अमेरिकी डलर रहेको विदेशी मुद्रा सञ्चिति १८.३ प्रतिशत बढेर फागुन मसान्तमा २३ अर्ब ८ करोड डलर पुगेको छ । कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ३० खर्ब ३५ अर्ब ११ करोड रहेको छ, भने अन्य बैंक तथा वित्तीय संस्थामा ३ खर्ब ७८ अर्ब ६६ करोड सञ्चिति रहेको छ । विदेशी मुद्रा सञ्चितिमा आएको यो सकारात्मक सुधारले देशको आर्थिक स्थिरता र बाह्य क्षेत्र सन्तुलनमा राहत पुगेको राष्ट्र बैंकले जनाएको छ ।
चालु खाता र शोधनान्तर स्थिति मजबुत
नेपालको चालु खाता र शोधनान्तर स्थिति दुवै मजबुत बनेको देखिन्छ । फागुन मसान्तसम्मको तथ्यांकअनुसार चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ खर्ब ९७ अर्ब ३ करोड रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो । अमेरिकी डलरमा पनि चालु खाता ३ अर्ब ८८ करोड डलरले बचतमा रहेको छ, अघिल्लो वर्षको १ अर्ब ४६ करोड डलरसँग तुलना गर्दा बढोत्तरी देखिन्छ ।
शोधनान्तर स्थिति पनि ६ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको छ, अघिल्लो वर्षको ३ खर्ब १० अर्ब ३७ करोडको तुलनामा करिब २ गुणाले वृद्धि भएको देखिन्छ । अमेरिकी डलरमा शोधनान्तर स्थिति ४ अर्ब ६१ करोड डलर रहेको छ, अघिल्लो वर्षको २ अर्ब २९ करोड डलरसँग तुलना गर्दा उल्लेखनीय सुधार देखिन्छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १२ अर्ब ५९ करोड रुपैयाँ रहेको छ, अघिल्लो वर्षको ६ अर्ब ४१ करोडको तुलनामा लगभग दोब्बर वृद्धि भएको छ । त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १० अर्ब ८४ करोड रुपैयाँ भित्रिएको छ, जुन अघिल्लो वर्ष ८ अर्ब ४७ करोड थियो ।
निक्षेप साढे ७७ खर्ब र कर्जा साढे ५७ खर्ब पुग्यो
बैक तथा वित्तीय संस्थामा निक्षेप उल्लेख्य दरले बढिरहँदा निजी क्षेत्रमा कर्जा विस्तार अपेक्षाकृत सुस्त देखिएको छ । चालु आर्थिक वर्षको फागुनमसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ६.६ प्रतिशत (४ खर्ब ८२ अर्ब १ करोड रुपैयाँ) ले बढेर ७७ खर्ब ४५ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा निक्षेप वृद्धि ४.३ प्रतिशत मात्रै थियो । वार्षिक विन्दुगत आधारमा भने निक्षेप १५.१ प्रतिशतले बढेको छ । २०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३४.३ प्रतिशत रहेको छ । २०८१ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ३५.४ प्रतिशत रहेको थियो ।
निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशत (२ खर्ब ४३ अर्ब ५४ करोड रुपैयाँ) ले बढेर ५७ खर्ब ४१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा कर्जा विस्तार ६ प्रतिशत रहेको थियो । वार्षिक आधारमा कर्जा वृद्धि दर ६.७ प्रतिशत मात्रै छ ।
२०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ४.६ प्रतिशत, विकास बैंकहरूको ३.५ प्रतिशत र वित्त कम्पनीहरूको १.९ प्रतिशतले बढेको छ । २०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३.८ प्रतिशत रहेको छ । २०८१ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.५ प्रतिशत र ६५.२ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा १०.५ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा २ प्रतिशत र वित्त बिमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा २.७ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रस्ट रिसिट (आयात) कर्जा २३.२ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ११.१ प्रतिशत, हायर पर्चेज कर्जा ८.६ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ३.९ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.५ प्रतिशत, आवधिक कर्जा ३.२ प्रतिशत र क्यास क्रेडिट कर्जा १.६ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा २.७ प्रतिशतले घटेको छ ।
वस्तु निर्यातमा २०.८ प्रतिशतका वृद्धि
आर्थिक वर्ष २०८२–०८३ को ८ महिनामा कुल वस्तु निर्यात २०.८ प्रतिशतले वृद्धि भई १ खर्ब ९१ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५७.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः २५.३ प्रतिशत र ७.८ प्रतिशतले वृद्धि भएको छ, भने चीनतर्फको निर्यातमा ५३.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, अलैँची, पाम तेल, जुटका सामान, चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ, भने जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैँचा, हस्तकलाका सामानलगायतका वस्तुको निर्यात घटेको छ ।
८ महिनामा कुल वस्तु आयात १२.५ प्रतिशतले वृद्धि भई १२ खर्ब ८९ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ११.२ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत ५.१ प्रतिशत, चीन २१.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयातमा २६.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, दूरसञ्चारका उपकरण तथा पार्ट्सलगायतका वस्तुको आयात बढेको छ । खाने तेल, हट रोल्ड सिट इन क्वाइल, लसुन, दाल, एमएस विलेटलगायतका वस्तुको आयात घटेको छ ।
आर्थिक वर्ष २०८२–०८३ को ८ महिनामा कुल वस्तु व्यापार घाटा ११.२ प्रतिशतले वृद्धि भई १० खर्ब ९८ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३.८ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया