टोलीको नयाँ संरचनाको तयारीमा नेपाली फुटबल

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका धेरै खेलाडी खेल जीवनको अन्तिम समयमा पुगेका छन् । नयाँ पुस्ताको आगमनसँगै केही अनुभवी खेलाडी सुखद् बिदाइको तयारीमा छन् । केही घाइते खेलाडी मैदानमा फर्कन ‘रिह्याब’मा जुटिरहेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा सुरु भएको यो रूपान्तरण भविष्यको आधारशिला बन्ने अपेक्षा गरिएको छ । सुरुआतमा ४८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइए पनि दोस्रो चरणमा ३२ खेलाडी छनोट भएका छन् । यी ३२ मा धेरै नयाँ अनुहार छ ।

अहिले नेपाल मात्र होइन अन्य दक्षिण एसिया राष्ट्रका महिला टोलीमा व्यापक फेरबदल भइरहेको छ । २ पटक साफको फाइनलमा नेपाललाई पराजित गर्दै इतिहास बनाएको बंगलादेशले पनि पुस्तान्तरणको प्रयास गरेको छ । भारतीय टोलीमा पनि न्यून संख्यामा सिनियर खेलाडी छन् । नेपाली टोलीमा भने ८ भन्दा बढी खेलाडी २८ उमेर पार गरेका छन् । तीमध्ये धेरैजसो त सन् २०१० देखि निरन्तर खेल्दै आएका छन् ।

यसपटक राष्ट्रिय टोलीलाई पुनर्निर्माण गर्ने प्रयासमा उनी छन् । संवादमार्फत सम्मानजनक तरिकाले अनुभवी खेलाडीलाई बिदाइको सुनिश्चित आफूले गरेको उनको भनाइ छ । एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटको तयारीस्वरूप नेपालले थाइल्यान्डसँग २ मैत्रीपूर्ण खेल खेल्न लागेको छ । नेपालले १ अन्तर्राष्ट्रिय र १ अनौपचारिक फुटबल खेल्न लागेको हो । पहिलो खेल ३० मेमा हुनेछ भने दोस्रो २ जुनमा हुनेछ । दुवै खेल बैंककमा हुनेछन् ।
यी २ खेलका लागि राजेन्द्रले प्रारम्भिक टोलीमा ४८ खेलाडीलाई बोलाएका थिए । शुक्रबार मात्रै उनले १७ खेलाडीलाई हटाउँदै दोस्रो चरणको बन्द प्रशिक्षण बोलाएका छन् । दोस्रो चरणको सूचीमा पनि अधिकांश खेलाडी पुरानै दोहोरिएका छन् ।

नेपालका धेरै पुराना खेलाडी अहिले चोटग्रस्त स्थितिमा छन् । बारम्बार ‘अप्रेसन’ गर्दै खेलाउनुपर्ने स्थिति भएको कारण टोलीले सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेको गुनासो यसअघि पनि नसुनिएका होइनन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२७ को एसियन कप र २०३१ को विश्वकप खेल्ने लक्ष्य राखेर केही खेलाडीको बिदाइलाई सम्मानजनक बनाउने तयारी गरिरहेको जनाइएको छ ।

यसबीच केही घाइते खेलाडी पनि मैदानमा फर्किने प्रक्रियामा छन् । गत कात्तिकमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न साफमा डिफेन्डर हीराकुमारी र मिडफिल्डर दीपा शाही घाइते भएका थिए । यी २ खेलाडी करिब ७ महिनापछि मैदान फर्किने तयारीमा छन् । उदीयमान मिडफिल्डर प्रिती राई पनि मोफसलका प्रतियोगिता खेल्दा घाइते भएकी थिइन् । उनको चोट सामान्य रहेको छ । यी सबै ‘ग्राउन्ड रिह्याब’मा छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिता नहुँदा राष्ट्रिय टोलीका केही खेलाडी पछिल्लो साढे २ महिनामा मोफसलका प्रतियोगितामा व्यस्त थिए । इलाममा दोस्रो अन्तर्राष्ट्रिय महिला गोल्डकप, चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिता, बाँकेमा लुम्बिनी कप र नुवाकोटमा बागमती प्रदेश मुख्यमन्त्री कप र हेटौँडामा मकवानपुर महिला राष्ट्रिय गोल्डकप आयोजना भएका थिए ।

यी सबै प्रतियोगितामा अन्तिम ३२ मा रहेका सावित्रा, अञ्जिला, रेखा पौडेलबाहेक अन्य खेलाडी सहभागी भएका थिए । सावित्रा फ्रान्समा व्यावसायिक फुटबल खेल्दै थिइन् । अञ्जिला ग्रिस र रेखा संयुक्त अरब इमिरेट्स (युएई) मा अझै खेल्दै छिन् । पूजा राना भने मोफसलका प्रतियोगिता भ्याएर भुटान राष्ट्रिय महिला लिग खेल्न पुगेकी छन् । अहिले प्रशिक्षणमा रहेका ३२ जना मध्ये केही सिनियर खेलाडीलाई थाइल्यान्डमा अन्तिम मौका दिँदै टोलीको संरचनामा परिवर्तन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया