महिला विश्वकप एसिया छनोट : नेपाललाई युएईले दियो ११५ रनको लक्ष्य

काठमाडौं । थाइल्याण्डमा जारी आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ मा युएईले नेपाललाई जितको लागि ११५ रनको लक्ष्य दिएको छ ।

टेर्डथाई क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ १४ रनको योगफल बनाएको थियो ।

ओपनरद्वय इशा ओजा र थ्रीता सतिशले पहिलो विकेटको लागि ४५ रनको साझेदारी गरे । थ्रीता २१ रनमा राजमति ऐरीको बलमा आउट भइन् । पहिलो विकेट झार्न नेपालले १०औँ ओभर कुर्नुपर्यो ।

इशाले २ चौका र १ छक्का सहित ३९ रन बनाइन् । यस्तै हिना होटचान्डीले २० र लाभान्या केनीले १२ रन बनाए । बलिङमा मनिषा उपाध्यायले ४ ओभर बलिङ गर्दै २० रन खर्चेर ४ विकेट लिइन् । कविता कुँवरले २ र राजमतिले१ विकेट लिइन् । सुपर थ्रीको यो प्रतिस्पर्धामा जित निकाले ग्लोबल छनोटमा नेपालले स्थान सुरक्षित गर्नेछ ।

हारले नेपालको छनोट यात्रामा पूर्ण विराम लाग्नेछ । हिजो भएको खेलमा युएईलाई ५४ रनले हराउँदै आयोजक थाइल्याण्ड भने ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल भइसकेको छ । अहिले नेपालले युएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया