अभ्यास खेलमा नेपालको जित

काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ को तयारीका क्रममा खेलिएको अभ्यास खेलमा नेपालले सफलता पाएको छ । दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हात पारेको हो । सोमबार राति सम्पन्न खेलमा नेपाल १२३ रनले विजयी भएको हो । नेपालले दिएको ३३६ रनको लक्ष्य पछ्याएको मेरिलेबोनले ३५ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन मात्रै बनायो ।

मेरिलेबोनका नोरिसले सर्वाधिक ५६ रन बनाए । ६८ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । नेलर ५४, फ्रेन्डस ३७ र डन १९ रनमा आउट भए । नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । ५ ओभर बलिङ गरेका उनले २४ रन खर्चिए । नन्दन यादव र कुशल भुर्तेलको नाममा समान २ विकेट रह्यो । करण केसी, सागर ढकाल र बसिर अहमदले पनि आफ्नो नाममा समान १–१ विकेट राखे ।

त्यसअघि नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३३५ रन बनाएको थियो । नेपालका दीपेन्द्रले सर्वाधिक ११० रन बनाए । ६७ बल खेलेका उनले १२ चौका र ४ छक्का प्रहार गरे ।
भीमाले ९० बलमा १० चौका र २ छक्कासहित १०४ रन बनाए । यी दुवै रिटायर्ड हट भएका हुन् । अनिलकुमार साह २७ रनमा आउट हुँदा बसिर अहमद ३७ र करण केसी १६ रनमा अविजित रहे ।

प्रतिक्रिया