नेपाली अन्वेषक जुम्ल्याहा दाजुभाइ रामलक्ष्मणले विगत २५ वर्षमा ५१ भन्दा बढी बस्तुको अन्वेषण र उत्पादन गरेका छन् । उनीहरूको उत्पादनको चर्चा गर्दा सबै उत्पादन उत्तिकै महत्वपूर्ण छन् ।
रामलक्ष्मणले २०५८ सालमा घरेलुमा रामलक्ष्मण म्यानुफ्याक्चरर कम्पनी दर्ता गरेर ५ लाख ऋणमा काम सुरु गरेका हुन् । काठमाडौँमै चिनेका १ जना सज्जनले आफ्नो सेयर धितो राखेर त्यो ५ लाख ऋण मिलाइदिएको उनीहरूको संस्मरणमा ताजै छ । त्यसपछि २०६४ सालमा टेक्नोलोजी एन्ड सेल्स प्रालि नामको कम्पनी दर्ता गरे । पहिलेको रामलक्ष्मण म्यानुफ्याक्चर कम्पनी घरेलुमा दर्ता भएकोले हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानअनुसार नवीकरण नगर्दा त्यो कम्पनी नै खारेज भएको उनीहरूले सुनाए ।
अन्वेषण यात्रा
रामलक्ष्मणले आफ्नो अन्वेषणको यात्रा सन् १९९४ मा कोदो चाल्ने मेसिनबाट सुरु गरेका हुन् । यसलाई उनीहरूले पहिलो परीक्षण मानेका छन् । त्यसपछि उनीहरूले सन् १९९८ मा मोटर अपरेटर बनाए । यसलाई रामलक्ष्मणले पहिलो अन्वेषण मानेका छन् । सन २००१ मा आफैँ बन्द हुने पानी तान्ने पम्प ‘अटो पम्प अपरेटर फर पाइपलाइन वाटर’ बनाए । त्यसपछि सन २००२ मा कर्न सेडिङ मेसिन (मकै छर्ने मेसिन) बनाए । यो मेसिन तत्कालीन कृषिमन्त्री डा.प्रकाशचन्द्र लोहनीलाई देखाउँदा उनले अनुदान पनि आउँछ भनेका थिए तर केहीसमय पछि लोहनी मन्त्रीबाटै हटेपछि अनुदानको कुरा त्यतिकै हरायो । ४ हजार रुपैयाँ पर्ने त्यो मेसिन अनुदानविना किसान आफैँले खर्च गर्ने प्राथमिकतामा पर्न सक्ने अवस्था नभएपछि बजारमै जान पाएन ।
सन २००४ मा उनीहरूले कम्युनिटी अलार्म सिस्टम बनाए । जसको १ लाखभन्दा बढी प्रयोगकर्ता भइसकेका छन् । त्यसपछि ३ प्रकारका सप सेक्युरिटी सिस्टम (पसलमा राख्ने अलार्म) बनाए । त्यस्तै बैंक सेक्युरिटी सिस्टम पनि बनाए । त्यसपछि सेक्युरिटी अलार्म सिस्टम बनाए । उनीहरूले काठमाडौँमा चोरी घटना धेरै बढेपछि घरको ढोका खोल्दा साइरन बज्ने सिस्टम मेसिन बनाए । त्यसको प्रयोग घरका साथसाथै धेरैजसो सुन पसलमा भएको उनीहरूले बताए । न्युरोडका धेरै पसलमा त्यो सिस्टम जडान गरिएको छ । उनीहरूले अनौपचारिकरूपमा इलेक्ट्रोनिक्स शिक्षा लिएपछि यसको निर्माण गरेका थिए । सन २००६ मा उनीहरू सफ्टवेयरमा प्रवेश गरे । त्यतिबेला उनीहरूले जिपिएस ट्रयाकिङ सर्भर बनाएका थिए । जुन गाडीहरूमा राख्न प्रयोग हुन्थ्यो । सन २००७ मा बाढीको चेतावनी दिने (फ्लड वार्निङ) सिस्टम बनाए भने, सन २००८ मा लोड लिमिटर डिभाइस बनाए ।
बिजुलीको मिटर ठगी रोक्नखोज्दा आफैँ ठगिए
सन् २००८ मा नेपालमा अत्यधिक लोडसेडिङ हुने गर्दथ्यो । लोडसेडिङ कम गर्न सम्भव छ भनेर त्यतिबेलै रामलक्ष्मणले ‘लोड लिमिटर इलेक्ट्रिक हार्डवेयर मेसिन’ बनाए । ‘१८ घण्टा भइरहेको लोडसेडिङ शून्यमा झार्नुपर्छ भनेर यो मेसिन बनाएका थियौँ । यो पहिलो टेक्नोलोजी हो, जुन नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरेको (दर्ता) थियो । यसले बिजुलीको उत्पादनलाई बढाउने होइन वितरणलाई लिमिट गरेर दिने काम गर्दछ’, रामलक्ष्मण भन्छन्, ‘हामीले नेपाल विद्युत् प्राधिकरणको डेटालाई एकदमै सुरक्षित तरिकाले अध्ययन गरेका थियौँ । वर्षभरिमा हुने माग र वर्षभरीमा हुने आपूर्तिको तथ्यांक केलाएर हेर्यौँ । हामीले हेर्दा उत्पादित बिजुलीले माग धान्ने अवस्था देख्यौँ ।’ अध्ययनको क्रममा ३१ प्रतिशत बिजुली चुहावट मात्रै देखिएन कतिपय बढी बिजुली उपभोग गर्नेले सिस्टमेटिक तरिकाले छली गर्ने गरेको पनि भेटियो । जस्तो कि मिटरमा १० हजार रुपैयाँ उठ्यो तर कति युनिट छ भनेर त्यहाँ आउने कर्मचारीले लेख्ने हो । त्यहाँ सेटिङ हुने रहेछ, १० हजारको ठाउँमा १ हजार रुपैयाँ उठ्यो भनेर लेखिदिन्थ्यो ।
अर्को महिना पनि त्यस्तै, हुने रहेछ । यस्तै गर्दा १–२ वर्ष भइसकेपछि २ लाख तिर्नुपर्ने देखिएपछि मिटर बिग्रेको बाहाना गर्ने र नयाँ मिटर हाल्दिने रहेछन् । नयाँ फेरेपछि पुरानो सबै हिसाब शून्यमा झर्ने रहेछ । यसरी मिलाएर खाने गरेको पनि उनीहरूले भेटे । यसलाई नियन्त्रण गर्न उनीहरूले ५ लाख रुपैयाँ ऋण लिएर डिभाइस बनाए । पुष्कमल दाहाल ‘प्रचण्ड’ पहिलोपटक प्रधानमन्त्री हुँदा सन् २००८ मा क्याबिनेटमै गएर लोड लिमिटर इलेक्ट्रिक मेसिनबारेमा प्रस्तुति दिए । त्यसबेलाका ऊर्जा मन्त्री विष्णु पौडेलले ‘लोडसेडिङ हटाउने काम गरे भने तपाईंहरूको जिउँदो सालिक बनाउने छौँ’ सम्म भने । तर, प्रधानमन्त्री र मन्त्रीले ठीक भनेको कुरा प्रशासनिक संयन्त्रले प्रकृयामै नलगी अल्झाएपछि रामलक्ष्मणको त्यो काम बालुवामा पानी खन्याएजस्तै भयो । उनीहरूले लोडसेडिङसँग सम्बन्धित नै २ वटा इलेक्ट्रिक सप्लाइ साइड म्यानेजमेन्ट सिस्टम र लोड लिमिट डिभाइस बनाए । लोडसेडिङ कम गर्नका लागि उपयोगी मानिएका ३ उत्पादनले भने ऋण बोकाएको उनीहरूले बताए । त्यतिवेला ६ करोड रुपैयाँ डुबेको उनीहरूले सुनाए । बिजुलीको मिटर ठगी रोक्न खोज्दा आफैँ ठगिए ।
सन् २००८ मै उनीहरूले गोबरबाट बिजुली निकाल्ने प्रविधि अन्वेषण गरेका थिए । सानासाना भाडामा गोबर राखेर तार जोडेर एक ठाउँमा ल्याएर बिजुली बाल्ने यो प्रविधिका लागि ६८ जिल्लामा निःशुल्क तालिमसमेत दिएका थिए । उनीहरूले भने, ‘त्यो हामीले कक्षा ८ मा पढेको कुरा व्यवहारमा ल्याएको थियौँ । हामीले भ्याएसम्म निःशुल्क सिकायौँ ।’
सन २००९ मा उनीहरूले भूकम्पको संकेत गर्ने ‘अर्थक्विक डिडेक्टर’ बनाए । भूकम्प आउँदाआउँदै अलार्म बज्ने त्यो डिभाइस २०७२ सालको भूकम्पपछि निकै रुचाइएको थियो । त्यसपछि उनीहरूले वायरलेस कम्युनिटी रेस्क्यु साइरन बनाए ।
सन् २०१० मा उनीहरूले सफ्टवेयर सिस्टमको एटेन्डेन्स म्यानेजमेन्ट सिस्टम (हाजिरी मेसिन) बनाएका थिए । जसको अहिले पनि धेरै सरकारी तथा निजीक्षेत्रका कार्यालयहरूले प्रयोग गरिरहेका छन् । अन्वेषण काम थालेपछि उनीहरूले हालसम्म थुप्रै साना ठुला ५१ भन्दा बढी अन्वेषणका काम गरिसकेका छन् काम गरे । तर मोटर अपरेटरसँग सम्बन्धित उत्पादन जीवन मुख्य टर्निङ पोइन्ट बनेको रामलक्ष्मणको अनुभव छ ।
सरकारले किन चलाएन भोटिङ मेसिन ?
पछिल्लो समय चर्चामा रहेको एउटा उत्पादन हो विद्युतीय भोटिङ मेसिन । नेपालमा पहिलोपटक २०६४ चैत २८ मा संविधानसभा निर्वाचनका लागि काठमाडौं–१ मा विद्युतीय मतदान मेसिन प्रयोग गरिएको थियो । मोरङ–५ र ७, धनुषा–५, कास्की–१, रोल्पा–२ र कञ्चनपुर–४ मा २०६५ चैत २८ मा भएको उपनिर्वाचनमा पनि विद्युतीय मतदान मेसिन प्रयोग गरियो । त्यतिबेला भारतले दिएको मेसिनबाट विद्युतीय मतदान गरेपछि रामलक्ष्मणलाई नेपालमै भोटिङ मेसिन बनाएर मेड इन नेपाल भएको मेसिनमा मतदान गर्ने हुटहुटी जाग्यो । जसको परिणामस्वरुप उनीहरूले २०६७/०६८ मा विद्युतीय मतदान मेसिन बनाए । त्यति बेला उनीहरूले २ फरक फरक प्रकृतिका भोटिङ मेसिन बनाएका थिए ।
भोटिङ मेसिनको धेरै चर्चा भए पनि सरकारले विश्वास नगर्दा सरकारी प्रयोगमा आउन सकेको छैन । धेरेजसो संघसंस्था तथा राजनीतिक दलहरूले प्रयोग गरिसकेका छन् र रामलक्ष्मणले बनाएको द्यिुतीय भोटिङ मेसिनमार्फत १३ वर्षमा १८० भन्दाबढी विभिन्न चुनावहरू भइसकेका छन् । यसै आर्थिक वर्षमा २० वटा चुनावको लागि प्रयोग हुने कुरा भइसकेको छ । पार्टीका महाधिवेशन तथा जिल्ला अधिवेशन तथा संघ संस्थाका चुनावहरू भए पनि जुन उद्देश्यले यो मेसिन बनेको थियो त्यो अझैँ हुन नसकेको रामलक्ष्मणको दुःखेसो छ । आमनिर्वाचन तथा सरकारले गर्ने चुनावहरूमा प्रयोग गरेर सरकारले नेपाली उत्पादन भनेर प्रमाणित गरिदेओस् भन्ने रामलक्ष्मणको चाहना अझैँ पूरा हुन सकेको छैन ।
भारतले दिएको मेसिन फटाफट प्रयोगमा ल्याएको निर्वाचन आयोगले नेपाली उत्पादनलाई भने प्रयोग नल्याउनु विडम्बना नै हो । सबै खालका सुरक्षाको ग्यारेन्टी गर्दा पनि निर्वाचन आयोग र सरकार प्रयोगको लागि तयार नभएको उनीहरूले गुनासो छ । नेपाली उत्पादन नेपालमा प्रयोग गरेर मेड इन नेपाल लेखिएको मेसिन अन्य मुलुकमा पनि निर्यात गर्न सकिने सम्भावना रहेको रामलक्ष्मणले बताए । भोटिङ मेसिनमा हालसम्म उनीहरूको ८ करोड लगानी भइसकेको छ । नयाँ नयाँ भर्सन अपडेट गर्दै जानुपर्ने भएकोले यसको लगानी बढ्दै गएको हो ।
निलकण्ठ उप्रेती प्रमुख निर्वाचन आयुक्त हुँदा रामलक्ष्मणले मेसिन देखाएका थिए । सो क्रममा उप्रेतीले क्याल्कुलेटर जस्तो बनाउनुस भनेका थिए । थप मोडिफाइ गरेर लैजादा उप्रेतीले अब राजनीतिक पार्टीहरूलाई मनाउनुस् भनेर पन्छिए । ‘हाम्रो पनि मेसिन प्रयोग गर्नुहोस् भनेर डेमो देखाउन निर्वाचन आयोगमै एउटा मेसिन सेट गरेर आयौँ तर चुनाव सकिँदासम्म पनि त्यो मेसिन छोपेरै राखेपछि हामी निराश भयौँ ।’ उनीहरूले भने, ‘त्यसपछि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव आउनुभयो । उहाँलाई पनि बुझाउने प्रयास गर्यौँ । भने अनुसार प्रिन्ट गर्ने अप्सन पनि राख्यौँ । त्यो मेसिन भित्र बल्क सिस्टम राख्यौँ । एकपटक हालेको भोट अरूले परिवर्तन गर्न नसक्ने गरी डिजिटल हस्ताक्षर पनि राख्यौँ । त्यसपछि पनि प्रयोगमा आएन ।’
नेताहरूको पुरातनवादी सोचको कारण पनि नेपाली भोटिङ मेसिन प्रयोगमा ल्याउन समस्या भएको रामलक्ष्मणको बुझाइ छ । जस्तै नेकपा एमालेको २०७३ सालमा सम्पन्न महाअधिवेशनमा भोटिङ मेसिन प्रयोग गर्ने सम्झौता भइसकेपछि एकाएक सम्झौता नै भंग भयो । कुनै नाता सम्बन्ध नभए पनि एमाले नेता विष्णु रिमालसँग थर जोडेर पनि बढी हल्लीखल्ली भएको उनीहरूको बुझाइ छ ।
०००
एटिएमको ट्रान्जिक्सन सेक्युरिटी लेयर भन्ने सफ्टवेयर तथा हार्डवेयरको विकास पनि यिनै दाजुभाइले गरे । एटिएम मेसिनहरूबाट रकम चोरीका घटना बढ्दै गएपछि उनीहरूले यो सिस्टम बनाएका हुन् । एटिएमबाट हुने चोरी शून्य बनाउन सकिने रामलक्ष्मणले बताए । अझै पनि नेपालमा यो पूर्णरूपमा लागू हुन नसकेको उनीहरूको भनाइ छ ।
उनीहरूले हाइड्रोपावर तथा सेन्सेटिभ स्थानहरूमा प्रयोग गर्न मिल्ने एक्सेस म्यानेजमेन्ट सिस्टम बनाए । त्यस्तै, उनीहरूले टास्क म्यानेजर भन्ने सफ्टवेयर बनाए । जिपिएस नेपाल पनि बनाएका उनीहरूले बस कुन ठाउँमा पुग्यो भनेर ओर्लने यात्रुलाई जानकारी दिने सिस्टम पनि बनाए जुन सहरमा चल्ने बसमा प्रयोग पनि गरिएको छ ।
सार्क सम्मेलनमा प्रयोग भएको जामर
२०१४ मा नेपालमा सार्क सम्मेलन हुँदा सार्क मुलुकका राष्ट्रप्रमुख आउँदा हुने सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखेर सरकारले ‘नेटवर्क म्युट’ (कुनै पनि नेटवर्क नचल्ने) सिस्टम भएको जामर भेहिकल खोजेको थियो । उनीहरूले १५ दिन लगाएर जामर मेसिन बनाएको बताए ।
त्यसबेला १ हजार २०० वाटको जामर मेसिन गाडीमै सेट गरिएको थियो । त्यो मेसिन उनीहरूले ५ करोडभन्दा अलि बढी रकममा बेचेको थियौँ । जामर बनाउनका लागि कन्सेप्ट आफूहरूले बनाएको र इलेक्ट्रिक इन्जिनियरको सहयोगमा काम गरेकोले छोटो समयमा नै बनाउन सफल भएको उनीहरूको अनुभव छ । जामर बनाउने सामान मलेसिया र चीनबाट ल्याएको र त्यो १२ दिन त राती पनि नसुतेर काम गरेको उनीहरूको स्मरण ताजै छ । त्यो मेसिनले काम गरे मात्र भुक्तानी लिने भनेकाले पनि काम बढी चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ । रामलक्ष्मणले ५ वर्षको ग्यारेन्टी दिएको त्यो मेसिन १० वर्षसम्म पनि बिग्रिएको छैन । हाल उक्त जामर मेसिन एमबिबिएसको परीक्षामा चिट चोर्न रोक्नका लागिसमेत प्रयोग हुँदै आएको छ । हाल नेपाल प्रहरीसँग त्यहि एउटा मात्रै जामर मेसिन रहेको बताइन्छ । केहीसमय अगाडि चीनका राष्ट्रपति नेपाल आउँदा पनि त्यहि जामर मेसिन प्रयोग भएको थियो ।
यो जामर मेसिनको काम गरेपछि अहिले रामलक्ष्मणलाई सरकारी काम गर्न इच्छा लागेन् । उनीहरूले ऋण खोजेर जामर बनाए पनि सरकारले भुक्तानी ६ महिनापछि दिँदा निकै तनाव भएको उनीहरूले बताए ।
त्यस्तै उनीहरूले सन २०१४ मै इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (जुन स्थानीय तहहरूले प्रयोग गरिरहेका छन्) बनाए । त्यस्तै, जिपिएस हिस्ट्री ट्रयाकिङ सिस्टम पनि उनीहरूले बनाए । सन २०१५ देखि रामलक्ष्मण ग्रुप मोबाइल एपमा प्रवेश गरेको हो । रामलक्ष्मणले सो समयमा ‘लेट्स् गो’ भन्ने मोबाइल एप बनाएका थिए । तर, त्यो कोरोना महामारी पछि बन्द भयो । सार्वजनिक यातायातका साधानहरू जस्तै बसहरू कहाँ कहाँ पुग्यो भनेर हेर्न मिल्ने यो सिस्टम उनीहरूले साझा यातायातलाई निःशुल्क दिएका थिए ।
सन् २०१५ मै उनीहरूले मौसम मापन केन्द्रको मनिटरिङ गर्ने सफ्टवेयर बनाएका थिए । जुन नास्टले पनि प्रयोग गरिरहेको छ । त्यसपछि उनीहरूले क्यान नेपालको लागि डकुमेन्ट अर्काइभिङ सिस्टम र डकुमेन्ट म्यानेजमेन्ट सिस्टम बनाए ।
सन २०१६ मा एम्बुलेन्स नेपाल मोबाइल एप बनाए । जुन अहिले पनि चलिरहेको छ । त्यस्तै, ट्याक्सी नेपाल एप, ल्यान्ड डिस्प्यालेसमेन्ट मेजरमेन्ट सिस्टम, वाटर लेवल सेन्सर हार्डवेयर, बस एडभर्टाइजमेन्ट सिस्टम सफ्टवेयर, कल भेरिफिकेसन सिस्टम पनि उनीहरूले नै निर्माण गरेका हुन् ।
००००
कर्फ्यु तोड्ने रोबोर्ट
रामलक्ष्मणले नेपाली रोबर्ट पनि बनाएका छन् । उनीहरूले २०६२–०६३ को आन्दोलन ताका सरकारले कर्फ्यु जारी गरेपछि उनीहरूले बनाएको रोबर्टले कफ्र्यु तोडेकोसमेत सुनाए । गंगबुदेखि सामाखुसी चोकसम्म खाली सडकमा रमाइलोका लागि मात्रै रोबर्ट हिँडाएको उनीहरूले बताए । उनीहरूले भने, ‘आन्दोलनको कारण काम केही थिएन, हामीले के गर्ने भन्दा भन्दै रोबर्ट बनाउने भन्ने सोच आयो, हामीले बनाएर बाटोमा हिँडायौँ ।’ आँखा नदेख्नेहरूले पनि भोट गर्ने सिस्टम पनि बनाएका उनीहरूले कामदारहरूले काम गरेको ट्रयाकिङ गर्ने सफ्टवेयर पनि बनाए छन् ।
उनीहरूले कोरोना माहामारीको समयमा धेरै चलेको थर्मल गन जस्तै एकैपटक २०० जनासम्मको ज्वरो (तापक्रम) नाप्ने मेसिन थर्मोग्राफिक क्यामेरा पनि बनाएका थिए । त्यो क्यामेरा सिंहदरबारको गेटमा राखिएको थियो । संसद्मा, परीक्षा बोर्ड लगायतका स्थानमा त्यो क्यामेरा राखिएको उनीहरूले सुनाए ।
यो ‘थर्मोग्राफिक क्यामेरा’ प्रमाणित गराउन निकै संघर्ष गर्नुपरेको उनीहरूले बताए । ‘कोभिडको समयमा सिस्टम बनायौँ । कुनै पनि सरकारी निकायले त्यो मेसिन प्रमाणित गर्न नमानेपछि अन्तिममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २०० जनाको जरो नाप्ने र थर्मोमिटरले पनि नाप्ने मिल्यो भने अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गर्ने भन्यो ।’ उनीहरूले भने, ‘यो प्रकृया पूरा गर्न ३० दिन लागेको थियो । यो मेसिनबारे अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएपछि जापानको पत्रिकाले पनि प्रकाशित गरेछ । त्यसपछि यो उत्पादन नै पहिलो बन्यो नेपालबाट जापान पाठाइएको इलेक्ट्रनिक्स डिभाइस । जापानका धेरैजसो व्यापारिक कम्प्लेक्सहरूमा प्रयोग भयो ।’ राम लक्ष्मणले भने हालसम्म जापान टेकेका छैनन् ।
त्यस्तै एटिएम फ्रडडेटिकेसन सिस्टम, बस बुकिङ सिस्टम, कस्टुमर फिडब्याक सिस्टम, स्थानीय तहहरूले प्रयोग गरिरहेको अपांगता भएकाहरूको परिचय पत्रको सिस्टम, कम्युनिटी साइरन मोबाइल एप, क्यान्डिडेट म्यानेजमेन्ट सिस्टम सफ्टवेयर पनि उनीहरूकै उत्पादन हुन् ।
घरको डिजिटल नम्बर प्लेट : कता हो ?
सन् २०१९ बाट काम सुरु गरेका उनीहरूले हालसम्म कता हो ? एप तथा सफ्टवेयरको काम गरिरहेका छन् । डिजिटल एड्रेसन सिस्टम विश्वकै नयाँ भएको उनीहरूको दावी छ । उनीहरूले भने, ‘नेपालमा ठेगानाको ठुलो समस्या छ, एउटै नाम गरेका धेरै स्थानीय तहहरू छन्, गाउँ छन्, चोक चोक छन् । ठेगाना पत्ता लगाउन साह्रै ठुलो समस्या पर्ने गरेको छ । हामीले ठेगाना नदोहोरियोस् भनेर डिजिटल ठेगाना बनाइरहेका छाँैँ ।’ उनीहरूले बनाएको मध्ये अहलिेसम्मकै यो सबैभन्दा ठुलो र बढी समय लगाएको काम हो यो ।
यसले खास ठेगाना देखाउँछ । मानिस जंगलमा हरायो, कतै सडकमा हरायो भने जहाँ मानिस छ सोही ठेगाना नेपाली भाषामै देखाउन कता हो एपले सहयोग गर्छ । एउटा कोड भन्ने बित्तिकै ३ सेकेन्डमा ठेगाना पत्ता लाग्छ । यो एप अन्तर्राष्ट्रियरूपमा पनि काम लाग्छ । निर्माणकै चरणमा रहेकोले हाल खासै व्यावसायिक रूपमा नगए पनि स्थानीय तहहरूसँग छलफल भइरहेको उनीहरूले बताए । कोडअनुसार ठेगाना सेट गरिने सो एपमा १६ अर्ब कोडको ठेगाना तय भएको उनीहरूले बताए । यसको लागि नक्साको सहयोग स्याटलाइटबाट गरिएको उनीहरूले सुनाए ।
सन् २०२१ मै ट्राफिक बत्तीको पनि काम गरेका उनीहरूले हालसम्म काठमाडौँका १३ ठाउँमा ट्राफिक लाइट जडान गरिदिएका छन् । यो काम उनीहरूले ठेकेदार कम्पनीमार्फत नै गरेका हुन् । रामलक्ष्मणका अनुसार उनीहरूले एम्बुलेन्सको ट्रयाकिङ गर्ने सफ्टवेयर पनि बनाएर हस्तान्तरण गरिसकेका छन् ।
त्यस्तै, जापानको लागि लग काउन्टिङ सिस्टम पनि बनाएका छन् । यो एआईमा आधारित प्रविधि हो । जापानी कम्पनीको मागअनुसार बनाएको यो प्रविधिले मुढाहरू गाडीबाट निकाल्दा वा लोड गर्दा गन्ने काम हुन्छ । यो सफ्टवेयर जापानमा रोबर्टमा हालेर सफलतापूर्वक काम गरिरहेको छ । त्यस्तै, रामलक्ष्मणले इमेरजेन्सी रेस्पोन्स सिस्टम (एआरसी) पनि बनाएका छन् । यसमा एउटा हार्डवेयर डिभाइस हुन्छ । कता हो एपको माध्यमबाट यसमा कनेक्सन हुन्छ ।
कुनै एक पालिकाले यो प्रयोग गरेका छन् भने त्यो पालिका भित्र कुनै मानिसलाई समस्या पर्यो भने कता हो एपमार्फत त्यसमा जानकारी दिन सकिन्छ । नगरपालिकामा वा इआरसी डिभाइस राखिएको ठाउँमा अलार्म बज्छ, ठाउँ पनि देखाउँछ । यो विपतअन्तर्गत जडान गर्न सकिन्छ । कता हो एप र यो इआरसी डिभाइसको काम हाल काठमाडौँको तारकेश्वर नगरपालिकामा भइरहेको छ ।
२५ वर्षदेखि निरन्तर व्यावसायिक अन्वेषणमा लागेका रामलक्ष्मणले वार्षिक ५ करोड हाराहारीमा कारोबार गर्छन् । कोरोनाभन्दा अगाडि कुनै समय १२ करोडभन्दा बढीकोसमेत कारोबार भएको उनीहरूले सुनाए । हाल रामलक्ष्मण ग्रुपअन्तर्गत ३८ जनाले काम गरिरहेका छन् ।
निर्यात
रामलक्ष्मणले जापानजस्तो विकसित मुलुकमा ३ वटा उत्पादन निर्यात गरेका छन् । उनीहरूले समूहमा ज्वरो (तापक्रम) नाप्ने क्यामेरा, गाडीमा लोड गर्दा मुढा गन्ने मेसिन र बुढाबुढीलाई औषधि खुवाउने मेसिन निर्यात गरेका छन् । १०० वर्षभन्दा बढीका बुढाबुढी मानिसहरूलाई औषधि खुवाउन एआइमार्फत चिन्ने काम गर्न रोबर्टबाट काम गर्न रामलक्ष्मणको उत्पादनले सहयोग पुर्याउँछ ।
जसमा सफ्टवेयर रोबर्टमा सेट गरेर मानिसको अनुहार सेट गरिएको हुन्छ । कुन समयमा औषधि कसलाई खुवाउने भन्ने त्यसमा सेट भएपछि काम गर्छ । जापानको सिको इन्जिनियरिङ कम्पनीमार्फत त्यो काम गरिएको रामलक्ष्मणले बताए । जापानकै लागि चरा भगाउने मेसिन पनि बनाएको रामलक्ष्मणले बताए । उनले भने, ‘पावर लाइनमा चरा बस्यो भने लाइटको माध्यमबाट चरा भाग्छ, लाइनमा फोहोर गर्न पाउँदैन ।’
सरकारको सहयोग
सरकारले नीतिगतरूपमा भनेका कुराहरू कार्यान्वयन नगरेकोमा रामलक्ष्मणको चित्त दुःखाइ छ । उनीहरूले सरकारसँग सिधै सहयोग माग्न नगएको र जान पनि नजाने बताए । नीतिगतरूपमा अन्वेषणको क्षेत्रमा लेखेका तथा भनेका कुराहरू कार्यान्वयन गर्न सरकारसँग उनीहरूको आग्रह छ । सरकारको उदाशीनताले गर्दा नेपालको अन्वेषण जनशक्ति बिदेशिन बाध्य छ । डिजिटल एड्रेसन सिस्टमको विषयमा कुरा गर्न जाँदा सरकारी अधिकारीको एउटै प्रश्न हुन्छ ‘यो विदेशमा कहाँ चलेको छ ?’ नेपालमै उत्पादन भएको कुरालाई विश्वास गर्न नसक्नु नै मुलुकका लागि अभिशाप भइरहेको उनीहरूको बुझाइ छ ।
००००
उनीहरूले सरकारी काम गर्न छोडेको १० वर्ष भएको छ । अस्वस्थ प्रतिष्पर्धा, लेनदेन गर्नुपर्ने तथा समयमै भुक्तानी नहुनेजस्ता अनेकौँ झन्झटले गर्दा उनीहरूले सरकारी काम छाडेका हुन् । उनीहरूका अनुसार विदेशीसँग प्रतिष्पर्धा गर्न नेपाली उत्पादनलाई फलामको चिउरा चपाएजस्तै हो ।
नेपाली उत्पादनमा विदेशी भन्दा राम्रो भए पनि यहाँ त्यसलाई हेर्ने दृष्टिकोण नै गलत छ । विदेशी सामान भनेपछि जस्तो भए पनि आँखा चिम्लेर सरकारी निकायहरूले पनि स्वीकार गरिदिने तर नेपाली उत्पादनलाई वास्ता नगर्ने प्रवृत्तिले नेपालमा केही गरौँ भन्ने युवाहरू पनि हरेस खाएर पलायन हुने गरेको रामलक्ष्मणले सुनाए ।
राष्ट्रिय परिचय पत्र, इम्बोस्ड नम्बर प्लेटमा पनि विदेशी कम्पनीहरूले थ्रुप्रै फाइदा लिए पनि झन्झटिलो भइरहेको उनीहरूको भनाइ छ । रामलक्ष्मणका अनुसार सवारी साधनमा राख्ने इम्बोस्ड नम्बर प्लेटमा नेपाली अक्षर नै लेख्न सकिन्छ । रामलक्ष्मणले भने, ‘इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्न सक्ने हाम्रो अवस्था छ, तर हामीले त्यो काम पाउने अवस्थामा नै छैनौँ । त्यसको टेन्डर नै विदेशीलाई दिने गरी खोलिन्छ हामीले कहाँ पाउछौँ ।’ नेपालमा सस्तोमै हुने काम पनि विदेशीलाई महँगोमा दिने प्रवृति गलत भएको उनीहरूको भनाइ छ ।
उनीहरूले डिजिटल भोटिङ मेसिन र डिजिटल एड्रेसन सिस्टम (डिजिटल ठेगाना) नेपाल सरकारले मान्यता नदिएमा विदेशी कम्पनीमार्फत विदेशमै लाने योजना बनाएका छन् । रामलक्ष्मणले भने, ‘हामीले गरेका हरेका उत्पादनमा नेपालमा बनेको (मेड इन नेपाल) भनेर लेख्ने ठुलो धोको छ । नेपालमा बनेको प्रविधि तथा उत्पादनमा नेपाली लोगो लागेर विदेशमा पठाउने धोको सरकारले पूरा हुन दिएन भने वाध्य भएर विदेशीलाई दिने अवस्थामा पुग्ने छौँ । कुनै कम्पनीसँग सहकार्य गरेर हामी उताबाट जाने प्रकृया गर्नेछौँ ।’ डिजिटल एड्रेसन सिस्टममा हालसम्म ७ करोड खर्च भएको छ, भने भोटिङ मेसिनमा ८ करोड रुपैयाँ खर्च भइसकेको उनीहरूको भनाइ छ । डिजिटल सेक्युरिटी सिस्टमको लागि काम गरिरहेको उनीहरूले आगामी दिनको लागि एआइमा आधारित उत्पादनहरूमा जोड दिने तयारी गरिरहेका छन् ।
याे पनि – राम–लक्ष्मणको रामकहानी
प्रतिक्रिया