काठमाडौँ । इंग्ल्यान्ड र वेल्समा अर्को वर्ष हुने महिला टि–२० विश्वकपबाट नेपाल एक पाइला मात्र टाढा छ । सोमबार भएको एसियाली राष्ट्र समूहको ‘सुपर–३’ को खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ५ विकेटले पराजित गर्दै नेपाल पहिलो पटक ग्लोबल छनोटमा प्रवेश गरेको हो ।
ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । १० मध्ये शीर्ष ४ टोली विश्वकपमा प्रवेश गर्नेछन् । सन् २०२६ जुन १२ देखि ५ जुलाईसम्म आयोजना हुने महिला टि–२० विश्वकपमा १२ टोलीको सहभागिता रहनेछ । विश्वकपका लागि आयोजक देशसँगै गत संस्करणको नतिजा तथा वरीयताका आधारमा ८ टोलीको टुंगो लागिसकेको छ ।
एसियाबाट थाइल्यान्ड र नेपाल ग्लोबल क्वालिफायरमा प्रवेश गरेका छन् भने अमेरिकी क्षेत्रबाट अमेरिका ग्लोबल क्वालिफायरका लागि छनोट भएको छ । पूर्वी एसिया–प्यासिफकबाट कुक आइसल्यान्ड ग्लोबल क्वालिफायरमा छनोट भएको छ । युरोपबाट आयरल्यान्ड र नेदरल्यान्ड्स ग्लोबल क्वालिफायरमा छनोट भएका छन् । नेपालले मंगलबार एसियाली क्वालिफायरको अन्तिम खेल थाइल्यान्डसँग खेल्नेछ । तर, सो खेल दुवै टोलीका लागि अभ्यास मात्रै हुनेछ ।
सोमबारको खेलमा युएईले दिएको ११५ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ३ बल बाँकी रहँदा पूरा गरेको हो । नेपालकी कप्तान इन्दु बर्माले अविजित रहँदै सर्वाधिक ३० रन बनाइन् । २८ बल खेलेकी उनले २ चौका प्रहार गरिन् । रुविना क्षेत्री बेलबासेले १८ बलमा ३ चौकासहित २३ रनको योगदान दिइन् । ओपनर सम्झना खड्का २१ र उपकप्तान पूजा महतो १३ रनमा आउट हुँदा रुबी पोद्दार ६ रनमा अविजित रहिन् ।
युएईका मेचेली बोथा, सुरक्षा कोत्ते, वैष्णवी महेश र ईशा ओझाले समान १–१ विकेट लिए । त्यसअघि बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो । युएईकी कप्तान ईशाले सर्वाधिक ३९ रन बनाइन् । ३९ बल खेलेकी उनले २ चौका र १ छक्का प्रहार गरिन् । ओपनर तीर्थ सतीशले ३२ बलमा २ चौकासहित २१ रनको योगदान दिएकी थिइन् । उनीहरूबीच पहिलो विकेटका लागि ४५ रनको साझेदारी भएको थियो ।
हिना होत्चान्डी २० र लावन्या केनीले १२ रन बनाए । नेपालकी मनीषा उपाध्यायले सर्वाधिक ४ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी उनले २० रन मात्रै खर्चिइन् । कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट आफ्नो नाममा लेखाए ।
सन् २००७ देखि सुरु भएको नेपाली महिला क्रिकेटको उमेर समूहमा विश्वकपको ढोका यसअघि नै नखुलेको होइन । उमेर समूहमा भने यु–१९ टोलीले २०२५ को सुरुआतमै विश्वकप खेलेको थियो । उमेर समूहले विश्वकप खेले पनि सिनियर टोलीले सन् २०१६ देखि खेल्न थालेको विश्वकप छनोटमा हालसम्म एसिया चरणको छनोट पनि पार गर्न सकेको थिएन । यस पटक भने लामो समयको प्रतीक्षापछि महिला टोलीले पहिलो छनोट चरण पार गरेको छ ।
सन् २०१६ मा थाइल्यान्डसँगको हारले छनोट नभएको नेपाल सन् २०१७ मा तेस्रो भएर अघि बढ्न सकेको थिएन । सन् २०१९ मा लिग चरणमा खेलाइएको एसिया छनोटबाट थाइल्यान्ड अपराजित रहँदै ग्लोबल चरणमा अघि बढेको थियो । सो प्रतियोगितामा पनि नेपाल थाइल्यान्डसँग मात्र पराजित भयो । त्यस्तै, सन् २०२१ को छनोटमा हङकङ र युएईसँग पराजित हुँदा युएई अपराजित रहँदै अगाडि बढेको थियो भने सन् २०२३ मा भएको छनोटको सेमिफाइनलमा थाइल्यान्डसँग पराजित हुँदै नेपाल ग्लोबल छनोटबाट वञ्चित भएको थियो ।
टिम भावनाले अभिप्रेरित कप्तान इन्दु
नेपाली कप्तान इन्दु बर्माले ‘प्लेयर अफ द म्याच’को ट्रफी आफ्नी सहकर्मी मनीषा उपाध्यायलाई सुम्पिएकी छिन् । इन्दुले संयमित इनिङ्स खेल्दै ३० रन बनाइन् र नेपाललाई ५ विकेटको जित दिलाइन् । यसबापत उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए पनि उनले त्यो ट्रफी मनीषाको हातमा राखिदिइन् । सो खेलमा मनीषाको स्पेलले खेलको दिशा मोडेको थियो । युएईका ईशा ओझा र लावन्या केनीले तेस्रो विकेटका लागि राम्रो साझेदारी गरिरहेका थिए । मनिषाले सो साझेदारी तोडेपछि खेल नेपालको पक्षमा मोडिएको हो ।
उनले ४ ओभरमा २० रन दिएर ४ विकेट लिइन् । ईशा आउट भएसँगै युएईले ५ विकेट गुमाएर स्कोरबोर्डमा मात्रै ३४ रन थप्न सक्यो । खेलपछि उनले कप्तानको काम मैदानमा सही निर्णय गर्ने मात्र नभएर सधैँ टोलीको उत्साह बढ्ने पनि भएको प्रतिक्रिया दिएकी छिन् ।
प्रतिक्रिया