
काठमाडौँ । भारतको उत्तराखण्डको पौडीगढवालस्थित सिन्धुखोला नजिक बाकुडामा आएको बाढीमा परी बेपत्ता भएकामध्ये शनिबार भेटिएको हात बर्दियाको मधुवन नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र खड्काको रहेको उनको परिवारले दाबी गरेको छ । नरेन्द्रको हातमा रहेको ‘ट्याटु’मा लेखिएको नामका आधारमा उनका बुबा चुडामणिले छोराको पहिचान गरेका हुन् ।
उक्त घटनामा नरेन्द्रसँगै बेपत्ता भएका उनकी पत्नी ३० वर्षीया सरस्वती र २ वर्षीय छोरा रोमनको भने अवस्था अझै अज्ञात छ । बाढीपहिरोमा परी ५ जना बेपत्ता रहेकामध्ये शनिबार पहिरो पन्छाएर खोजी गर्ने क्रममा १ जनाको हात भेटिएको थियो । दिल्लीस्थित नेपाली दूतावासका एसएसपी प्रकाश मल्लले भने भारतीय प्रहरीले पुष्टि नगरेसम्म खड्काको हात भन्न नमिल्ने बताए ।
बर्दियाको मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटले पनि खड्काको हात मात्रै फेला परेको परिवारका सदस्यले जानकारी दिएकाले शव फेला पर्ने सम्भावना कम भएकाले हातकै आधारमा आफन्तले उतै सद्गद् गरेको बताए ।
बेपत्ताहरूको खोजीका लागि करिब ४५ जना नेपाली खटिएका छन् । पहिरोमा परी बर्दियाका ५ जना बेपत्ता भएका थिए । नरेन्द्र, उनकी पत्नी र छोराबाहेक मधुवन नगरपालिका–५ का ४५ वर्षीय रामु परियारकी पत्नी अमृता पनि बेपत्ता छिन् । उनकी छोरी २१ वर्षीय लक्ष्मी गम्भीर घाइते भएकी छन् । बर्दियाकै गुलरिया नगरपालिका–३ संगमबस्तीका २१ वर्षीय सुभाष विक पनि बाढीमा परी बेपत्ता छन् ।
प्रतिक्रिया