काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा सुदूरपश्चिम रोयल्सविरुद्ध ५ विकेटको रोमाञ्चक जित निकाल्दै जनकपुरले उपाधि चुमेको हो ।
उपाधिसँगै जनकपुर बोल्ट्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुुर देउवा, नेकपा (माओेवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रुपमा पुरस्कार राशिको चेक जनकपुरका कप्तान र खेलाडी अनिल शाह र आशिफ शेखलाई प्रदान गरे । यस्तै, उपविजेता सुदूरपश्चिमले ५१, तेस्रो हुने कर्णाली याक्स र चौथो हुने टोली चितवन राइनोजले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
यसअघि २ पटक भएको प्रतिस्पर्धामा जनकपुर सुदूरपश्चिमसँग स्तब्ध हुन बाध्य भएको थियो । पहिलो चरणमा सुदूरसँग हारेको जनकपुर पहिलो क्वालिफायरमा पनि उसैसँग हार्न बाध्य भएको थियो । तर, दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराउँदै फाइनल प्रवेश गरेको जनकपुरले दुवै पटकको हारको बदला लिँदै एनपिएलको उपाधि चुम्न सफल भएको छ । ओपनर ब्याट्सम्यान लाहिरु मिलन्थाको उत्कृष्ट प्रदर्शनले जनकपुरलाई जित दिलाएको हो ।
सुदूरपश्चिमले दिएको १८५ रनको विशाल लक्ष्य जनकपुरले ५ विकेटको क्षतिमा ४ बल बाँकी रहँदा पूरा ग¥यो । जनकपुरको जितमा श्रीलंकन मूलका अमेरिकी विकेटकिपर ब्याट्सम्यान लाहिरु मिलन्था नायक रहे । उनले ४९ बलमा ८७ रन जोडेपछि जनकपुरका लागि लक्ष्य भेट्टाउन सहज भएको हो । १६औँ ओभरको तेस्रो बलमा सुदूरपश्चिमका स्कट कुगलाइनको बलमा क्याचआउट हुनुअघि उनले ९ चौका र ४ छक्का प्रहार गरे ।
पावरप्लेमा गरेको उत्कृष्ट प्रदर्शनले पनि जनकपुरलाई जितको बाटोमा डोहो¥याएको थियो । ६ ओभरको पावरप्लेमै जनकपुरले ७१ रन जोडिसकेको थियो । कप्तान आसिफ शेख ३३ रन बनाउँदै सातौँ ओभरको अन्तिम बलमा सेफ अली जैबको बलमा क्याचआउट भए । १९ बलमा ४ चौका र २ छक्का प्रहार गरेका आसिफले पहिलो विकेटका लागि ओपनर लाहिरु मिलन्थासँग ७ ओभरमा ७३ रनको साझेदारी गरेका थिए ।
दसौँ ओभरमा १०० रन पूरा गरेलगत्तै जनकपुरले दोस्रो विकेट गुमाएको थियो । दसौँ ओभरको अन्तिम बलमा मोहमद मोहसिन ८ बलमा ९ रन जोडेर आउट भए । मोहसिनले मिलन्थासँग दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे । मिलन्थाले १२औँ ओभरको पहिलो बलमा जीवनदान पाएका थिए । ६५ रन बनाएर खेलिरहेका बेला उनको क्याच लिन सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी चुकेका थिए । लगत्तैको बलमा हर्ष थाकरले दीपेन्द्रलाई छक्का प्रहार गरेका थिए ।
मिलन्थाले तेस्रो विकेटका लागि हर्ष थाकरसँग ५९ रनको साझेदारी गरे । प्रतियोगिताका धेरै खेलमा छाएका जनकपुरका जिम्मी निसम भने ४ रनमै सुदूरपश्चिमका कप्तान ऐरीबाट १७औँ ओभरमा बोल्ड भए । १९औँ ओभरमा जैबले २ रन मात्र खर्चिएपछि जनकपुरले सफलता पाउन अन्तिम ओभरसम्म पर्खिनुपरेको थियो । सुदूरपश्चिमका कुगलाइन, ऐरी, पाण्डे र जैबले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ओपनर सेफ जैबको अर्धशतकको मद्दतमा ९ विकेटको क्षतिमा १८४ रन जोडेको थियो । जैबले ६९ रनको योगदान गरे । उनले ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । जैबले ६४ रन बनाएर खेलिरहँदा १२औँ ओभरको दोस्रो बलमा जीवनदान पाए । जनकपुरका किशोर महतोको बलमा शेर मल्लले क्याच लिन खोज्दा हातबाट बल छुटेको थियो । २ बलपछि पनि जीवनदान पाएका उनी सोही ओभरको अन्तिम बलमा ललित राजवंशीको हातबाट समातिए ।
जैबले पहिलो विकेटका लागि विनोद भण्डारीसँग १२ ओभरमा ११७ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले उत्कृष्ट सुरुआत गरेको थियो । त्यसपछि भने जनकपुरको लय फर्किएको थियो । अर्को ओभरको दोस्रो बलमा ललितले भण्डारीलाई बोल्ड गरे । आउट हुनुअघि भण्डारीले ३१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ४१ रन जोडे ।
बलिङ र फिल्डिङमा फर्किएको जनकपुरले १५औँ ओभरको अन्तिम बलमा तेस्रो सफलता पाएको थियो । जनकपुरका मोहम्मद मोहसिनले हरमित सिंहलाई १४ रनमा आउट गरे । जनकपुरका सब्स्टिच्युट फिल्डर हेमन्त धामीले उत्कृष्ट क्याच लिएका थिए । त्यसपछि सुदूरपश्चिमको ओरालो यात्रा सुरु भएको थियो ।
ब्रान्डन म्याकमुलन पनि १४ रनमा आउट भए भने कप्तान दीपेन्द्रसिंह ऐरी ९ रनमा सीमित भए । अन्तिम ओभरको पहिलो बलमा आउट भएका कुगलाइनले १० बलमा २ चौका प्रहार गर्दै १३ रन जोडे । सुदूरपश्चिमले पछिल्लो ५ ओभरमा ६ विकेट गुमाउँदा ४१ रन मात्र जोड्न सक्यो । सोही टोलीले पहिलो १० ओभरमा विकेटको क्षतिबिनै ९७ रन जोडेको थियो । जनकपुरका मोहसिन र किशोरले ३–३ विकेट लिए । मोहसिनले ४ ओभरमा ४० रन खर्चिंदा किशोरले ३ ओभरमा २५ रन दिए । जिम्मी निशम र ललित राजवंशीले १–१ विकेट आफ्नो नाममा लेखाए ।
०००
मिलन्थादेखि मिलन्थासम्म !
यस एनपिएलको पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले हराएको थियो । सो खेलमा १२८ रनको लक्ष्य पाएको जनकपुरले १५ दशमलव ३ ओभरमा खेल आफ्नो पक्षमा पारिसकेको थियो । सो खेलमा लाहिरु मिलन्थाले अविजित रहँदै ५३ बलमा ७५ रन प्रहार गरेका थिए । उनले हर्ष थाकरसँग मिलेर तेस्रो विकेटका लागि अविजित ११६ रनको साझेदारी गरेका थिए । सो खेलमा थाकरले पनि २९ रन जोडेका थिए । फाइनलमा पनि यी २ जनाले नै तेस्रो विकेटका लागि ६१ रनको साझेदारी गरे । यस खेलमा पनि थाकर २४ बलमा ३० रन जोड्दै अविजित रहे ।
०००
जसले नेपाललाई विश्वकपमा पुर्याए, उनैले एनपिएल जिताए
एनपिएल उपाधि विजेता जनकपुरको टोलीलाई प्रशिक्षण दिने व्यक्ति हुन्– नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके । नेपाललाई पहिलो पटक टी–२० विश्वकपमा पु¥याएका प्रशिक्षक दासानायकेकै प्रशिक्षणमा जनकपुरले एनपिएल उपाधि चुमेको हो । अहिले क्यानडा क्रिकेटको मुख्य प्रशिक्षक रहेका दासानायकेकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो । सन् २०१५ मा राजीनामा दिएर अमेरिका पुगेका उनी २०१९ मा फेरि नेपाल फर्किएका थिए भने सन् २०२२ उनले नेपालको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।
०००
कसले कुन अवार्ड जिते ?
पहिलो संस्करणको एनपिएलको आकर्षक पुरस्कारका रूपमा रहेकोे ओमोडा कार सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले प्राप्त गरेका छन् । ऐरीले एनपिएलका कुल ९ खेलमा ९ विकेट लिँदै २२७ रन जोडेका थिए । नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने ऐरी पहिलो खेलाडी हुन् । एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीले ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब ६२ लाख रुपैयाँ पर्ने ओमोडा ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरेका हुन् ।
यस्तै, विजेता टोली जनकपुरका खेलाडी ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जितेका छन् । उनले एनपिएलमा सानदार प्रदर्शन गर्दै मोटरसाइकल जितेका हुन् । ललितले एनपिएलमा १७ विकेट लिएका थिए ।
यस्तै, ५ लाख राशिसहितको ‘सिद्धार्थ बैंक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड सुदूरपश्चिमका सेफ अली जैबले पाए । जैबले एनपिएलमा २७५ रन जोड्दै १२ विकेट लिएका थिए । यस्तै, जनकपुरका लाहिरु मिलन्थाले २ लाख राशिसहितको ‘म्याक्सिमम फोर्स अफ टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरे । एनपिएलमा उनले ३५ चौका प्रहार गरेका उनले २९३ रन बनाएका छन् ।
यस्तै, जनकपुरकै जिम्मी निसमले ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरे । २ लाख पुरस्कार जितेका निसमले जनकपुरका लागि २४७ रन जोड्दै ७ विकेट आफ्नोे नाममा दर्ता गरेका छन् ।
कर्णाली याक्सका आइकोनिक खेलाडी विपिन शर्माले ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्डसहित ५० हजारको चेक प्राप्त गरेका छन् । साथै, उनले प्रेसिडेन्टल ग्राजुऐट स्कुलबाट १० लाख बराबरकोे छात्रवृृत्तिसमेत प्राप्त गरेका छन् । विपीनले एनपिएलमा १३ विकेट आफ्नो नाममा दर्ता गरेका छन् । यस्तै, ‘फेयर प्ले’ को अवार्ड लुम्बिनी लायन्सले जितेको छ ।
प्रतिक्रिया