बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ । फाइनल खेलमा बैतडीले कञ्चनपुरलाई ६ विकेटले पराजित गरेको हो ।
दशरथ चन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको कञ्चनपुरले २० ओभरमा सवै विकेट गुमाएर ७१ रन बनायो । बहत्तर रनको विजयी लक्ष्य बैतडीले १२ दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । बैतडीका लागि कप्तान ऋतु कनौजियाले अविजित २२ र जानकी थापाले अविजित १४ रन बनाइन् । बलिङतर्फ कञ्चनपुरकी मन्जु विष्टले दुई विकेट लिइन् ।
यसअघि पहिला ब्याटिङ गर्ने क्रममा कञ्चनपुरका लागि रेवती धामीले ४१ रनको योगदान दिइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ बैतडीका लागि जानकी थापाले दुई विकेट लिइन् । उनी वुमन अफ दी फाइनल घोषित भइन् ।
बैतडीकी ऋतु कनौजिया प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । यस्तै कञ्चनपुरकी कप्तान बिन्दु रावल उत्कृष्ट ब्याट्सउम्यान , बैतडीकी करिश्मा थापा उत्कृष्ट बलर र डडेल्धुराकी जयन्ती भण्डारी उदीयमान खेलाडी घोषित भइन् ।
प्रतिक्रिया