इलामको माङ्सेबुङमा व्यावसायिक कन्दमूल खेती

इलाम । कृषि क्षेत्रमा विभिन्न प्रविधि र अन्नबालीको विकाससँगै हराएको कन्दमूल खेती इलामको माङ्सेबुङ गाउँपालिकामा सुरु गरिएको छ । माङसेबुङ गाउँपालिका–६ स्थित हात्ती ढुंगे टोलका किसानले पालिकामा पहिलोपटक व्यावसायिक रूपमा सामूहिक कन्दमूल खेती सुरु गरेका हुन् ।

हात्ती ढुंगे टोलका १३ जना किसानले कृषक समूह गठन गरी व्यावसायिक कन्दमूल खेती सुरु गरेका हुन् । १४ रोपनी जग्गा भाडामा लिएर गत वर्षदेखि सामूहिक रूपमा कन्दमूल खेती सुरु गरिएको हात्ती ढुंगे कृषक समूहका अध्यक्ष प्रेमकुमार राईले बताए ।

‘यस टोलका हामी १३ जना किसान मिलेर पालिकामा पहिलोपटक व्यावसायिक कन्दमूल खेती सुरु गरेका छौँ’, अध्यक्ष राईले भने, ‘अहिले १४ रोपनी जग्गामा खेती गरिएको छ, यसलाई अझ बिस्तार गर्ने योजनामा छौँ ।’ समूहले २५ हजारमा जग्गा भाडामा लिएर खेती सुरु गरेको उनले जानकारी दिए ।
समूहले अहिले १५० बोट गिठा, ४०० बोट भ्यागुर र १६ हजार बोट बनतरुल लगाएर व्यावसायिक कन्दमूल खेती गरेको समूहका सचिव रामप्रसाद राईले बताए । ‘कन्दमूल खेतीले उत्पादन दिन सामान्यतया ३ वर्ष लाग्छ, हामीले गत वर्षदेखि मात्र सुरु गरेको हुनाले अब २ वर्षपछि मुख्य उत्पादन हुन्छ’, उनले भने, ‘यसलाई बर्सेनि बिस्तार गर्ने योजनामा छौँ ।’

हात्ती ढुंगेका किसानहरूले व्यावसायिक रूपमा कन्दमूल खेती सुरु गरेपछि कन्दमूल खेती बिस्तारका लागि माङ्सेबुङ गाउँपालिकाले १ लाख सहयोग गरेको छ । माङ्सेबुङ गाउँपालिकाले परम्परागत कन्दमूल खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत गतवर्ष गाउँपालिकाले १ लाख उपलब्ध गराएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।

‘यहाँका किसानले कन्दमूल खेती सुरु गरेपछि थप बिस्तारका लागि हामीले गाउँपालिकाबाट १ लाख सहयोग गरेका छौँ’, अध्यक्ष राईले भने, ‘उहाँहरूको खेती बिस्तार हेरेर प्रवद्र्धनका लागि आगामी वर्षमा समेत गाउँपालिकाले सहयोग गर्नेछ ।’

कन्दमूल खेती बिस्तारका लागि बिउ नजिकैको जंगलबाट नै संकलन गर्ने गरिएकाले खेती विस्तारमा सहज नै रहेको समूहका सदस्य सुरजकुमार राईले बताए । ‘हामीलाई खेती बिस्तारका लागि बिउ खोज्न पनि खासै समस्या छैन, नजिकैको जंगलमा प्रशस्त मात्रामा कन्दमूलका बिउ पाइन्छ’, उनले भने, ‘पाखो बारी र खाली जमिनलाई उपयोग गरी प्रशस्त आम्दानी गर्न सकिने देखिएपछि यसको व्यावसायिक खेतीमा लागेका हौँ ।’

गहिरो खाल्डो खनेर प्रशस्त मल राखेर एकपटक बिउ रोपेपछि पटकपटक रेखदेख समेत गर्नु नपर्ने भएकाले कन्दमूल खेती गर्न अन्य खेतीभन्दा सजिलो हुने गरेको उनले बताए ।

कन्दमूल सेवन मुटु, मिर्गौला, पाचनशक्ति, बच्चाको वृद्धिविकास र आन्द्राको समस्यालगायत गर्भवती महिला, बालबालिका र वृद्धवृद्धाका लागि पनि अतिस्वास्थ्यवद्र्धक मानिएको छ ।

प्रतिक्रिया