डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने

लिस्बन । एञ्जल डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने घोषणा गरेका छन् । बेनफिकाले शनिबार ब्रागासँग १–१ को बराबरी खेलेपछि यो घोषणा गरेका हुन् । योसँगै स्पोर्टिङभन्दा बेनिफिकाले २ अंकले पछि पर्दै लिगा पोर्चुगलमा उपविजेता हुँदै सिजन टुंग्याएको हो । ३७ वर्षीय डि मारियाले अर्जेन्टिनाबाट १४५ खेल खेलेपछि गत वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए । उनले ५ वर्ष २ पटक बेनफिकाका लागि खेलेका छन् ।

सन् २०२३ मा क्लबमा फर्किनुअघि उनी रियल मड्रिड, म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट–जर्मेन र युभेन्ट्सजस्ता क्लबमा खेलिसकेका थिए । ‘यति लामो सिजनपछि यस्तो अन्त्य हुनु निकै दुःखद् हो । मेरो यो जर्सीसँग अन्तिम लिग खेल थियो र पुनः यसलाई लगाउन पाउँदा गर्व लागेको छ’, डि मारियाले इन्स्टाग्राममा लेखे ।

बेनफिकाले मे २५ मा पोर्चुगिज कपको फाइनल स्पोर्टिङविरुद्ध खेल्नेछ । त्यसपछि क्लब विश्वकपमा १६ जुनबाट सहभागी हुनेछ । डि मारियाको सम्झौता ३० जुनसम्म कायम छ । उनले क्लब विश्वकपमा खेल्ने वा नखेल्नेबारे भने केही खुलाएका छैनन् ।

प्रतिक्रिया