
वर्षायाममा झाडापखालाका बिरामी एक्कासि बढ्न थाले भने स्वास्थ्य संस्थाहरूको पहिलो जिम्मेवारी हैजाको परीक्षण हो । तर समयमै हैजाका जीवाणु परीक्षणमा स्वास्थ्य संस्थाहरू गम्भीर नहुँदा वीरगन्ज महानगरपालिकामा हैजाको संक्रमण नियन्त्रण बाहिर जाने अवस्था आएको छ । साथै अन्य पालिकामा पनि फैलन थालेको छ । बुधबारसम्मको आँकडाअनुसार भदौको सुरुआतदेखि फैलिएको झाडापखालाका कारण ३ जनाको मृत्यु भइसकेको छ भने ५०० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन् । अस्पताल भर्ना भएका झाडापखालाका बिरामीमध्ये जेजतिको नमुना परीक्षण गरिएको छ, प्राय सबैमा हैजा पुष्टि भएको छ । एक साताको छोटो अवधिमै हैजाका बिरामीको संख्या एक्कासि बढेपछि स्थलगत अनुगमनका लागि भदौ ९ गते वीरगन्ज पुगेर संघीय स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हैजा फैलिनुको कारण पत्ता लगाउन निर्देशन दिएका थिए । तर, बुधबार बिहानसम्म कारण पत्ता लाग्न सकेको छैन । कुन स्रोतबाट हैजा फैलियो ? भन्ने कुरा पत्ता लगाउन ढिलाई हुँदै गएकै कारण वीरगन्जका स्थानीय जनतामा त्राश फैलिएको छ । कतिपय स्थानीयहरू हैजाबाट बच्न धमाधम वीरगञ्ज छाडेका छन् ।
उनीहरूकै कारण अन्यत्र पनि हैजा फैलिने सम्भावनातर्फ सचेत हुन जरुरी देखिएको छ । हैजाका बिरामीलाई खोजी खोजी निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्यमन्त्री पौडेलले निर्देशन दिनु तथा उपचारमा समस्या भएको गुनासो हालसम्म नआउनु सकारात्मक हो । तर स्रोत पत्ता नलाग्दासम्म हैजा नियन्त्रण सम्भव हुँदैन । नियन्त्रण नभएसम्म बिरामीको संख्या अहिलेकै अनुपातमा बढ्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा स्वास्थ्य संस्थाहरूको क्षमताले नधान्न पनि सक्छ । तसर्थ ३ वटै तहका सरकार गम्भीर बन्नु जरुरी छ ।
हैजाको प्रकोप नेपालमा नयाँ होइन । वर्षा याममा कुनै न कुनै स्थानमा हैजा देखिएको समाचार आउने गरेका छन् । तर अपवादबाहेक हैजाको प्रकोपलाई नियन्त्रणमा लिन नेपालका स्वास्थ्य संस्थाहरू सक्षम देखिएका छन् । तर कहिलेकाहीँ अपवादका घटनाले पनि विकराल रूप लिएको देखिएको छ ।
उदाहरणका लागि समयमै सतर्कता अपनाउन नसकेका कारण १५ वर्षअघि जाजरकोट जिल्लामा हैजाको महामारी फैलँदा उपचार गर्ने सामथ्र्यसमेत राज्यले गुमाएको थियो । १०० भन्दा बढीको मृत्यु भएको थियो । ५ वर्ष अघि कपिलबस्तुमा पनि हैजाको महामारी नियन्त्रणभन्दा बाहिर जाँदा जिल्लाभित्रका स्वास्थ्य संस्थाहरूले बिरामीको चाप थेग्न सकेका थिएनन् । करिब २ लाखलाई हैजा बिरुद्धको खोप लगाएर नियन्त्रण गरिएको थियो । जसका लागि राज्यको ठुलो धनराशि खर्च भयो । यतिबेला वीरगन्जजस्तो निकै घना जनआवादी भएको सहरमा देखिएको हैजाको स्रोत पत्ता लाग्न तथा नियन्त्रणमा लिन लामो समय लाग्नुको परिणाम अकल्पनीय नहोला भन्न सकिन्न । किनकी वर्षाको यो समयमा जलमग्न रहेको खेत तथा कुलो, कुलेसोमा हैजाका बिरामीको दिशा पुग्नसक्ने सम्भावना यस क्षेत्रमा निकै सहज छ ।
त्यो पानी इनार तथा ट्वुबेलमा फैलिने निश्चित जस्तै छ । तराईका कतिपय ग्रामीण क्षेत्रमा अझै पनि खेतमै खुला रूपमा दिसा गर्ने चलन उन्मूलन हुन सकेको छैन । स्थानीय सरकार सबैभन्दा गम्भीर बन्नु पर्ने भनेको यही मामिलामा हो ।
नेपाली समाजमा कसैलाई गाली गर्दा ‘यसपालिको हैजा, फलानालाई लैजा’ भन्ने प्रचलन नै छ । मनसुनको सिजनमा हरेक वर्ष हैजा आउँछ भन्ने जनजनलाई थाहा छ । राज्यको नीति निर्माण गर्ने तथा कार्यान्वयन तहमा बस्ने हरेकलाई हैजाको स्रोत तथा फैलने सम्भावनाको विषयमा थाहा छ । पढेलेखेको सचेत वर्गलाई पनि थाहा छ । तर पूर्व रोकथामको सम्भावनाप्रति चरम लापरबाही हुने गरेको छ । उदाहरणका लागि १ महिनाअघि खडेरीको समस्या हुँदा डिप बोरिङ तथा संस्थानको खानेपानीको पाइप विस्तारमा सावधानी नअपनाइएको उल्लेख गर्दै नारायणी अस्पतालका सूचना अधिकारी डा.उदयनारायण सिंहले अहिले फैलिएको हैजाको महामारी त्यसैको कारण हुन सक्ने बताएका छन् ।
डा. सिंहको भनाइ उल्लेख गर्दै मिडियामा आएको यो समाचार यदि सत्य हो भने वीरगन्जको महामारीलाई मानवीय अपराधका रूपमा लिनुपर्छ । यसको यथार्थ छानबिनका लागि अधिकारसम्पन्न समिति गठन गर्नुपर्छ । सबै घरमा शौचालय बनाइनु, खुला दिशामुक्त पालिका घोषणा गर्नु राम्रो पक्ष हो । तर शौचालयको सट्टा ‘मैदान’ रोज्ने प्रवृत्तिलाई नियन्त्रण गर्न चुक्नु दुःखद् हो । सरकारी स्तरबाट हुने गरेको लापरबाही नियन्त्रणको उपाय दण्ड, जरिवाना हो, जनस्तरबाट हुने गरेको लापरबाही न्यून गर्ने मुख्य उपाय सचेतना नै हो ।
प्रतिक्रिया