टेलिकमले थ्रिजी सेवा बन्द गर्ने

काठमाडौँ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्नो थ्रिजी सेवालाई क्रमशः बन्द गरी फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया सुरु गरेको छ । प्रविधिमा आएको परिवर्तन र उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले टेलिकमले थ्रिजी सेवा हटाएर फोरजीलाई व्यापक बनाउन लागेको हो ।


कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै निकट भविष्यमा थ्रिजी सेवा क्रमिक रूपमा बन्द गर्दै लैजाने र थ्रिजी सिम प्रयोगकर्ताहरूलाई फोरजीमा रूपान्तरण हुन आग्रह गरेको छ । यसका लागि टेलिकमले सम्बन्धित ग्राहकहरूलाई भ्वाइस कल र एसएमएसमार्फत जानकारी गराउनसमेत सुरु गरिसकेको छ । सिमलाई निःशुल्क फोरजी सिममा रूपान्तरण गर्न सक्नेछन् । यसका लागि ग्राहकले आफ्नो पायक पर्ने नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

सिम परिवर्तन गर्न जाँदा ग्राहकले आफ्नो पहिचान खुल्ने आधिकारिक परिचयपत्र (नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्र) लिएर नजिकैकै टेलिकमको कार्यालयमा जानुपर्ने हुन्छ । थ्रिजीको तुलनामा फोरजी प्रविधि निकै आधुनिक र द्रुत गतिको हुने भएकाले यसबाट मोबाइल इन्टरनेटको गति र सेवाको गुणस्तरमा उल्लेख्य सुधार आउने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया