अष्टलक्ष्मी र युवराजले देखाएको बाटो


७० वर्ष नाघिसकेका अध्यक्ष केपी शर्मा ओली पार्टीको विधान नै संशोधन गरेर तेस्रो पटकका लागि प्रतिस्पर्धा गरिरहेका छन् । तर पार्टीकै उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र अनुशासन आयोगका अध्यक्ष केशव बडालले भने सक्रिय राजनीतिबाट सन्यास लिएको घोषणा गरेका छन् । देश र पार्टी हाँक्न दोस्रो, तेस्रो, युवा र नवयुवा पुस्तालाई अवसर प्रदान गर्न भन्दै उनीहरूले गरेको यो त्याग समकालीन नेपाली राजनीतिमा उदाहरणीय हो । यसले नयाँ पुस्तालाई अगाडि बढाउन पहिलो पुस्ताका नेताले अभिभावकत्व लिंदै मार्गप्रशस्त गर्नुपर्छ भन्ने तर्कलाई थप बल दिएको छ ।

अर्कोतर्फ गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा जबर्जस्त रूपमा स्थापित पुराना पुस्ताका नेताहरूलाई सम्मानपूर्वक बिदाई गर्ने मुद्दाको सम्बोधनको बाटो देखाइदिएको छ । हुनत यसअघि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति पद दिएर एक हदसम्म यो मुद्दाको सम्बोधनको औचित्य देखाइसकेका छन् । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पनि हालै गठित नेपाली कम्युनिष्ट पार्टीको महाधिवेशनपछि अभिभावकको भूमिकामा रहने बताएका छन् ।

भलै उनीहरूले आगामी महाधिवेशनबाट कार्यकारी भूमिका त्याग्लान् वा नत्याग्लान् प्रतिक्षाको विषय हो । तर विगत ११ बर्षदेखि एमालेको नेतृत्व सम्हाली रहेका अध्यक्ष ओली भने आफ्नै पार्टीभित्र र आम जनमानसमा फैलिएको असन्तुष्टिबीच पनि फेरि साम, दाम, दण्ड र भेद प्रयोग गरेर बाँचुञ्जेल नेतृत्वमै रहने दाउमा छन् । एमालेको जारी ११ औं महाधिवेशनको यक्ष प्रश्नको रूपमा रहेको यो मुद्दाको विधिसम्मत निकास उसकै प्रतिनिधिहरूको हातमा छ ।

पछिल्लो तीन दशकयता नेपाली राजनीतिमा देउवा, ओली र दाहाल आफ्नो दलको नेतृत्वमा मात्र हैन, राज्य सञ्चालनको बागडोर लिनमा पनि ‘निर्विकल्प नेता’का रूपमा रहँदै आए । अर्थात् प्रधानमन्त्री पदमा यी तीनजना नेताबाहेक प्रधानमन्त्रीका लागि अरू कोही पनि योग्य छैनन् जस्तो भाष्य निर्माण गरियो । यो भाष्य निर्माण गर्न उनीहरूले आ–आफ्नै कोटरी निर्माण गरे । नयाँले अवसर पाएनन् । यसले गर्दा पछिल्ला बर्षहरूमा झाँगिएको असन्तुष्टि गत भदौ २३–२४ गते दलहरूको रूपान्तरण र पुस्तान्तरणको मागसहित विस्फोट भएको हो ।

यो विस्फोटले अब परम्परागत सोचबाट मात्र पार्टी चल्दैनन् भन्ने स्पष्ट भएको छ । राजनीतिक दलहरूमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषय सम्बन्धित दलकै सदस्यहरूको विषय हो । शिर्ष नेताहरूले अविच्छिन्न रूपमा पार्टीको नेतृत्व गरिरहँदा उनीहरूमाथि प्रश्न उब्जिएका छन् । सबै पार्टीभित्र शिर्ष नेतृत्वको निरन्तरता र कार्यशैलीको सन्दर्भमा आलोचनाहरू छन् । राजनीतिक दलहरू स्वभाविक रूपमा सत्ता सञ्चालनमार्फत् जनताको समस्या समाधानका सारथी हुन् । उनीहरू जनताको काम गर्नका लागि नै गठन भएका हुन् । तर आज नेपाली राजनीतिमा अनौठो देखिएको छ कि जनताहरू दलहरूप्रति चरम वितृष्णामा छन् । आक्रोशमा छन् ।

नेताहरूप्रति उनीहरूलाई कुनै विश्वास छैन । दल र नेताहरूप्रति बर्बर आक्रमण गर्नुलाई जनताले यतिखेर सामान्य घटनाको रूपमा लिएका छन् । यसकारण सोझै अनुमान गर्न सकिन्छ आगामी निर्वाचनहरूमा जनतालाई मत बदल्नु कुनै ठुलो कुरा होइन । उनीहरू मत बदल्न तम्तयार भएर बसेका छन् । आगामी निर्वाचनहरूले विद्यमान ठुला राजनीतिक दलहरूलाई आफ्नो अस्तित्वकै संकटमा पुर्याउन सक्छन् । यो सबै अवस्था किन आयो ? किनकी दशकौं दशकदेखि यिनै नेताहरूको पार्टीसत्ता र राज्यसत्तामा हालिमुहाली हुनु, उनीहरूको तथा उनीहरूको परिवारको जीवनशैलीमा कायापलट हुनु र आमजनताको जीवनशैली जहाँको तहीँ हुनु, चरम राजनीतिकरणका कारण राज्यका पूरै संयन्त्र क्षतविक्षत् अवस्थामा पुग्नु नै उनीहरूप्रतिको वितृष्णाको प्रमुख कारण हो ।

तर उनीहरूलाई अझै पनि यो कुराको अनुभूति हुन सकेको छैन । पुराना पार्टीमा सत्ता र शक्तिको आडमा पद र प्रतिष्ठा बाँडेर नेता, कार्यकर्ताहरूलाई आफू अनुकूल बनाउने र फरक मत राख्नेहरूलाई हाक्काहाक्की अथवा नदेखिने गरी सिध्याउने नेतृत्वको विडम्बना अझै बाँकी छ । दशकौँ नेतृत्वमा बसेको मान्छेसँग स्वाभाविक रूपमा गणित बलियो हुन्छ नै । सोही गणितको दुरुपयोगका कारण उनीहद्व पार्टी सत्तामा टिकिरहेका छन् । तर अब उनीहरूको गणितलाई कमजोर बनाउन, नेताहरूको टाउको गनेर आफू अनुकूलको निर्णय गराउने प्रवृत्तिको अन्त्य गर्न त्यहीँ भित्रका पार्टीका युवा पुस्ताहरूको भूमिका महत्वपूर्ण छ ।

युवाहरूले त्यसतर्फ ध्यान दिनुपर्दछ । पहिलो पुस्ताका सिंगै नेताहरूको बहिर्गमन आजको आवश्यकता हो । समय गतिशील छ । समाजले पनि परिवर्तन खोजेको छ । र, नयाँ पुस्ताबाट केही परिवर्तन होला भन्ने आशा पनि उत्तिकै राखेको छ । पछिल्ला निर्वाचनहरूबाट नयाँ नयाँ राजनीतिक दलहरूको उदय हुनु, स्वतन्त्र उम्मेदवारहरू विजयी हुनु र अहिले पनि सेलिब्रेटी अनुहारका मानिसहरूसँग जनमानसले अपेक्षा गर्नुले समाजले नयाँ अनुहार चाहेको स्पष्ट छ । यसका लागि दलहरूमा नेतृत्व परिवर्तन गरेर आफुहरूलाई परिवर्तन पक्षधरकै कित्तामा उभ्याउन सम्बन्धित दलका नेता, कार्यकर्ताहरू जागरूक हुनुपर्छ । आफ्नो पुस्ताको नेतृत्वमा पार्टी र देशलाई हाँक्न दोस्रो पुस्ता तयार हुनुपर्छ र तेस्रो, चौथो पुस्ताहरूलाई साथै लिएर हिंड्नुपर्छ ।

अब पनि पहिलो पुस्ताका नेताहरूले पद त्याग नगरे पछिल्लो पुस्ताको भविष्यमाथि नै प्रश्न उठ्छ र २३ र २४ भदौको जेनजी आन्दोलनकै स्वरूपको अर्को आन्दोलन नजन्मेला भन्न सकिन्न । त्यसैले जनतालाई आशाको सञ्चार गराउन पुरानो पुस्ताको बिदाई र नयाँ पुस्ताको स्वागत गर्नु जरूरी छ ।

प्रतिक्रिया