काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले हिमाल सरसफाइ अभियानलाई निरन्तरता दिइने बताएका छन् । बजेट अभावले रोकिएको हिमाल सरसफाई अभियानलाई निरन्तरता दिई जैविक विविधता संरक्षणमा जोड दिइने उनले बताए ।
मन्त्री शाही र प्रधानसेनापती अशोकराज सिग्देलबीच भएको भेटघाटमा मन्त्री शाहीले हिमाल सरसफाई अभियानलाई निरन्तरता दिन आग्रह गरेका थिए । हिमाल बचाउने नारासहित ६ वर्ष पहिलेदेखि नेपाली सेनाको अगुवाइमा सुरु भएको उक्त अभियानमा बजेट अभावले समस्या भएको थियो ।
मन्त्री शाहीले बजेट व्यवस्थापन गर्ने प्रतिवद्धताका साथ नेपाली सेनालाई हिमाल सरसरफाइ अभियानमा निरन्तरता दिन आग्रह गरेका थिए ।
हिमाल क्षेत्रमा पर्वतारोहीले छोडेको फोहोर हिमालमा जम्मा भएको र वातावरणीय प्रदुषण न्यूनीकरण गरी हिमालको प्रवित्रता जोगाउने उद्देश्यले भएको हिमाल सरसफाइ अभियानलाई पुनः निरन्तता दिइन उनले सेनालाई आग्रह गरेका थिए ।
नेपालमा सगरमाथा, ल्होत्से, अन्नपूर्णलगायत ८ हजार मिटरभन्दा अग्ला हिमाल स्वच्छ राख्नसके हिमाल आरोहण गर्ने पर्वतारोही बढ्ने भएकाले यस्ता पर्यटकीय सम्भावनाको क्षेत्रमा उक्त अभियान जारी राख्नुपर्ने मन्त्री शाहीले बताए ।
बजेट व्यवस्थापन भए सरकारको राष्ट्रिय कार्यक्रमलाई विशेष महत्वका साथ नेपाली सेनाले निरन्तता दिई सार्थकता तुल्याउने प्रधानसेनापति सिग्देलले बताएका थिए । नेपाली सेनाले राष्ट्रिय कार्यक्रमलगायत वन संरक्षण, निकुञ्जको संरक्षणमा महत्वका साथ कार्य गर्दै आएको उनको भनाइ छ ।
निकुञ्जहरूको सुरक्षा, निकुञ्जमा चोरी सिकारी नियन्त्रणलगायत आगलागी नियन्त्रणमा सेनाले महत्वपूर्ण कार्य गर्दै आएको छ । निकुञ्जप्रति स्थानीयको अपनत्व सहभागी पनि बढेको उनको भनाइ छ ।
वन मन्त्रालयको एकतिहाइ बजेट वन संरक्षणका सवालमा नेपाली सेनालाई खर्च गर्दै आएको छ । नेपालको वन संरक्षण तथा निकुञ्जको संरक्षणका निम्ति वन मन्त्रालयले नेपाली सेनालाई सक्दो सहयोग गर्ने मन्त्रालयका सचिव दीपककुमार खरालले बताए ।
नेपालका १२ वटा राष्ट्रिय निकुञ्ज र १ वटा आरक्षमा नेपाली सेनाले संरक्षणका लागि ठूलो योगदान गरेको छ । जैविक विविधता संरक्षण वन्यजन्तु संरक्षणका लागि नेपाली सेनासँगको समन्वय सहकार्यका साथ वन मन्त्रालयले प्रकृति संरक्षणमा जोड दिइने सचिव खरालको भनाइ छ ।
यसैगरी मन्त्री शाहीले र प्रधानसेनापती सिग्देललाई कर्णाली करिडोर र मुगुको गमगढी–नाक्चा–लाग्न सडकको निमार्णको जिम्मा नेपाली सेनाले लिई सहयोग गर्न आग्रह गरेका छन् । कडा चट्टान र निमार्णमा ढिला सुस्तीले समस्या भएका उक्त सडकमा नेपाली सेनाले जिम्मा लिए सडक निमार्णको कार्यमा छिटो हुने मन्त्रीको विश्वास छ ।
मुगु
प्रतिक्रिया