जलवायु परिवर्तनका असरहरूसँग अनुकूलन तथा न्यूनीकरण गर्न, जैविक विविधता संरक्षण कार्यमा टेवा पुर्याउन सिमसार क्षेत्र संरक्षणले ठुलो योगदान गरेको छ ।
देउखुरी । दाङको घोराही उपमहानगरपालिका–१ र २ मा पर्ने चेपे जलाशय घोराही–सिमलतारा सडकको छेउमा २०७३ सालसम्म सानो खोल्सो थियो । रामपुरबाट पूर्वतिर जाने साना ट्याक्सी अप्ठ्यारो साँघुरो बाटोका कारण सोही खोलामा खस्दा धेरै मानिस घाइते हुन्थे । झन्डै साढे ७ बिघा क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्र (स्थानीय भाषामा चेपे सोतो) स्थानीय मानिस तथा पशुपक्षीको खानेपानी तथा मौसमी सिँचाइको स्रोत थियो । संरक्षणको अभावले पुरिँदै जाँदा सिमसार क्षेत्रको अस्तित्व नै संकटतिर धकेलिएको थियो । यसले गर्दा स्थानीयलाई खडेरीमा त परै जाओस् बर्खामा समेत आवश्यक पर्ने पानीको अभाव पूर्ति गर्न मुस्किल भएको थियो ।
२०७४ को स्थानीय निर्वाचनपछि स्थानीय अगुवा तथा स्थानीय सरकारको पहलमा चेपे ड्याम तथा सडक विस्तार भएको स्थानीय बताउँछन् । घोराही उपमहानगरपालिका र स्थानीय समुदाय यो सिमसार क्षेत्रको संरक्षणमा जुटेपछि अहिले चेपे तालको नामले परिचित छ । यो ताल अहिले स्थानीय ८०० घरपरिवारको जीविकाको आधार मात्र बनेको छैन, जलचर संरक्षण, पर्यावरण संरक्षण तथा वन्यजन्तुको प्यास मेटाउने र आन्तरिक तथा बाह्य पर्यटकको घुमघामको थलोसमेत बनेको छ ।
रामपुर गाउँको वरिपरि खोला, नदी र पानीका स्रोत छैनन् । पहिले सिँचाइको समस्याले गर्दा खेती गर्न गाह्रो थियो । अहिले तालले गर्दा वरिपरिका सबै किसानले कृषि उत्पादन तथा आयआर्जन बढाएको स्थानीयको भनाइ छ । ७८ वर्षीय भीमबहादुर चौधरी बाल्यकालको गाउँ सम्झँदै भन्छन्, ‘चेपेखोला खोलाजस्तो थिएन । सानो खोल्सो थियो । फागुनदेखि जेठ असारसम्म पानीको अभाव हुन्थ्यो । खानेपानी हँुदैनथ्यो, खेती गर्ने कुरै भएन ।’
उनका अनुसार गाउँलेहरू सबै गाग्री बोकेर खोल्साको पानी ल्याउँथे र खान्थे । पानी नहुँदा वर्षाको पानीको अवसर छोपेर धान रोपाइँ गरेको उनलाई सम्झना छ । २०७४ सालमा चेपे सोतालाई जलाशय बनाउन संरक्षण गर्ने कुरा उठेपछि आफूले तालसँग सटेको जमिन जलाधार निर्माण गर्न दिएको उनले बताए । ‘अब तरकारी र अन्न बाली लगाउन वर्षात्को पानी कुरिरहनु पर्दैन । गत वर्ष असारसम्मै पानी नपर्दा पनि तालको पानीले सिँचाइ गरी धान रोपेका थियौँ’, उनले भने ।
उपमहानगरपालिकाकै सुर्केडाङीस्थित नवयुग टोल विकास संस्थाका अध्यक्ष सोमप्रसाद सुवेदीका अनुसार सानो सोतालाई सबैजना मिलेर ठूलो जलाशय बनाएका हुन् । १५ मिटर गहिरो तालले अहिले ८०० घरधुरीका २०० बिघा जमिनलाई सिँचाइ सुविधा पुगेको छ । जमिनमा सिँचाइको सुविधाले खेतीपातीलाई मात्रै होइन, चराचुरुंगी, जीवजन्तु सबैको पानीको समस्या समाधान भएको छ । गाउँका युवा सबै खेतपातीमा लागेका छन् । रोजगारीका लागि विदेश जानेको संख्या कम छ । ‘एकै याममा काउली, बन्दा र गोलभेँडा खेती गरेको सुर्केडाङी गाउँबाट झन्डै २ करोड रुपैयाँको तरकारी बिक्री भएको छ’, उनले भने ।
वर्षात्का बेला चुरे पहाडदेखि बग्दै आएको पानीलाई तालमा जमाउने व्यवस्था गरिएको छ । गाउँमा सिँचाइ गर्नका लागि पानी निकासको बाटो राखिएको छ । चेपे तालमा हिउँदका बेला पानीको कमी भयो भने पम्पसेटको प्रयोग गरेर पनि तान्ने गरिन्छ ।
चेपेताल संरक्षण समितिका अध्यक्ष एवं घोराही उपमनपा–१ का अध्यक्ष राममणि पाण्डेले भन्छन्, ‘तालको अस्तित्व नै संकटमा गएको बेला यसको संरक्षणबाट हुने फाइदाका विषयमा स्थानीय समुदायसँग छलफल भयो । सुरुमा यहाँका स्थानीयले सहयोग गर्नुभएन सबैलाई पछि हुने फाइदाको बारेमा जानकारी गरायौँ, स्थानीयले तालको माथिल्लो भागमा बस्ने स्थानीयले बस्ती डुबानमा पर्ने खतरा रहेको भनेर विरोध गरे’, उनले भने, ‘केही समयको विवादपछि उनीहरू सहमतिमा आए र छेउछाउका जमिन चेपे ताललाई दिए । सिमेन्ट, बालुवाबिना प्राकृतिक तरिकाले माटोको आधार बनाई संरचना तयार भएको छ ।’
घोराही उपमहानगर र लुम्बिनी प्रदेश सरकारको सहयोगमा ताल मर्मतसँगै संरक्षण गरिएको हो । अहिले रामपुरवासीहरूले परम्परागत बालीको उत्पादकत्व बढाउनेदेखि नयाँ कृषि उत्पादनसमेत थप्न र तालमा माछापालनसम्मका काम थालेका छन् । तालको विस्तारसँगै भएका परिवर्तनले गर्दा यो ताल पर्यटकीय आकर्षण र चर्चाको विषय बन्न थालेको उनको भनाइ छ ।
कृषि उत्पादनमा वृद्धि
घोराही उपमहानगर–१७ कर्जाहीमा ५ वर्षअघिसम्म कुनै जलाशय नहुँदा सुक्खापन बढेको थियो । गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्रको संरक्षणका लागि प्रदेश र स्थानीय सरकारले १ करोड रुपैयाँ लागत र स्थानीयको पहलमा २०७७ सालमा जलाशय बनाएका थिए । ६ मिटर गहिराइसहित झन्डै २ बिघामा फैलिएको यो जलाशयबाट ९५ बिघा जमिनमा सिँचाइ सुविधा पुगेको छ ।
कर्जाहीका ५५ वर्षीय जीवन चौधरीको पेसा खेतीपाती हो । उनले ४ वर्षदेखि आफ्नो १ बिघा र भाडाको ९ कट्ठा जमिनमा व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका छन् । पछिल्लो समय बाह्रै महिना तरकारीखेती गरेर मासिक ६०÷७० हजार रुपैयाँ आम्दानी गर्ने गरेको उनले बताए । ४ वर्ष अघिसम्म गाउँमा व्यावसायिक खेती हुँदैनथ्यो । कर्जाहीको जलाशय विस्तार भएपछि मात्रै पानीको पहुँचसँगै मानिसहरू खेतीपातीमा आकर्षित भएका छन् ।
ताल संरक्षणसँगै अप्रत्यक्ष रूपमा वातावरण संरक्षण र प्रत्यक्ष रूपमा जीविकोपार्जनलाई जोड्ने कामले खेतीपातीमा सहजता थपिएको चौधरीको भनाइ छ । स्थानीयलाई माछापालन, प्राकृतिक कृषिसम्बन्धी तालिम, ज्ञान, सीप दिने र बजारसम्म जोड्ने काम अभियान घोराहीले गरेको छ । कर्जाही गाउँबाट दैनिक ५० हजार रुपैया बराबरको तरकारी बिक्री हुने गरेको छ । कर्जाही ड्याम लिफ्ट सिँचाइ आयोजनाका अध्यक्ष परशु चौधरीका अनुसार गाउँका २५० घरधुरीका ९५ बिघा जमिनमा सिँचाइ सुविधा पुगेको छ । अहिले बाह्रै महिना किसान खेतबारीमा मात्रै भेटिन्छन् ।
महिलाको आम्दानीमा वृद्धि
ताल संरक्षणसँगै अप्रत्यक्ष रूपमा वातावरण संरक्षण र प्रत्यक्ष रूपमा जीविकोपार्जनलाई जोड्ने कामले खेतीपातीमा सहजता थपिएको किसानहरू बताउँछन् । उनीहरू माछापालन, प्राकृतिक कृषिसम्बन्धी तालिम, ज्ञान, सीप दिने र बजारसम्म जोड्ने काम र अभियानमा जोडिएका छन् । जैविक मल तथा झोल मल बनाउने र प्रयोग गर्ने तरिकाहरू सिकेपछि गाउँमा रासायनिक मल तथा विषादीहरूको प्रयोग घट्दै गएको छ । बिउ छर्नेदेखि गोडमेल गर्ने, बाली भित्र्याउने र उत्पादनलाई बजारसम्म पुर्याउने काममा पालिकाले सहयोग गर्दै आएको छ ।
थारू समुदायका महिलाहरूले परापूर्वकालदेखि बुन्दै आएको ढकिया, गुन्द्री, बीणा, पटकी, चटार्ई बुनेर व्यावसायिक बनेका छन् । यसले उनीहरूको सीप आयआर्जनको माध्यम बनेको छ । गुन्द्री र पटकी बुन्न प्रयोग हुने गुँद (एक प्रकारको झार) पानी भएको स्थानमा मात्र लगाउने गरिन्छ । हातले बुनेका वस्तु बिक्री गरेर महिलाहरूले आम्दानीको माध्यम बनाएको र यसबाट घरखर्च चलाउन सजिलो भएको स्थानीय रिता थारू बताउँछिन् ।
सिमसार संरक्षणले नयाँ जीवन
जमिनको सतहलाई आंशिक तथा पूर्ण रूपले पानीले ढाकिएको क्षेत्र सिमसारमा वार्षिक वा केही समयसम्म पानी जम्मा हुनेगर्छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरका जलाधार निर्देशक शिवराम अधिकारी सिमसार संरक्षणले सिँचाइ व्यवस्थापन घरायसी प्रयोग, मत्स्य तथा घरेलु जनावर पालनका लागि उपयोगी भएको बताउँछन् । सिमसार संरक्षण तथा व्यवस्थापन गर्दै आएकाले हिउँद÷गर्मी मौसमको समयमा पानी सञ्चय, नवीकरण र उपयोगमा सघाउ पुर्याउने उनको भनाइ छ ।
जमिनको भित्री भागमा पानी सञ्चितीकरण गरी कल बोरिङ तथा कुवाको खानेपानीको सतहलाई घट्न नदिने काम भएको छ । स्थानीय तथा बसाइँसराइ गर्ने प्रजातिहरूको बासस्थान सुरक्षित गर्न पानीको पूर्ति भएको छ । उनले भने, ‘जलवायु परिवर्तनका असरहरूसँग अनुकूलन तथा न्यूनीकरण गर्न, जैविक विविधता संरक्षण कार्यमा टेवा पुर्याउन सिमसार क्षेत्र संरक्षणले ठूलो योगदान गरेको छ । वातावरणीय सेवा भुक्तानीको अवधारणा विकास गर्न, भूमिगत जलस्रोतको सतह वृद्धि भएको, जमिनमा चिस्यान फैलाई खेतीयोग्य जग्गाको उर्वराशक्ति वृद्धि गरी किसान लाभदायी भएको गाउँको सौन्दर्यीकरणमा थप योगदान पुगेको छ ।’
पहिले हिउँद सुरु भएसँगै गाउँबाट पर रहेका खोला, खोल्सा र नदीमा पुर्याएर गाईवस्तुलाई पानी खुवाउनु पथ्र्यो । अहिले तालमै पानी प्रशस्त हुन थालेपछि गाउँमा सुकेका मुहानसमेत रसाउन थालेका छन् । ताल संरक्षणपछि घरको इनारको पानी पहिलेभन्दा माथिको सतहमा आइपुगेको स्थानीय भौना चौधरीको अनुभव छ । ताल संरक्षणपछि गाउँ वरिपरिको जमिनमा प्राकृतिक पुनःभरण भएसँगै जमिन ओसिलो एवं उर्बर भइरहने र बाली उब्जाउमा वृद्धि भएको उनले बताए । अहिले पानीमा आश्रित जलचर जीवहरू र जंगली जनावर तथा चराचुरुंगीको संख्यासमेत बढेको छ । सुक्खायाममा वन जंगलमा डढेलोको जोखिम अत्यधिक हुने गरेको र यसबेला आगलागीे नियन्त्रणका लागि तालकै पानी प्रयोग गर्न सकिन्छ ।
सिमसार संरक्षणले दाङमा पछिल्ला वर्ष आगन्तुक चराको संख्या बढेको छ । सिमसार र जलाशयहरू चराहरूका लागि उपयुक्त बासस्थान बन्न पुगेका छन् । नदी तलाउमा चिसो छल्न र खानेकुराको खोजीमा हरेक वर्ष हिउँदे आगन्तुक चरा आउँछन् । दाङमा पाइने चरा र आगन्तुक चराका बारेमा अध्ययन गर्दै आएका चिरञ्जीवी खनालले कृत्रिम जलाशय, सीमसारसँगै नदी आसपासमा विदेशी आगन्तुक चराको उपस्थिति लोभलाग्दो रहेको बताए ।
चीन, पूर्वी युरोप, मंगोलिया, रुस, साइबेरिया तथा कोरियालगायतका ठाउँबाट चिसो छल्न चरा नेपाल आउने गर्दछन् । कुनै समय सुक्खा ठाउँ अहिले जलमग्न भएका छन् । चरा असोज तथा कात्तिकमा आइपुग्ने र बढीमा ६ महिनासम्म बस्ने गर्दछन् । दाङमा २८ प्रजातिका जलपक्षी पाइन्छन् । कृत्रिम जलाशयले गर्दा चराको बासस्थान भएको खनालको भनाइ छ । कृत्रिम ताललाई भविष्यमा अझै प्रवद्र्धन गर्दै जलपक्षीको पनि संरक्षणमा लाग्नुपर्ने उनले बताए । नेपाल पक्षीविद् संघका अनुसार गतवर्ष गरिएको जलपक्षी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्रअन्तर्गत ८४ साना क्षेत्रमा ७९ प्रजातिका ६३ हजार ९०० जलपक्षी छन् । ती चराको संरक्षण गरेर बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने भए पनि नेपालमा जलपक्षीको गणनाबाहेक अरू काम हुन नसकेको विज्ञहरूको भनाइ छ ।
उपमहानगरको सराहनीय प्रयास
घोराही उपमहानगरले २०७५/०७६ मा ताल संरक्षण गर्न सुरु गरेको हो । अहिलेसम्म ४३ वटा बनिसकेका छन् । तालबाट वर्षाको पानी जम्मा गरी हिउँदमा खेतीमा सिँचाइ गर्न सजिलो हुनाका साथै स्थानीयको आयआर्जनमा सहयोग पुगेको नगरप्रमुख नरुलाल चौधरी बताउँछन् । पालिकाले संरक्षण गरेका ताल हेर्न आउने स्थानीय र बाह्य पर्यटक आउने भएकाले त्यस क्षेत्रमा सञ्चालन भएका होटल, पसलहरू राम्रो चलेका छन् । जलाशयमा माछापालन गरेर र मौसमी÷बेमौसमी तरकारी बेचेरै पनि स्थानीयले आम्दानी गर्न थालेका छन् ।
‘हरित क्रान्ति आत्मनिर्भरता, सहभागिता र समता–मानव विकास स्वस्थ र स्वच्छ घोराही उपमहानगरपालिका’ भन्ने पालिकाको नारालाई कार्यान्वयनमा ल्याउने क्रममा यहाँका सिमसार र जलाशयको संरक्षणलाई प्रमुख प्राथमिकता दिइएको उनी बताउँछन् । तालबाट जमिनमुनिको पानीको सतह पुनःभरण हुने भएकाले घोराही क्षेत्रका इनार, कुवामा हिँउद वा सुक्खा मौसममा पानीको अभाव नभएको उनको भनाइ छ ।
प्रतिक्रिया