सरकारका १०० कार्यसूचीप्रति निजी क्षेत्रको स्वागत

काठमाडौँ । सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीप्रति निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उक्त कार्यसूचीको स्वागत गर्दै यसले आर्थिक विकासका लागि आधार तयार गर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले कार्यसूचीले शासन प्रणालीलाई परिणाममुखी, पारदर्शी र उत्तरदायी बनाउँदै निजी क्षेत्रसँग सहकार्यमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी तथा राजस्व वृद्धि गर्न सहयोग पुग्ने उल्लेख गरेका छन् ।

उनका अनुसार सेवा प्रवाहलाई डिजिटल, सहज र समयबद्ध बनाउने, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धन र उद्यमशीलता विकासजस्ता विषय समेटिनु सकारात्मक पक्ष हुन् ।

महासंघले उठाएका धेरै सुझाव कार्यसूचीमा समावेश भएको भन्दै उनले यसको प्रभावकारी कार्यान्वयनबाट आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना र दिगो विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । ढकालले सुधार एजेण्डा सफल बनाउन सरकार र निजी क्षेत्रबीच अझ सशक्त सहकार्य आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया