उसुको विवादले राखेपमा तोडफोड

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको कार्यकक्षमा तोडफोड भएकोमा नेपाली खेृलकुदका सरोकारवालाले भत्र्सना गरेका छन् । अहिले नेपालका उसु खेलको दोहोरो अस्तित्व छ । नेपालको कानुनी मापदण्डअनुसार कुनै सरकारी निकायमा वैधता नपाए पनि नेपाल ओलम्पिक कमिटीमा प्रतिनिधित्व गर्ने वीरबहादुर तामाङ नेतृत्वकोे टोलीले राखेपका सदस्यसचिवको कार्यकक्षमा तोडफोड गरेको आरोप लगाइएको छ ।

उनीहरूविरुद्ध कालीमाटी प्रहरी वृत्तमा पनि उजुरी दर्ता भएको जनाइएको छ । उसुका प्रशिक्षक तथा प्राविधिकरूका अनुसार सो घटनामा संलग्न समूहमा गैरखेलकर्मीहरू रहेका थिए । राष्ट्रिय खेलकुद परिषद्मा शुक्रबार अपराह्न सदस्य सचिव घिसिङको कार्यकक्षभित्र नेपाल उसु महासंघका पूर्वपदाधिकारीहरू लगायतले ज्ञापनपत्र बुझाउने क्रममा विवाद भएको थियो । विवाद बढेसँगै ज्ञापनपत्र बुझाउन गएकाहरूले घिसिङको कार्यकक्षमा रहेका टैबललगायत अन्य सामानहरू तोडफोड गरेको आरोप छ ।

गत बिहीबार मात्र राखेपले पत्रकार सम्मेलनमार्फत नेपाल उसु महासंघबाट लाक्पाछिरिङ लामाले झुटो विवरण पेस गरेर एनओसीको निर्वाचनमा सहभागी भएको भन्दै उनीसहित पौडी संघबाट अशोकरत्न वज्राचार्य, कुस्ती संघबाट समिम मियाँ अन्सारी, कबड्डी संघबाट तुलसा थापा र ह्यान्डबल संघबाट तेजबहादुर गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ र १६ अनुरूप कारबाही प्रक्रिया अगाडि बढाइने उल्लेख गरेको थियो ।

उनीहरूलाई ३ दिनभित्र सफाइ पेस गर्न राखेपले अवसर दिएको भोलिपल्ट नै लामासहितका टोलीले तोडफोड गरेको हो । घटना भएको दिन शैलेश कर्माचार्य नेतृत्वको नेपाल उसु महासंघले विज्ञप्ती जारी गर्दै त्यस गतिविधिमा आफ्ना खेलाडीहरू समावेश नभएको भन्दै उक्त कार्यको भत्र्सना गरेको थियो ।

शनिबार भने खेलकर्मी र करिब ४० खेल संघहरूले विज्ञप्ती जारी उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गरेको जनाइएको छ । इस्पोट्र्स एसोसिएसन अफ नेपाल (इसान) का महासचिव पवन कार्कीलगायत अन्य धेरै खेल संघका अधिकारीले सो घटनाको विरोध गरेका छन् ।


विवादको सुरुआत भने लामो समयदेखिकै हो । राष्ट्रिय खेलकुद परिषद्ले वीरबहादुर तामाङ नेतृत्वमा रहेको नेपाल उसु महासंघलाई विघटन गर्दै जनक बड्तौलाको नेतृत्वमा रहेको उसु संघ गठन गरेको थियो । तामाङ नेतृत्वको उसु महासंघमा रहेका दधीराम सिटौलाले राखेपको निर्णय गलत भन्दै अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले भने बड्तौला नेतृत्वको महासंघलाई नै मान्यता दिइसकेको छ ।

आफ्नै महासंघ तथा सदस्यहरूबाट असहयोग भएपछि बड्तौलाले सो महासंघको नेतृत्व छाडेका थिए । अहिलेको यो विवाद नेपाल ओलम्पिक कमिटीको विवादसँग सम्बन्धित छ । तामाङ नेतृत्वको उसु महासंघ नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा जीवनराम श्रेष्ठ पक्षमा रहेपछि मात्र परिषद्ले पत्र काटेको हो । विगतमा घिसिङ आफैँले राखेपले गठन गरेको संघका अध्यक्ष बड्तौलालाई भन्दा तामाङ नेतृत्वलाई साथ दिएका धेरै घटना छन् ।

प्रतिक्रिया