
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले डिसेम्बर २०२४ देखि रोकिराखेकी एक अमेरिकी नागरिकलाई रिहा गरी देश छोड्न अनुमति दिएको जानकारी दिएका छन् । उनका अनुसार ती महिला अहिले सुरक्षित रूपमा इरानबाहिर पुगेकी छन् भने स्वास्थ्य अवस्था पनि राम्रो छ ।
राष्ट्रपति ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत इरानको यस कदमप्रति आभार व्यक्त गर्दै यसलाई सद्भावनाको संकेतका रूपमा लिएको बताएका छन् । यद्यपि, उनले सुरुमा ती महिलाको नाम वा हिरासतको कारण खुलाएका थिएनन् । ट्रम्पले उनलाई ‘गलत रूपमा हिरासतमा राखिएको अमेरिकी नागरिक’ मात्र उल्लेख गरेका थिए ।
लगत्तै एक वकिलले प्रतिक्रिया जनाउँदै रिहा भएकी महिला आफ्नी मुवक्किल डेना करारी रहेको जानकारी दिए । वकिल जारेड जेन्सरका अनुसार अमेरिकी–इरानी नागरिक करारीलाई शत्रु राष्ट्रसँग सहकार्य र जासुसी गरेको आरोपमा इरानमा रोकिएको थियो । उनी अहिले सुरक्षित रूपमा इरानबाट बाहिरिएर अमेरिका फर्किएको बताइएको छ ।
जेन्सरका अनुसार करारीले सञ्चालन गर्दै आएको ‘चिल्ड्रेन अफ मेहर फाउन्डेसन’ नामक गैरनाफामूलक संस्थाले निजी सहयोगमार्फत इरानका विपन्न बालबालिकालाई सहायता उपलब्ध गराउँदै आएको थियो । यही गतिविधिलाई लिएर इरानी अधिकारीहरूको निगरानीमा परेको उनको दाबी छ ।
वकिलका अनुसार करारीलाई औपचारिक रूपमा जेलमा नराखिए पनि देश छोड्न प्रतिबन्ध लगाइएको थियो । साथै, इरानको गुप्तचर तथा सुरक्षा मन्त्रालयले उनीसँग दर्जनौँ पटक सोधपुछ गरेको र त्यसक्रममा शारीरिक तथा मानसिक तनाव बेहोर्नुपरेको उल्लेख गरिएको छ ।
जेन्सरले इरानसँग अन्य अमेरिकी नागरिक तथा राजनीतिक बन्दीलाई पनि रिहा गर्न आग्रह गरेका छन् । पश्चिमी मुलुकहरूले इरानले विदेशी नागरिकलाई हिरासतमा राखेर विभिन्न कूटनीतिक वार्तामा दबाब सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग गर्ने आरोप लगाउँदै आएका छन् ।
यसअघि गत मे महिनामा अमेरिकाले पनि इरानमा १० वर्ष जेल सजाय भोगेका अमेरिकी स्थायी बसोबासको हैसियत भएका एक इरानी नागरिक रिहा भएको घोषणा गरेको थियो । गत महिना अमेरिका र इरानबीच मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भए पनि त्यसपछि दुवै पक्षबीच पुनः सैन्य तनाव बढ्दै क्षेत्रीय संघर्ष फेरि चर्किएको छ ।
प्रतिक्रिया