विकल्पको खोजीमा विदेशिँदै कलाकार

फिल्म र संगीतमा लामो समयदेखि सक्रिय स्रष्टाहरू पछिल्ला दशकमा विदेशिन थालेका छन् । यी स्रष्टाहरूमा कलाकार, निर्माता, निर्देशकदेखि लिएर प्राविधिकको संख्या उल्लेख्य छ ।

कुनै समय विदेश जानु बाध्यता र रहर दुबै थियो । अहिले अनिवार्य आवश्यकताझैँ बनिसकेको छ । हरेक पेसाका मानिसहरू भविष्य बनाउन भन्दै बिदेसिइरहँदा मनोरञ्जन क्षेत्र पनि यसबाट अछुतो छैन । विशेषतः फिल्म र संगीतमा लामो समयदेखि सक्रिय स्रष्टाहरू पछिल्ला दशकमा विदेशिन थालेका हुन् । यी स्रष्टाहरूमा कलाकार, निर्माता, निर्देशकदेखि लिएर प्राविधिकको संख्या उल्लेख्य छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला ५० को दशकपछि फिल्ममा कार्यरत कलाकारहरू विदेशमा ‘सेटल’ हुन जान थालेको बताउँछन् । ‘२०५० सालदेखि कलाकारिताबाट विदेशिने क्रम बढ्यो । कृष्टि मैनाली, सरोज खनाललगायतका केही कलाकार यही समयमा अमेरिका गए । २०५८–५९ सालताका देशको द्वन्द्वको कारण देखाएर धेरै कलाकार, प्राविधिक अमेरिका गए’, मोहन भन्छन्, ‘नेपालमा गणतन्त्र आएपछिचाहिँ बढी पढेलेखेका मान्छेहरू अमेरिका जानुपर्ने रहेछ भन्ने सोचेर फिल्म क्षेत्रका साथीहरू अमेरिका जान थाले ।’

किन जान्छन् विदेश ?

अमेरिका, युरोपेली मुलुक, बेलायतजस्ता सुविधा सम्पन्न देशमा गएर ‘सेटल’ हुने चलन सामान्य बनिसकेको छ । नेपालमा रहँदा आफ्नो क्षेत्रमा लामो समय काम गरेको अनुभवलाई सदुपयोग गर्दै नेपालीहरू विदेशिएर उतैको नागरिकता लिने क्रम बाक्लै छ ।
सञ्चारकर्म हुँदै फिल्म निर्देशकका रूपमा चिनिएका सुमन दाहाल परिवारसहित अमेरिका बस्न थालेको एकदशक बढी समय भइसक्यो । उनी आफू परिवारसहित अमेरिका जानुलाई फरक रूपमा बुझ्छन् । ‘अमेरिकामा फिल्म र संगीत क्षेत्रका कलाकार तथा प्राविधिक आउने प्रमुख कारण आर्थिक समृद्धि नै हो । नेपालमा आर्थिक रूपमा सम्पन्न भए पनि दिमागमा पैसाको अभाव सधैँ खड्किरहेको हुन्छ । जति नै ठुलो काम गरे पनि दिमागमा आर्थिक भार परिरहेको हुन्छ’, उनी भन्छन्, ‘नेपालमा हुँदा कार्यक्रममा गइन्छ, खादा र माला लगाइन्छ, तर दिमागमा घरको भाडा, घर र गाडी किन्नेलाई किस्ता कसरी तिर्ने भन्ने कुरा दिमागमा २४ सै घण्टा घुमिरहेको हुन्छ । त्यो अवस्थाबाट मुक्ति पाउन कलाकारहरू अमेरिका आएका हुन् जस्तो लाग्छ । मेरो बुझाइमा आर्थिक दृष्टिकोणले कमजोर भएका मानिसहरू नै आर्थिक सफलताका लागि अमेरिका आउँछन् ।’

कलाकार संघका अध्यक्ष निरौला अमेरिकालगायत अन्य मुलुकमा थुप्रै अवसर छ भन्ने सोचाइले नै विदेशिने क्रम बढेको दाबी गर्छन् । ‘देशमा गणतन्त्र आएपछि पढेको मान्छेले जागिर पाएनन् । राजनीतिक चाकरी गर्नेले मात्र रोजगारी पाउने भए । कलाकारिता क्षेत्रमा मात्र होइन, सबै क्षेत्रको अवस्था उस्तै छ’, उनी भन्छन्, ‘त्यहीकारण नेपालमा पढ्ने अनि विदेशमा जाने क्रम बढेको हो । अमेरिकामा थुप्रै अवसर छ भन्ने मान्छेहरूलाई लागेकाले पनि त्यता जाने लहर बढेको छ ।’

निरौला उमेर छँदा जति काम गरे पनि उमेर ढल्किएपछि कामको कमी हुने भएकाले पनि अमेरिकाको आकर्षण बढेको बताउँछन् । ‘एउटा उमेर छँदा काम गर्ने हो । उमेर ढल्किएपछि काम पनि कम हुन्छ । जसकारण आर्जन पनि कम्ती भयो । काम गर्दा सेलिब्रेटी भए पनि काम कम हुँदै गएपछि सेलिब्रेटीले त्यसलाई मेन्टेन गर्न सक्दैनन् । अमेरिका जाँदा त सजिलै काम गरेर पैसा पाइने भयो । त्यो हिसाबमा मान्छेको आकर्षण बढेको हो’, उनले भने ।
अमेरिकालगायत युरोपका देशमा जानेमा फिल्मका प्राविधिकहरूको संख्या पनि उल्लेख्य छ । प्राविधिकहरूको छाता संस्था नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा कति संख्यामा प्राविधिक विदेश गएका छन् भन्ने यकिन संख्या नभए पनि जाने क्रम नघटेको स्वीकार्छन् ।

‘हाम्रो मात्र नभएर हरेक क्षेत्र देशको अवस्था देखेर दिक्क छ । हरेक नागरिकले नेपालमा आफनो भविष्य सुरक्षित देख्न नसकेर नै विकल्प खोजेका हुन्,’ पुष्कर भन्छन्, ‘यदि देशको परिस्थिति राम्रो भइदिएको भए देश र घरपरिवार भन्दा पराई ठाउँमा गएर काम गर्न कसले चाहान्थ्यो र ! त्यो व्यक्ति आफू त आश्रित होला, तर आफूूमा आश्रित सन्ततिको त विजोग नै हुन्छ नि । त्यसकारण पनि फिल्मकर्मीहरू ‘सेफ ल्यान्डिङ’का लागि विदेश गएको हो जस्तो लाग्छ ।’

पुष्कर राजनीतिमा विकल्प खोजेजस्तै प्राविधिकहरूले पनि गन्तव्यको विकल्प खोजिरहेको बताउँछन् । ‘केही साथीहरू नेपालमै केही गर्ने भनेर बसेका पनि छन् । तर अधिकांश भविष्य सुरक्षित नदेखेर विकल्पको खोजीमा विदेशिएका छन्’, उनी भन्छन् ।

नेपाली फिल्म, म्युजिक भिडियो र फेसन शोहरूमा मेकअप आर्टिस्टका रूपमा २ दशक बढी समय बिताइसकेका मेकअप आर्टिस्ट अमृत मरहठ्ठा यतिबेला पोर्चुगलमा छन् । ‘आफ्नो क्षेत्रमा दुई–तीन दशक बिताइरहँदा विदेश जान त कसलाई मन हुन्थ्यो र । मचाहिँ आफ्नो क्षेत्रको काममा केही नयाँपन दिन सकिन्छ कि भनेर सिक्न यता आएको हुँ’, उनी भन्छन्, ‘म छोटो समयका लागि भनेर पोर्चुगल आएको थिएँ । तर यता आएपछि छोटो समय भन्ने हुँदैन रहेछ । यताको नियम पालना गर्दागर्दै केही समय लाग्ने रहेछ ।’

के काम गर्छन् ?

विदेश जानु भनेको ‘भाँडा माझ्न जान लागेको’ भन्ने भाष्य नेपाली समाजमा पुरानै हो । तर अवस्था भाष्य जस्तो छैन । सुमनको अनुभवमा अमेरिका पुगेपछि नेपालमा आफूले खेलेको, डुलेको, आफ्नो स्टाटस अथवा त्यो हैसियतलाई बिर्सनुपर्छ । ‘नेपालमा हुँदा जति नै ठुलो स्टार भए पनि यहाँ आउने बित्तिकै साधारण काम गर्ने नै हो । त्यसको अर्थ कुचो लगाउने, ट्वाइलेट सफा गर्ने, भाँडा माझ्नुपर्छ भन्ने होइन । मान्छेको क्षमता अनुसार काम गर्ने हो । क्रिएटिभ मान्छेले भाँडा माझ्दा कहाँ कालो छ, कहाँ मैलो छ, कहाँ बढी मस्काउने, कहाँ पखाल्ने भन्ने कुरा जानेर गर्छ । तर क्रिएटिभ नहुनेले जता पनि मस्काउँछ ।

क्रिएटिभ खालका मानिसहरू फिल्ममा भएका कारण यहाँ आउनासाथ साधारण काम गर्नुपर्छ भन्दा पनि कस्ता अवसर छन् र त्यसलाई कसरी ग्रिप गर्न सकिन्छ भन्ने हुन्छ’, सुमन भन्छन्, ‘केही मान्छेहरू आएर ग्यास स्टेसनमा काम गर्छन् । ग्याँस स्टेसन भनेको नेपालको पेट्रोल पम्प जस्तै हो । त्यहाँभित्र पेय पदार्थ, खाद्य पदार्थको स्टोर हुन्छ । पेट्रोलको पम्प पनि हुन्छ । त्यहाँ काम गर्दा अंग्रेजी बोल्न सजिलो हुन्छ ।

यस्तो ठाउँमा तुरून्तै काम पाइन्छ । केही मान्छे कम्पनीमा जान्छन्, किनकी त्यहाँ बिमा, बिदाको सुविधा हुन्छ । अमेजन जस्ता कम्पनीमा साधारण रूपमा अर्डर गरेका सामानहरू प्याकिङ गर्ने, पठाउने, कसैलाई सामान मन परेन भने २ महिनाभित्र फिर्ता गर्न पाउने प्रावधान छ । ती फिर्ता गरेका सामान हेर्ने काम पनि गर्छन् ।’ उनका अनुसार केही नेपालीहरू रेस्टुरेन्टमा कुक, वेटरका रूपमा पनि कार्यरत छन् ।

पोर्चुगलमा अमृत मेकअपको कामसँगै अन्य काम गर्छन् । ‘मैले मेकअपसम्बन्धी नयाँ कुरा सिकिरहेको स्टुडियोमा काम गर्छु । सँगै फेसन शोहरूमा काम पनि गरिरहेको छु । नेपालजस्तो यहाँ काममा सहज छैन । त्यसकारण मेकअपबाहेक अन्य कम्पनीमा पनि काम गर्छु । विभिन्न ठाउँमा गएर आफूले जानेका कुराहरू अरूलाई पनि सिकाउँछु,’ अमृत भन्छन् । अमृतका अनुसार आफूभन्दा पछि आएका साथीहरूलाई उनले त्यहाँ काम पनि लगाइदिएका छन् ।

अमेरिकामा आफ्नै व्यवसाय

अमेरिका पुगेका अधिकांश फिल्मकर्मीहरू आफ्नै व्यवसायमा संलग्न छन् । कलाकार मुकेश ढकाल एकसमय तरकारी उत्पादन गर्थे । अहिले उनले त्यो काम छोडेर होटल व्यवसायमा छन् । अभिनेत्री सौजन्य सुब्बाको २ वटा पार्लर र एक स्टोर, निर्देशक सुमन दाहालको २ वटा पार्लर, कलाकार दिनेश कार्कीको २ वटा पार्लर र एक ग्यास स्टेसन छ । निर्देशक नारायण पुरी, फिल्म वितरक हरि बराल रेस्टुरेन्ट व्यवसायमा छन् । गणेश उप्रेती ग्यास स्टेसन चलाउँछन् । पत्रकार सुमन गैरे, फिल्म सम्पादक बद्री लामिछाने लिक्वेर स्टोर चलाउँछन् । कलाकार सुवास थापा रियल्टर बनेर घरजग्गा मिलाइदिने काम गर्छन् । कोरियोग्राफर गोविन्द राई, शंकर बिसी नृत्य सिकाउँछन् ।

सुमनका अनुसार ३ वर्षअघि अमेरिका पुगेका अधिकांश फिल्मकर्मीले घर किनिसकेका छन् । ‘अहिले महिनामा ५–१० हजार डलर आम्दानी नहुने फिल्मकर्मी कमै छन् । महिनामा ४०–४५ हजार डलर आम्दानी गर्ने फिल्मकर्मी पनि यही हुनुहुन्छ’, उनी भन्छन्, ‘कतिपय फिल्मकर्मीले घर किनेर वृद्धवृद्धालाई राख्ने भनेर सरकारलाई देखाएपछि सरकारले यतिजना मात्र राख्नु भनेर अनुमति दिन्छ । ती वृद्धवृद्धा हेरेबापत सरकारले पैसा दिन्छ ।’

संघसंस्थाको भूमिका

विदेशमा बस्ने अधिकांश फिल्मकर्मी नेपालमा रहँदा कुनै न कुनै संस्थाको सदस्य नै थिए । भिसा प्रक्रियाका लागि दूतावासमा कागजात पेस गर्दा आफू आबद्ध संस्थाको सिफारिस पनि पेस गर्छन् । संघसंस्थाका अध्यक्षका अनुसार कलाकार अथवा प्राविधिकले संस्थाबाट सिफारिस माग्दा कारण खुलाउँदैनन् ।

कलाकार संघका अध्यक्ष निरौला कोही पनि कलाकारले आफू विदेश जानका लागि भनेर हालसम्म निवेदन नमागेको दाबी गर्छन् । ‘संघमा आबद्ध सदस्यहरूको प्रोफाइलबारे हामी अपडेट नै हुन्छौँ । सदस्यले आफूले अभिनय गरेका फिल्मको सूची र कार्यावधिको विवरण संघमा बुझाएपछि हामी उसलाई पत्र दिन्छौँ’, उनी भन्छन्, ‘तर म विदेश जान्छु भनेर कोही पत्र माग्न आउँछन् भने हामी त्यस्तोलाई दिँदैनौँ । आफ्ना सदस्यले सिफारिस माग्दा दिने गरे पनि ऊ विदेश जान लागेको हो या होइन भन्ने कुरा हामीलाई थाहा हुँदैन । हामी केबल आफ्ना सदस्यलाई मात्र सिफारिस दिन्छौँ ।’ उनले आफ्ना सदस्यले नेपालको नागरिकता त्यागेर विदेशको नागरिकता लिने भनेर सल्लाह लिन आयो भने त्यसो नगर्न सम्झाउने गरेको खुलाए ।

प्राविधिक संघका अध्यक्ष लामा गैरफिल्मकर्मी र प्राविधिकलाई संघले कहिल्यै पनि सिफारिस नगरेको बताउँछन् । ‘सिफारिस माग्ने साथीहरूले विदेश जाने भनेर मागेको देखिँदैन । हामी प्राविधिक भए पनि कार्ड बनाएको, २ वर्षसम्म परीक्षणकालको समयावधि बनाएका छौँ । जोकोही नयाँ प्राविधिकले आफ्नो क्षेत्र र देशलाई बुझोस् भनेर २ वर्षको समयावधि राखेका हौँ’, उनी भन्छन् ।

दूतावासको ‘इन्क्वायरी’

अध्यक्षद्वय निरौला र लामाको कुरा सुन्दा उनीहरूले पनि सदस्यले दूतावासमा कागजात पेस गरेको त्यहाँबाट आएको फोनपछि मात्र थाहा पाउँदा रहेछन् । ‘हाम्रा सदस्यहरूले विदेशको प्रक्रिया सुरू गरेको दूतावासबाट फोन आएपछि मात्र थाहा हुन्छ । दूतावासले हामीलाई फलानोलाई प्रमाणित गरेको हो वा होइन, सदस्य हो वा होइन भन्ने विषयमा सोधपुछ गर्छ’, अध्यक्ष निरौला भन्छन्, ‘संघबाट कतिले जुरी सदस्यको रूपमा पनि पत्र लैजानुहुन्छ । त्यस्तो अवस्थामा दूतावासले प्रमाणीकरणका लागि फोन गर्छ ।’

प्राविधिक संघका अध्यक्ष लामा अधिकांश प्राविधिक युरोप र अमेरिकी मुलुकमा जाने प्रयासमा रहेकाले दूतावासबाट पुष्टि गर्न फोन आउने गरेको स्वीकार्छन् । ‘दूतावासले सोध्दा जे छ, त्यही भनिदिन्छौँ । सामान्यतया निवेदन दिने व्यक्ति कति अनुभवी हो, चिनेको छ वा छैन भन्ने विषयमा दूतावासले सोध्ने गर्छ’, लामा भन्छन् ।

प्रतिक्रिया