गोरखा । खोल्सा छेउको एउटा सानो बस्ती, झुत्रो त्रिपालले ढाकेका अस्तव्यस्त जीर्ण टहरा । होचो र साँघुरो टहरोभित्रको अवस्था उस्तै । धुवाँले काला भएका भित्ता र छानो, त्यही धुवाँभित्र असरल्ल छरिएका सामान । सानो टहरोलाई पनि जस्ताले बारेर २ भाग लगाइएको छ । टहरोमा झ्याल छैन, जस्ताको पाताले बनेको एक खापा भएको ढोका पनि जीर्ण ।
यही टहरोभित्र यसैवर्ष एसइई दिएकी स्थानीय १६ वर्षीया अमृता विकले हजार सपना सजाइरहेकी छन् । बारपाक सुलीकोट गाउँपालिका–२ मा अवस्थित यो सानो झुप्रोभित्र उनीसहित ७ जना ओत लागिरहेका छन् । ‘के गर्नु हजुर यस्तै छ समस्या । धुवाँले यहाँका बस्तु मात्र कालाम्य भएका छैनन्, म र ससाना भाइबहिनीको भविष्य पनि अलमलमा छ । धुवाँ जाने ठाउँ छैन । बानी नहुने मान्छेहरू एकछिन् पनि बस्न सक्दैनन्’, खाना बनाउँदै गरेकी अमृताले भनिन्, ‘हामी ७ जनाले खाने, बस्ने, सुत्ने सबै यही ठाउँ हो । जति सफा गर्दा पनि हुँदैन, एकैछिनमा उस्तै फोहोर भइहाल्छ ।’
२०७२ वैशाख १२ को विनाशकारी भूकम्प जाँदा उनी ६ वर्षकी थिइन् । भूकम्पले उठिबास लगाएपछि बुबाआमाले झ्याउँकुटी पार्दै उनीलाई यहाँ ल्याएका थिए । ‘त्यो बेलाको भूकम्प राम्रोसँग याद छ । भूकम्पअघि हामी डाँडागाउँ, गैरीगाउँमा बस्थ्यौँ । ढुंगामाटोले बनेको २ तले घर थियो । आँगन पनि ढुंगाले छापेको थियो’, विगत सम्झँदै अमृताले भनिन्, ‘एक्कासि भूकम्प आयो । हाम्रो घर माटोमै मिल्यो । घडेरी पनि पहिराको जोखिममा प¥यो । अनि यहाँ आएका हौँ, त्यसयता यही त्रिपालमुनि बस्नु परेको छ ।’
७ जना परिवार एकैठाउँ बस्नुपर्दा विभिन्न समस्या झेल्नुपरेको उनको गुनासो छ । ‘साह्रै सकस छ । हुर्केका दाजुभाइ, बाउआमा सबै एकैठाउँमा सुत्न, बस्न गाह्रो हुन्छ । कोही पाहुना आउँदा झनै गाह्रो’, अमृताले सुस्केरा हाल्दै भनिन् ।
सबैभन्दा धेरै समस्या त महिनावारीका बेला हुन्छ । न प्याड फेर्ने ठाउँ छ न कपडा । शान्तसँग आराम गर्ने वातावरण पनि छैन । ‘महिनावारी हुँदा साँझमा वा एकाबिहानै तल बारीतिर गएर प्याड फेनुपर्छ । दिनभरचाहिँ सबैजना यहीँ भएकाले गाह्रो हुन्छ । दिउँसो एकछिन आराम गर्ने वातावरण पनि छैन’, उनले पीडा सुनाइन् ।
यो समस्या अमृताको मात्रै होइन, यस बस्तीका हरेक किशोरीहरूको हो । केही समय अघि मात्र महिनावारी भएकी १२ वर्षीया आयुषा विक महिनावारीभन्दा पनि यहाँको वातावरणसँग त्रासित छन् । हिमालय माविमा कक्षा ५ मा अध्ययनरत उनलाई महिना–महिनामा भइरहने यस कुराले साह्रै पिरोल्छ । प्याड फेर्न साँझ वा एकाबिहानै बारीमा जानुपर्दा महिनावारीभन्दा बढी पीडा छ आयुषालाई । ‘धेरै रगत बग्छ, साँझ मात्र लुकेर प्याड फेर्न जानुपर्छ’, उनले सुनाइन्, ‘दिउँसो घरमा दाइ, भाइ, बाबा हुन्छन् । स्कुल जाँदाचाहिँ उतै फेरेर आउँछु ।’
यो बस्तीमा एउटा पनि व्यवस्थित शौचालय छैन । पानीको अभाव उस्तै छ । महिनावारीको समयमा शौचालय प्रयोग गर्दा र नुहाउँदा निकै समस्या झेल्नु यहाँका हरेक युवतीको नियती हो । ‘शौचालय पनि भत्किने जस्तो छ, फोहोर त्यस्तै । महिनावारीको समयमा शौचालय प्रयोग गर्न धेरै समस्या हुन्छ’, १२ वर्षीया आयुषाले दुःखेसो पोखिन् ।
यहाँकी ३० वर्षीया दिपासा विकलाई सुत्केरी भएको १८ महिना मात्रै पुगेको छ । भूकम्पले बिचल्लीमा परेकी उनको दिन यही बस्तीको अभावसँग जुध्दै बितिरहेको छ । ‘यहीँ जन्मँे, बिहे पनि गाउँमै गरेँ । भूकम्पले गर्दा आफ्नो व्यवस्थित घरबाट उठिबास भएर यस्तो झुपडीमा आउनुप¥यो । दुई नानीबाबु यही झुपडीमा जन्मिए । यहाँ भोको समस्या बयान गरेर साध्य छैन’, उनले भनिन् ।
गर्मीमा असाध्यै गर्मी अनि जाडोमा असाध्यै जाडो । यहाँका बालबालिका, ज्येष्ठ नागरिक, किशोरी र दिपासाजस्ता सुत्केरीहरूले भोग्नुपरेको साझा पीडा हो । सरकारी स्वामित्वमा रहेको यस बस्तीमा २१ घरधुरीका ५० भन्दा धेरै मानिस बसोबास गर्छन् । बारपाकको सौन्दर्यमा मन्त्रमुग्ध हुने जोकोहीलाई त्यहीँमुनि खोल्साको छेउमा रहेको दलित बस्तीले गिँज्याइरहेको छ ।
२०७२ वैशाख १२ गते ११ः५६ बजे बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टरको भूकम्पले यहाँका १ हजार १०० घरधुरी क्षणभरमै ढले । गाउँमा ७२ जनाको मृत्यु भयो । बाँचेकाहरू पनि महिना दिनसम्म खुला आकाशमुनि बसे । पछि डाँडागाउँ, गैरीगाउँ, कोटडाँडा टोलका ४१ दलित परिवार कृषि र पशु कार्यालयको स्वामित्वमा रहेको जग्गामा आएर अस्थायी टहरो बनाएर बसे । १४ परिवार फेरि आआफ्नै थातथलोमा फर्किए ।
डाँडागाउँ, गैरीगाउँ टोलका २७ घरधुरीको पुरानो थलो पहिराले राङरुङ खोलासम्म पुग्यो । फर्किनसक्ने अवस्था नभएपछि ती परिवारले आफ्नो घरघडेरीको लालपूर्जा सरकारलाई बुझाए र सट्टापट्टा गरी सोही सरकारी जग्गा आफ्नो नाउँमा ल्याउन पहल थाले । त्यो पहल १० वर्षसम्म पनि सफल भएको छैन ।
राज्यको हरेक निकायमा दलित, भूमिहीन समुदायलाई प्राथमिकतामा राखेर सेवासुविधा दिइन्छ तर भूकम्पको केन्द्रबिन्दु बारपाककै दलितबस्तीमा भने हालसम्म कसैले ध्यान दिन नसकेको गुनासो छ । त्यसैले भूकम्प गएको पहिलो दिनदेखि १० वर्ष बितिसक्दा पनि टहरोकै बास बस्नुपरेको छ ।
यहाँका अगुवा सुकबहादुर विक आफूहरूलाई बास माग्दै ८६ पटक सिंहदरबार धाए तर सुनुवाइ भएको छैन । ‘१० वर्षमा त जनयुद्ध पनि वारपार भएको थियो तर यो बस्तीलाई पुनःस्थापना गर्ने लडाइँ १० वर्षसम्म पनि वारपार भएको छैन । एउटा पार्टीको सरकारले जिल्लासम्म पत्राचार गर्छ । फेरि अर्को पार्टीको सरकार आउँछ काम रोकिन्छ । राजनीतिक कारणले नै २१ परिवारलाई दुःख दिने काम भइरहेको छ’, उनको गुनासो छ ।
पूर्वसहमतिअनुसार यहाँको ६ रोपनी १० आना जग्गा २१ परिवारका नाममा गरिनुपर्ने अर्का अगुवा उत्तम विकको माग छ । गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट भने जति प्रयास गर्दा पनि सो माग पूरा गर्न नसकिएको बताउँछन् । जग्गाको स्वामित्व हस्तान्तरणको काम नहुँदा अन्य व्यवस्थापकीय काम गर्न समस्या भएको उनको भनाइ छ । ‘जति प्रयास गर्दा पनि सफल भएका छैनौँ । अब त वैकल्पिक दिनुपर्छ । यसरी समस्यामा पार्नु राम्रो होइन’, अध्यक्ष भट्टले भने ।
प्रतिक्रिया