काठमाडौँ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) ले दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको छ । २०६ रनको विशाल लक्ष्य पछ्याएको युएईले अन्तिम बल बाँकी रहँदा ८ विकेट गुमाउँदै खेल जितेको हो । यो बंगलादेशविरुद्ध युएईको पहिलो टी–२० अन्तर्राष्ट्रिय जित हो ।
कप्तान मुहम्मद वसीमको ८२ रनको विस्फोटक पारी नै युएईको जितको आधार बनेको थियो । वसिम आउट हुँदा लक्ष्य पुग्न अझै ५८ रन बाँकी थियो । त्यसपछि युएईका तल्लोक्रमका ब्याटरहरूले असाधारण धैर्यता मात्र देखाएनन्, खेलको अवस्थाअनुसार आक्रमक पनि बने । सातौँ नम्बरदेखि तलका सबै ब्याटरले कम्तिमा १ छक्का प्रहार गरे । अन्तिम ओभरमा ध्रुव पराशरले संयम देखाए भने हैदर अलीले दोस्रो अन्तिम बलमा विजयी रन बनाए । वसिम आउट भए पछि पनि युएईका सातौँदेखि १०औँ क्रमसम्मका हरेक ब्याटरले कम्तीमा १ छक्का प्रहार गरे । युएईको यो अहिलेसम्मकै शक्तिसाली देश माथिको जित हो ।
त्यो बल नो–बलबाट आएको फ्रि हिट थियो । हैदर र मतिउल्लाहबीच रन पूरा गर्ने क्रममा रनको गति सही नभए पनि बंगलादेशका तोहिद हृदोयले पहिलो प्रयासमै थ्रो नगर्दा युएईका ब्याटर २ रन पूरा गर्न सफल भएपछि नयाँ इतिहास रचिएको हो । युएईका मोहम्मद जोहाइबलले ३४ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाए । आसिफ खान १९, अलिसान सरफु १३ र ध्रुव ११ रनमा आउट हुँदा हैदर अली १५ रनमा अविजित रहे ।
बंगलादेशका नाहिद राना, राशिद हौसेन र शोरिफुल इस्लामको नाममा समान २ विकेट रह्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५ विकेटको क्षतिमा २०५ रन जोडेको थियो । बंगलादेशका तान्जिद हसनले ३३ बलमा ५९ रन प्रहार गरे । यसैगरी बंगलादेशका कप्तान लिटल दासले ३२ बलमा ४० रन प्रहार गरे । हृदोयले २४ बलमा ४५ रन प्रहार गरे । ६ बलको सामना गरेका जाकर अलीले १८ रनको योगदान गरे ।
युएईका मोहम्द जहदुल्लाहले ४ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । सागिर खानले २ विकेट लिए ।
प्रतिक्रिया