फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) को सम्मानार्थ ‘साम्बाचोक’ स्थापना

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लवकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा) को सम्मानार्थ ‘साम्बाचोक’ नामाकरण र उक्त चोकमा साम्बा स्तम्भ निमार्ण गरिएको छ ।

लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका– ९ स्थित खुदिबजार चोकमा निर्माण गरिएको साम्बा स्तम्भको सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले आज सोमबार उद्घाटन गरेका हुन् । नेपाल एपीएफ क्लवकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा) पछिल्लो समय स्वदेशमा मात्र नभई विदेशमा समेत चिर्चित फुटबल खेलाडी बन्न पुगेकी छन् ।

हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लव एना भान गेङगाङ्पमा आवद्ध छन् । उद्घाटन कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, मर्स्याङ्दी गाउँपालिका–९ का वडाध्यक्ष हरिस चन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपति लगायत स्थानीय भद्रभलादमी, जनप्रतिनिधि र सञ्चारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

साथै, कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा) का बुवाआमालाई समेत सम्मान गरिएको सशस्त्र प्रहरीका डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया