
थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।
एसोसिएटेड प्रेस (एपी)का अनुसार बैंककको उत्तरी क्षेत्रमा रहेको ना लाडफ्राओ पबमा राति करिब १२ बजे आगलागी भएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा पबबाट ठूलो आगोको मुस्लो र बाक्लो कालो धुवाँ निस्किरहेको तथा मानिसहरू ज्यान जोगाउन भागिरहेको देखिन्छ ।
थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नविराकुल घटनास्थल पुगेर २७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए । प्रधानमन्त्रीका अनुसार घटनास्थलमा प्रस्तुति दिइरहेका एक संगीतकर्मीले स्टेज नजिकको विद्युत् सर्किट ब्रेकरबाट धुवाँ निस्किएको देखेका थिए । त्यसपछि अचानक विद्युत् आपूर्ति बन्द भएको, केहीबेरमै विस्फोटको आवाज सुनिएको र बाक्लो धुवाँले पूरै पब भरिएको उनले बताएका छन् ।
अनुटिनले अधिकांश मृतक पबको पछाडिपट्टिको शौचालय क्षेत्रमा फेला परेको जानकारी दिए । बैंककका गभर्नर चाडचार्ट सिट्टिपुन्टका अनुसार ६३ जनालाई अस्पताल लगिएको छ, जसमध्ये २२ जनाको अवस्था चिन्ताजनक छ ।
प्रतिक्रिया