नयाँ दिल्ली । बंगलादेशलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै भारतले साफ यु–१९ च्याम्पियनसिपको उपाधि रक्षा गरेको हो । गोल्डेन जुबली स्टेडियममा आइतबार सम्पन्न खेलमा भारतले बंगलादेशलाई ४–३ ले पराजित गरेको हो । यसअघि भारतले सन् २०२३ मा पाकिस्तानलाई ३–२ ले पराजित गर्दै पहिलोपल्ट उपाधि जितेको थियो ।
यु–१९ समूहको प्रतियोगिता तेस्रोपल्ट आयोजना भएको हो । सन् २०१५ मा भएको पहिलो संस्करणमा पेनाल्टी सुटआउटमा भारतलाई ५–४ ले पराजित गर्दै नेपालले उपाधि घरैमा राखेको थियो । त्यसको २ वर्षपछि भुटानमा भएको साफ यु–१८ च्याम्पियनसिपको फाइनलमा पनि भारतलाई २–० ले पराजित गर्दै नेपालले नै उपाधि हात पारेको थियो ।
त्यसयताका प्रतियोगितामा भारत र बंगलादेशले दबदबा जमाउँदै आएका छन् । उमेरसमूहमा भारतको समग्रमा यो चौथो उपाधि हो । भारतले यसअघि यु–१८, यु–२०, यु–१९ को उपाधि जितिसकेको छ । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । त्यसपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटमार्फत गरिएको हो । पेनाल्टी सुटआउटमा भारत भाग्यमानी सावित भयो ।
पेनाल्टी सुटआउटमा भारतका मोहम्मद अर्बाश, रोहेन सिंह, ऋषि सिंह, जोड्रिक अब्रान्चेस र सिंगमायुम शमीले गोल गरे । बंगलादेशका मिठु चौधरी, मुर्सेद अली र जोय अहमदले गोल गरे । नजमुल फैसलको प्रहार आकासिएको थियो । उद्दिन साहेदको प्रहार भारतीय गोलकिपर सुजर सिंहले रोके ।
खेलको दोस्रो मिनेटमै भारतले सुरुआती अग्रता लिएको थियो । सिंगमायुम शामीले प्रहार गरेको फ्रिकक बल सिधै गोलमा परिणत भएको थियो । ६१औँ मिनेटमा जोय अहमेदले बराबरी गोल फर्काए । उनले हुलमुलमा प्रहार गरेको बल भारतीय गोलकिपर सुजरको ढाडमा लाग्दै गोलमा परिणत भएको थियो ।
प्रतिक्रिया