आठबिसकोटका ४०० घरधुरीमा खानेपानी सुविधा

रुकुमपश्चिम । आठबिसकोट नगरपालिकामा पहिलोपटक मिटर जडित खानेपानीका धारा बन्ने भएका छन् । खानेपानीलाई मितव्ययी ढंगबाट उपभोग गर्ने र सबै उपभोक्तालाई बराबर पानी वितरण गर्ने उद्देश्यले मिटर जडान सहितका धारा बन्न लागेका हुन् । सधैं खानेपानीको संकट बेहोर्नुपर्ने आठबिसकोटमा अब भने सबैको लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता वास परियोजनाअन्तर्गत खानेपानी आयोजना बन्न लागेको हो ।

आठबिसकोट नगरपालिका–७, ११ र १३ मा मिटर जडित ४३१ वटा निजी धारा बन्न लागेको वास युनिटका प्राविधिक सहजकर्ता वीरेन्द्र बटालाले जानकारी दिए । उनका अनुसार सबै वडाका आयोजनाहरूको करिब ९० प्रतिशत निर्माण कार्य सकिएको छ । सबै धाराहरू बालमैत्री भएको बताइएको छ । ४३१ घरधुरीमा खानेपानी तथा सरसफाइ लक्षित एक घर एक धारा निर्माण गर्न लागिएको प्राविधिक सहजकर्ता बटालाले बताए ।

धारामा मिटर जडान गर्दा उपभोक्तालाई जिम्मेवार बनाउने र जथाभावी पानीको प्रयोग नहुने जनाइएको छ । साथै घेरबार आरभिटी, इन्लाइन क्लोरिनेसन जडान भएकाले धारामा आएको पानीलाई फिल्टर गर्नुपर्ने वा छान्नु नपर्ने बताइएको छ । पालिकामा ६ वटा उपभोक्ता समिति गठन गरेर निर्माण गरिएको आयोजना अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । एक घर एक धाराअन्तर्गत निर्माण हुने यो आयोजनाको डिजाइन पिरियड २० वर्ष रहेको र २४ घण्टा नै धारा खुल्ला हुने छन् ।

उक्त योजनामा निर्माण हुने धारा मिटर जडित भएकोले मर्मत सम्भार कोषसमेत रहेको छ । उपभोक्ता, नेपाल सरकार फिनल्यान्ड सरकार र स्थानीय सरकार सरकारको साझेदारी लागतमा योजना सञ्चालन गरिएको हो । नगरपालिकाको ३ वटा वडामा सञ्चालित यो आयोजनामा वडा–११ मा खानेपानीसहित रिठा बहुउपयोगी सिँचाइ आयोजना पनि सञ्चालनमा आउने बताइएको छ । खानेपानीसँगै सिँचाइ पनि सञ्चालनमा आउने भएपछि किसानलाई थप राहत पुग्ने बाइएको छ । उक्त आयोजना निर्माणपछि तरकारी तथा बेमौसमी बालीनालीका लागि रिठा बहुउपयोगी आयोजना प्रभावकारी हुने स्थानीयको विश्वास छ ।

‘खानेपानी कम भएको ठाँउमा योजनाले सहज भएको छ’, वडा–१३ का अध्यक्ष टेकबहादुर थापाले भने, ‘घरघरमा धारा भएपछि सबै गाउँले अहिले ठिक छ भन्छन् । खोलाबाट पानी खानुपर्ने तथा खानेपानीको एकदमै समस्या भएको उक्त पाखा भल्म गाउँमा धारामा मिटर जडान भएपछि सहज हुनुका साथै गाउँका २९ घरपरिवार लाभान्वित भएका छन् ।’

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका र सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छताको सक्रियतामा प्रविधि मैत्री आयोजनाहरू सञ्चालनमा आएका छन् । खानेपानी तथा सरसफाइ योजना गाउँमै निर्माण भएका छन् । केही दिनअघि आफ्नै घरको आँगनमा धारा निर्माण भएको देख्दा स्थानीय दंग बनेका छन् । वडा–१३ का तिलक खड्काले भने, ‘गाउँमा खानेपानीले खुसी ल्याएको छ । नजिकै खानेपानीको मूल नभएको कारण भल्मा गाउँबासीले सदियौँदेखि खानेपानीको चरम संकट भोगे । अब भने गाउँमै एक घर एक धारा बनेका छन् । यसले हाम्रो संकट मात्रै हटेको छैन । पानीको अभावग्रस्त प्यास मेटाएको छ ।’

नगरप्रमुख रवि केसी भौगोलिक चुनौतीका कारण पालिकाका सबै घरघरमा पानी पुर्याउन नसकिएको बताए । उनले भने, ‘वडाहरूमा एक घर एक धारा सञ्चालनमा ल्याएका छौँ । स्थानीय सरकार सञ्चालनपछि नगरपालिकाको आधाभन्दा बढी क्षेत्रमा एक घर एक धारा सञ्चालन भएको छ । दातृ निकाय, साझेदारी संघसस्था र सरकारको बजेट सहयोगमा एक घर एक धारा निर्माण गरिरहेका छौँ ।’

पालिकामा पञ्चवर्षीय तथा बृहत् खानेपानी आयोजनाहरू सञ्चालनमा रहेका खानेपानीको सहज पहुँच र सबै नागरिकको घरमा खानेपानी पुर्याउने उद्देश्यसहित काम भइरहेको प्रमुख केसीले बताए । नियमित खानेपानीका ७ वटा र जीर्ण अवस्थामा रहेका ७ वटा आयोजनामर्मत तथा सम्भार गरेर खानेपानीको पहुँच बढाइने आठबिसकोट नगरपालिका वास संयोजक नरेन्द्र केसीले बताए । खानेपानी आयोजना निर्माणसँगै नगरपालिकालाई सरसफाइ स्वच्छताका सूचक पूरा गर्न वास इकाई र नगरपालिका विशेष कार्ययोजनासहित लागिरहेको संयोजक केसीले जानकारी दिए । केसीका अनुसार यो वर्षभित्र नियमित खानेपानीका ७ वटा बिस्तारित खानेपानी सुरक्षा योजना र ३ वटा वडामा अपांगमैत्री विद्यालय शौचालय निर्माण हुने बताए ।

नगर उपप्रमुख धनकुमारी शाहीले पानी आउनु केबल खानेपानी प्राप्तिको कुरा नभई गाउँको समयको व्यवस्थापनसँग जोडिएको बताइन् । शिक्षाको गुणस्तरसँग, स्वास्थ्यको स्थितिसँग र विशेषगरी महिलाको सम्मानसँग जोडिएको उनले बताइन् । शाहीले भनिन्, ‘वर्षौंदेखि स्थानीयवासीले भोग्दै आएको खानेपानीको समस्या अन्त्य हुने अवस्थामा पुगेकोमा हामी अत्यन्तै खुसी छौँ । यो योजना निर्माणका लागि सबै जनताको साथ र सहयोग महत्वपूर्ण रह्यो । अब स्वच्छ र सुरक्षित खानेपानी गाउँघरमै उपलब्ध हुने भएकाले स्वास्थ्यमा सुधार आउने विश्वास लिएका छौँ । खानेपानी योजनाको प्रभावकारी कार्यान्वयनमा पनि हामी निरन्तर निगरानी राख्छौँ ।’

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया