सहकारी पीडितसँग मन्त्री रावलको प्रत्यक्ष संवाद : सय दिनभित्र बचत फिर्ता गर्ने सरकारी लक्ष्य

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितहरूसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् । सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूको रकम फिर्ता गराउने लक्ष्यका साथ काम गरिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग संवाद थालेकी हुन् ।

आज बिहानैदेखि मन्त्रालयमा देशभरका विभिन्न सहकारीका पीडितहरू भेला भई मन्त्री रावलसमक्ष आफ्ना समस्या र गुनासाहरू राखिरहेका छन् । लामो समयदेखि आफ्नो बचत फिर्ता नपाउँदा मारमा परेका सर्वसाधारणले मन्त्रीसँग प्रत्यक्ष रूपमा आफ्नो पीडा र अवस्था सुनाउने अवसर पाएका हुन् ।

छलफलका क्रममा मन्त्री रावलले पीडितहरूको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् । ‘पीडितहरूको समस्यालाई कसरी प्रभावकारी रूपमा सम्बोधन गर्ने भन्ने विषयमा मन्त्रालय अत्यन्तै गम्भीर छ,’ उनले भनिन् ।

सरकारले सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि चरणबद्ध रूपमा काम अघि बढाएको र विशेषगरी साना बचतकर्ताहरूलाई तत्काल राहत दिने योजनामा केन्द्रित रहेको मन्त्री रावलको भनाइ छ । मन्त्रीसँगको यस प्रत्यक्ष छलफलले सहकारी पीडितहरूको समस्या समाधानतर्फ ठोस पहल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया