मार्चमा नेपाल आए १ लाख २० हजार पर्यटक

काठमाडौँ । सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डद्वारा सार्वजनिक तथ्यांकअनुसार मार्चमा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि देखिएको हो । तथ्यांकअनुसार मार्च २०२६ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको करिब ३५.४ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभन्दा बढी २५ हजार ७२८ पर्यटक आएका छन् । श्रीलंकाबाट १० हजार ७५९, बंगलादेशबाट ४ हजार ६७६ तथा सार्क अन्य मुलुकबाट पनि पर्यटकले नेपाल भ्रमण गरेका पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले जानकारी दिए । भारतबाट आउने पर्यटकको उच्च संख्याले धार्मिक, सांस्कृतिक तथा छोटो अवधिको भ्रमण प्रवृत्ति अझै बलियो रहेको देखाएको उनको भनाइ छ ।

अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्या पनि उत्साहजनक देखिएको छ । चीनबाट ११ हजार २२०, म्यानमारबाट ६ हजार २० र थाइल्यान्डबाट ३ हजार ८९७ पर्यटक नेपाल आएका छन् । जापान, मलेसिया र दक्षिण कोरियाबाट पनि पर्यटकको उल्लेख्य आगमन भएको छ । समग्रमा ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४३६ पर्यटक भित्रिएका छन्, यो कुल आगमनको करिब २७.७ प्रतिशत हो ।

युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि नभए पनि स्थिर देखिएको छ । पश्चिम एसियामा जारी युद्धको प्रभावका कारण युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको बोर्डले जनाएको छ । एसियाली बजारको तुलनामा युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या कम भए पनि उच्च खर्च गर्ने पर्यटकका रूपमा उनीहरूको योगदान महत्वपूर्ण मानिन्छ ।

सन् २०२५ को मार्चमा १ लाख २१ हजार ६८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने कोभिड–१९ सुरु हुनुअघि भने सोही महिनामा १ लाख २७ हजार ३५१ आगमन भएको देखिन्छ । सन् २०२६ को फेब्रुअरीमा १ लाख ५ हजार ४४१ पर्यटक भित्रिएका बोर्डले जनाएको छ ।

मार्च÷अप्रिललाई पर्यटकीय मौसम, ट्रेकिङ यामलगायत पक्षका कारण पर्यटकको आगमन वृद्धि हुने महिनाका रूपमा हेरिन्छ । यस वर्षको मुख्य सिजनमा नै पश्चिम एसियामा चर्किंदो युद्धले अन्तर्राष्ट्रिय उडान प्रभावित हुनुका साथै सम्बन्धित मुलुकहरूले जारी गरेको ‘ट्राभल एड्भाइजरी’ का कारण उल्लेख्य वृद्धि हुनसकेको छैन । विशेषगरी यो याममा अरू महिनाको तुलनामा हिमाल आरोहण, ट्रेकिङ, साहसिक पर्यटन र सांस्कृतिक भ्रमणका लागि नेपाल आउने पर्यटकको संख्या बढ्ने बोर्डले जनाएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले वैश्विक द्वन्द्व र अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा पनि पर्यटकको आगमन कम देखिएको हुनसक्ने भन्दै तथ्यांक निराशाजनक भने नभएको बताए । ‘युरोप र अमेरिकाबाट हुने आगमन केही घटे पनि भारतलगायत छिमेकी मुलुकबाट पर्यटक आगमन बढ्नु सकारात्मक संकेत हो । हामीले पनि छिमेकी बजारलाई ‘क्यास’ गर्नेगरी प्रवद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’, उनले भने, ‘यसका साथै युरोप र अमेरिकाजस्ता बढी खर्च गर्ने पर्यटक लक्षित बजारमा हाम्रो उपस्थिति अन्तर्राष्ट्रिय मार्टमार्फत सशक्त बनाउँदै लगेका छौँ ।’ जोशीले हालको तथ्यांक हेर्दा आत्तिनुपर्ने अवस्था नभएको भन्दै ढुक्क भएर बस्ने स्थिति पनि नभएको बताए ।

प्रतिक्रिया