काठमाडौँ । सरकारी तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा देशको आन्तरिक अर्थतन्त्र सुधारको बाटोमा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷०८२ को १० महिनाको तथ्यांकअनुसार आन्तरिक रूपमा अर्थतन्त्रका सबै सूचकहरू सकारात्मक र वृद्धितर्फ अग्रसर रहेको देखिएका हुन् ।
विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघेको छ । जुन नेपालको कुल ग्राहस्थ उत्पादन (जिडिपी) को झण्डै आधा हो । हाल नेपालको जिडिपी ५७ खर्ब हाराहारी छ । तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को १० महिनामा कुल विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । २०८१ असारसम्ममा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । १० महिनाको अवधिमा विदेशी विनिमय सञ्चिति २३ दशमलव १ प्रतिशतले वृद्धि भएको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति वैशाखसम्ममा २० दशमलव ५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ । जबकी गत असारमा १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १९ दशमलव ६ प्रतिशतले वृद्धि भई २२ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । गत २०८१ असारमसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेको थियो ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ वैशाख मसान्तमा ५६ दशमलव ८ प्रतिशतले वद्धि भई ३ खर्ब १ अर्ब ८३ करोड रपैयाँ कायम भएको छ । यो अवधिको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव २ प्रतिशत रहेको छ ।
यो अवधिको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ दशमलव ४ महिनाको वस्तु आयात र १४ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल ग्राहस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४१ दशमलव १ प्रतिशत, १२१ दशमलव ४ प्रतिशत र ३३ दशमलव ८ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५ दशमलव ८ प्रतिशत, १०८ दशमलव ६ प्रतिशत र २९ दशमलव ३ प्रतिशत रहेका थिए ।
खाद्य बस्तु सस्तियो
मूल्यवृद्धि (मुद्रास्फीति) २ दशमलव ७७ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही महिनामा यो दर ४ दशमलव ४० प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १ दशमलव ५२ प्रतिशत मात्र रहेको छ । जुन अघिल्लो वर्षको ६ दशमलव ४१ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा घटेको हो । त्यसैगरी, गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ४५ प्रतिशत मापन गरिएको छ, जुन अघिल्लो वर्ष ३ दशमलव शून्य ९ प्रतिशत थियो ।
बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहभित्र घ्यू तथा तेल उप–समूहको मूल्य सर्वाधिक ११ दशमलव शून्य ८ प्रतिशतले बढेको छ । फलफूल ६ दशमलव १५ प्रतिशत, दाल तथा गेडागुडी ५ दशमलव १७ प्रतिशत, र गैर–मदिराजन्य पेय पदार्थ ४ दशमलव ७० प्रतिशतले वृद्धि भएका छन् । तरकारी उप–समूहको मूल्य ८ दशमलव ११ प्रतिशतले घटेको छ भने मरमसला २ दशमलव २० प्रतिशत र माछा–मासु शून्य दशमलव ४८ प्रतिशतले सस्तिएको छ ।
गैर–खाद्य तथा सेवा समूहतर्फ विविध वस्तु तथा सेवा उप–समूहमा ९ दशमलव शून्य ४ प्रतिशतको वृद्धि देखिएको छ । शिक्षामा ५ दशमलव ८८ प्रतिशत, कपडा तथा जुत्ताचप्पलमा ५ दशमलव २३ प्रतिशत, फर्निचर तथा घरायसी उपकरणमा ३ दशमलव ९९ प्रतिशत र रेस्टुरेन्ट तथा आवास सेवामा ३ दशमलव १६ प्रतिशतले मूल्यवृद्धि भएको छ ।
क्षेत्रगत रूपमा हेर्दा, ग्रामीण क्षेत्रमा उपभोक्ता मुद्रास्फीति ३ दशमलव २१ प्रतिशत पुगेको छ भने सहरी क्षेत्रमा २ दशमलव ६१ प्रतिशत मापन गरिएको छ । यसले देखाउँछ कि ग्रामीण क्षेत्रमा मूल्यवृद्धिको प्रभाव केही बढी रहेको छ ।
शोधनान्तर स्थिति ४ खर्ब बढी बचतमा
१० महिनामा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले वचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले वचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २३ करोडले वचतमा रहेको थियो ।
समीक्षा अवधिमा चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले वचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा रहेको छ ।
निर्यात बढ्यो
चालु आवको १० महिनामा कुल वस्तु निर्यात ७२ दशमलव ७ प्रतिशतले वृद्धि भई २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३ दशमलव ६ प्रतिशतले कमी आएको थियो ।
गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः १०४ दशमलव ७ प्रतिशत, ५ दशमलव १ प्रतिशत र ४ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, तयारी पोसाक, जुश, अलैँची लगायतका वस्तुको निर्यात घटेको छ । समीक्षा अवधिमा कुल वस्तु आयात १३ दशमलव १ प्रतिशतले वृद्धि भई १४ खर्ब ७४ अर्ब १९ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २ दशमलव ४ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७ दशमलव ९ प्रतिशत, १५ दशमलव १ प्रतिशत र २८ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल/धान, खाने तेल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युत्तीय उपकरण, रासायनिक मल, कोइला लगायतका वस्तुको आयात घटेको छ ।
प्रतिक्रिया