
‘यथास्थितिकै पक्षमा उभिने म्याण्डेट’का साथ नेकपा एमालेको ११ औं महाधिवेशन सम्पन्न भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनद्वारा प्रधानमन्त्री पदबाट विस्थापित भएका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पनि नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस हुन थालेपछि नियमित महाधिवेशनलाई एक वर्ष अगाडि सारेका थिए । पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्रीका रूपमा मुलुकलाई कुशल नेतृत्व दिन नसकेका कारण मुलुकले भदौ २४ गते इतिहासकै विकराल दुर्घटना बेहोर्नु परेको आकलन आम नागरिक स्तरमा भइरहँदा नेकपा एमालेको निकै नै ठुलो हिस्साले उनी तथा उनको टिमलाई अनुमोदन गर्नुका विविध कारण छन् ।
२०७८ भदौमा भएको पार्टी विभाजन, १० औं महाधिवेशनमा प्रतिस्पर्धामा उत्रेको अल्पमत पक्षलाई छानी छानी कारवाही र निस्काशन, महाधिवेशन प्रतिनिधिको चयनमा गरेको मनोमानी, आश र त्रासको दण्ड लगायतका कारणहरू खोतल्दै जाँदा दर्जनौ पुग्न सक्छन् । संस्थापन पक्ष स्वयं नै गुटवन्दीमा लागेको र जो जो संस्थापन पक्षबाट उमेद्वार बन्ने हुन्, महाधिवेशन प्रतिनिधिहरू (मतादाता) छनौट पनि उनीहरूबाटै गरिएको परिप्रेक्ष्यमा भएको महाधिवेशनले ल्याउने परिणाम यस्तै हुन्छ भन्ने कुरा पूर्वानुमान गरिएकै विषय हो । साविककै नेतृत्व तथा नीतिलाई अत्यधिक बहुमतले अनुमोदन गर्दै सम्पन्न भएको नेकपा एमालेको यो महाधिवेशनको परिणामले मलुकको राजनीतिलाई कतातिर लैजाला भन्ने प्रश्नको उत्तर आउन कम्तिमा पनि आगामी आम निर्वाचनको परिणामसम्म पर्खनु पर्ने हुन्छ । किनकी आम निर्वाचनमा आफ्ना मतदाता आफैंले छान्ने अवसर ओली र उनको टिमलाई हुनेछैन । त्यसैले आम निर्वाचनमा एमालेको साविकको हैसियत सुरक्षित नगरेसम्म ओलीलाई बधाई दिनु हतार हुनेछ ।
राजनीतिक पार्टीको लक्ष्य केवल सत्ता प्राप्ति मात्रै होइन । यद्यपि जनताद्वारा चुनिएर सत्तामा पुग्ने र देश तथा जनताको संरक्षण एवं भलाई नै राजनीतिक दलको मुख्य ध्येय हो । यस अर्थमा एमालेको पार्टीगत गतिविधि आमजनताको चासोको विषय हो । नेपालको संविधान ( २०७२) जारी भएयताको आधाभन्दा बढी समय मुलुकको प्रधानमन्त्री रहेका ओलीले देश र जनताको भलाई तथा संरक्षण हुने के के काम गरे ? अध्ययनको विषय हो । तर गत भदौ २३ र २४ गतेको घटनाले उनको असक्षमलाई उदांगो रूपमा प्रस्तुत गरिसकेको छ ।
देश र जनताको सुरक्षा गर्नु पर्ने अन्तिम दायित्व बोकेको प्रधानमन्त्री आफ्नै ज्यानको सुरक्षा गर्न नसकी हेलिकप्टरमा चढेर भाग्दै महिना दिनसम्म अज्ञातस्थलमा लुक्नु भनेको सामान्य अयोग्यता होइन । मुलुकको इतिहासमै सबैभन्दा अयोग्य प्रधानमन्त्री प्रमाणित भइसकेका ओलीलाई अत्याधक बहुमतका साथ पार्टी अध्यक्ष निर्वाचित गराउनुको सोझो अर्थ परिवर्तनका पक्षधर युवा शक्तिमाथिको चुनौति मात्रै होइन, एमालेभित्र पार्टी नेतृत्वका लागि ओली बाहेक अर्को व्यक्ति छैन भन्ने सन्देश हो । यो परिणामले चार वर्ष अघि भएको एमाले विभाजनको औचित्य समेत पुष्टि भएको छ ।
निकट भविष्यमा हुन गइरहेको आम निर्वाचनको परिणाम भविष्यकै गर्भमा छ । तर विगतका दुईवटा आमनिर्वाचनको परिणामअनुसार जनमतका आधारमा नेकपा एमाले मुलुकको सबैभन्दा ठूलो पार्टी हो । त्यसैले एमालेले तय गर्ने नीति तथा नेतृत्व उसको आन्तरिक मामिला मात्रै नभएर सिंगो मुलुकको राष्ट्रिय मामिला हो । दुई कार्यकाल गरी करिव ११ वर्ष पार्टी अध्यक्ष तथा तीन कार्यकाल गरी करिव साढे पाँच वर्ष प्रधानमन्त्री भइसकेका ओलीले नयाँ पुस्ताका लागि मार्गप्रशस्त गर्ने छाति देखाउन सकेको भए निश्चय नै एमालेको यो महाधिवेशनले मुलुकका लागि आशाको सन्देश दिने थियो । ओलीले त्यो बाटो नरोज्नुमा आफ्नै बाध्यता पनि हुन सक्छन्, पार्टीको नेतृत्व फुत्केपछि आफू असुरक्षित हुन्छु भन्ने त्रासका कारण पनि ओलीले अनेक तिकडमसहित अध्यक्ष पद तेहेर्याएका हुनसक्छन् । तैपनि युगको पुकारलाई सम्बोधन हुने कदम चाल्न सक्ने सुविधाजनक ठाउँमा उनी अझै छन् ।
तर अध्यक्ष पदलाई आफ्नो सत्ता स्वार्थ तृप्तिको हतियार बनाउने वा नवयुवा पुस्ताको परिवर्तनको चाहनालाई आत्मसात गर्दै एमालेको साख अभिवृद्धि तथा मुलुकको लोकतन्त्र संस्थागत गर्ने भन्ने कुरा ओलीको हातमा छ । आफु पार्टीको अभिभावकीय जिम्मेवारीमा सिमित भएर मुलुक चलाउनका लागि स्वच्छ छवि भएका नेताहरूको टिमलाई अघि सार्ने आँट ओलीले गरे भने एमालेको साख जोगिने सम्भावना जिवितै रहनेछ ।
प्रतिक्रिया