
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार टुकुचामा निर्माणाधीन ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गरेको समाचारलाई धेरैले चासो दिए । किनकि समाचारको शीर्षकले टुकुचा खोलामा सफापानी बगाउने सरकारको प्रयासतर्फ संकेत गरेको थियो । तर समाचार पढ्दै जाँदा टुकुचा खोलामा सफा पानी बगोस् भन्ने काठमाडौँबासीको चाहनासँग यो परियोजनाको कुनै साइनो नरहेको धेरैले थाहा पाए । बरू राज्यको ढुकुटी अनुत्पादक क्षेत्रमा कसरी दुरूपयोग भएको रहेछ भन्ने तथ्य उजागर भयो । काठमाडौँका मेयर बालेन्द्र शाहले २ वर्षअघि टुकुचा खोलामाथि भएको अतिक्रमण हटाएर सफा पानी बगाउने योजना अघि सार्दा धेरैले मुक्तकण्ठले प्रशंसा गरेका थिए । तर केही क्षेत्रमा छोपिएको ढल उधार्नेबाहेक थप काम सुरू भएको समाचार सुन्ने राजधानीबासीको प्रतिक्षा अहिलेसम्म पूरा हुन सकेको छैन ।
शनिबार मन्त्री घिसिङले निरीक्षण गरेको परियोजनासँग टुकुचा सफाइको कुनै साइनो छैन । टुकुचा खोलामा बग्ने ढललाई बागमती नदीमा मिसिनुपूर्व प्रशोधन गरी सफा पानी खसाल्ने परियोजना ३ वर्षभित्र सक्ने गरी २०७९ जेठमा थालिएको थियो । तर काम थालिएको ३ वर्ष ७ महिना बित्दै गर्दा २० प्रतिशत मात्रै प्रगति भएको छ । ३ अर्ब ३८ करोड रुपैयाँ अनुमानित लागतको यो परियोजनाको मुख्य उद्देस्य बागमती नदीमा सफा पानी बगाउनु हो । यो परियोजना सफल भयो भने बागमती नदीमा ढल बोकेर मिसिने अन्य खोलाहरूको अन्तिम विन्दुमा समेत यस्तै परियोजना अघि बढाउने बाटो खुल्छ । तर यो परियोजना बागमती सफाइको मार्गदशक हुने सम्भावना ज्यादै न्यून देखिन्छ ।
दैनिक करोडौँ करोड लिटर ढल बोकेर बग्ने बागमती नदीलाई टुकुचाको ढल प्रशोधन गरी मिसाइने दैनिक डेढ करोड लिटर पानीले सफा बनाउन सक्ला भन्ने ठान्नु कोरा कल्पना मात्रै हो । बागमती नदीलाई ढलमुक्त गर्न यसका सबै सहायक नदी तथा खोलाहरूलाई पनि ढलमुक्त गर्नु अपरिहार्य छ । तर दैनिक डेढ करोड लिटर प्रशोधन क्षमताको परियोजना निर्माणका लागि ३ अर्ब ३८ करोड रुपैयाँ लागत पर्नु तथा ३ वर्षभित्र सक्ने गरी काम थालिएकोमा २० प्रतिशत मात्रै काम सम्पन्न हुनुले हाम्रो देशका नीति निर्माण तहमा रहने व्यक्तिहरूको अयोग्यता र असक्षमता उजागर गरेको छ । किनकि यो परियोजनाको खर्च तथा समयलाई हिसाब गर्ने हो भने बागमतीलाई ढलमुक्त गर्ने यो तरिकाको औचित्य पुष्टि गर्न सकिन्न ।
पहिलो कुरा त आर्थिक लागत तथा सम्पन्न हुने समय अकल्पनीय देखिन्छ । दोस्रो कुरा नदी तथा खोलाको सफाइ अभियान सुरू गर्ने भनेको मुहानबाट हो । तर टकुचालाई ढलमुक्त बनाउने काम बागमती नदीमा मिसिने ठाउँबाट सुरू गरिएको छ । यो परियोजना सम्पन्न भए छ नै भने पनि सिंगो टुकुचा खोलामा ढल बगी नै रहनेछ ।
सरकार अस्थिर र मुलुकका नीति निर्माण तहमा रहनेहरू असक्षम भए भने भ्रष्टाचारीहरूले मुलुकको ढुकुटीमाथि कसरी राइँदाइँ गर्छन् भन्ने प्रश्नको ज्वलन्त उदाहरण हो, बागमती नदी सफाइ कार्यक्रम । यो कार्यक्रमका लागि विगत ३ दशकको अवधिमा करिब २२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । तर बागमती नदीको हालतमा सुधार आएको देखिँदैन । कहाँ गयो यति ठुलो रकम भन्ने प्रश्न उठ्दै गर्दा अबको २० वर्षभित्र थप २ खर्ब ७९ अर्ब रुपैयाँ खर्च गर्ने गरी मुलुकको ‘ब्युरोक्रेसी’ले कार्य योजना अघि सारिसकेको छ ।
यति ठुलो रकम खर्च गरेर अघि बढाइने कार्य योजनाले बागमती नदीलाई ढलमुक्त बनाउला वा नबनाउला ? यसै भन्न सकिने अवस्था छैन । किनकि कम्तीमा पनि पशुपति क्षेत्रको बागमतीमा नुहाउन मिल्ने पानी बगाउने भन्दै अर्बौं रुपैयाँ खर्चेर गुह्येश्वरी नजिकै बनाइएको बागमती नदी जल प्रशोधन केन्द्र असफल भएको छ । अन्य निर्माणाधीन परियोजनाको हालत पनि टुकुचाको भन्दा भिन्न छैन । त्यसैले बागमती नदीलाई ढलमुक्त बनाउन अहिलेसम्म भएका प्रयासलाई पुनर्विचार गर्नु जरूरी छ ।
प्रतिक्रिया