काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्याराफिट निर्माणका लागि पाँचौँ पटक बोलपत्र आह्वान भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको प्याराफिट निर्माण र फ्लडलाइट जडानका लागि शुक्रबार बोलपत्र आह्वान गरेको हो ।
चौथो पटक आह्वान गरिएको बोलपत्रअनुसार प्याराफिट बनाउन १ करोड ६२ लाख र फ्लडलाइट जोड्न १ करोड ७३ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । ती काम अघि बढाउन इच्छुक निर्माण कम्पनीले ६ माघ मध्याह्न साढे १२ बजेसम्म बोलपत्र दर्ता गरिसक्नुपर्ने बताइएको छ । त्यही दिन दिउँसो साढे १ बजे बोलपत्र खोलिने मन्त्रालयले जनाएको छ ।
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्याराफिट निर्माणको प्रसंग र टेन्डर खुलाउने चर्चा भने ३ वर्षअघि नै सुरु भएको थियो । त्रिवि मैदानमा फ्लडलाइट र प्याराफिट बनाउन पहिलो पटक २०८० वैशाखमा टेन्डर गरिएको थियो । त्यसबेला ५४ वटा कम्पनीले आवेदन दिँदा मूल्यांकन समितिले सबैलाई अयोग्य ठह¥यायो ।
त्यसपछि दोस्रो पटकको बोलपत्र आह्वानमा त राष्ट्रिय खेलकुद परिषद्को बदनियत नै प्रष्ट देखियो । १७ साउन, २०८० मा परिषद्ले दोस्रो पटक फ्लडलाइट जडानका लागि बोलपत्र आह्वान गरेकामा महावीर आइएसई जेभी, सूर्योदय ऊर्जा–बुद्ध राजा इलेक्ट्रिकल्स जेभीसहित ४ वटा कम्पनीले आवेदन दिएका थिए । तर, टेन्डर हालेका ४ मध्ये ३ वटालाई अयोग्य घोषित गर्दै राखेपले महाविरसँग २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा सम्झौता गरेको थियो ।
सो समयमा ४ वटा निर्माण कम्पनीले आवेदन दिए पनि ३ वटा कम्पनीलाई बेवास्ता गर्दै अयोग्य घोषित गरेपछि अयोग्य घोषितमध्ये दुइटा कम्पनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेका थिए भने तेस्रो कम्पनी सूर्योदय ऊर्जा–बुद्ध राजा इलेक्ट्रिकल्स जेभीले सार्वजनिक खरिद पुनरवलोकन समितिमा मुद्दा हालेको थियो । समितिले फैसला गर्दै ठेक्का प्रक्रिया नै रद्द गर्दै पुनः मूल्यांकन गर्न निर्देशन दिएपछि ठेक्का पाएको कम्पनी उच्च अदालत पुगेको थियो । अदालतले टेन्डर रद्द गर्न आदेश दिएपछि निर्माण रोकिएको थियो ।
यस्तै, तेस्रो र चौथो पटक टेन्डर आह्वान हुँदा पनि निर्माण कम्पनी छनोट नभएपछि शुक्रबार चौथो पटक टेन्डर आह्वान गरिएको हो । यसअघिका सबै टेन्डर राखेपले खोलेको थियो । तर, यस पटक भने सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले बोलपत्र आह्वान गरेको हो ।
परिषद् र क्यानको बद्मासीको शृंखला
जनस्तरको लगाव र सद्भावका कारण विकास भइरहेको नेपाली क्रिकेट जिम्मेवार निकायको अकर्मण्यताको सिकार भएको छ । यसअघि नेपाली खेलकुदका अन्य खेलका प्रशिक्षकलाई नेपाल क्रिकेट संघको खर्चमा वैदेशिक प्रतियोगिता खेल्न पठाउने निर्णय सार्वजनिक भइसकेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव पारिवारिक सदस्यसहित अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी भएको पनि सार्वजनिक भएको छ । तर, त्यसको खर्च क्रिकेट संघ या परिषद्ले गर्ने भन्ने टुंगो भएको छैन ।
यस्तै, क्रिकेट प्रशिक्षक जगत टमाटालाई आइसिसी पुरुष क्रिकेट ‘वल्र्डकप लिग टू’को खेलमा कन्सल्ट्यान्ट प्रशिक्षक बनाउने मापदण्डलगायत विषयले क्यान र राखेपलाई विवादमा मुछेको थियो । नेपालको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको प्रोफाइल र स्तर टमाटाको तुलनामा धेरै माथि छ । देसाईलाई कन्सल्ट्यान्ट आवश्यक भए माथिल्लो स्तरको प्रशिक्षकको खोजी गरिनुपर्नेमा टमाटालाई पठाइएको विषयमा पनि क्यानको चर्को विरोध भएको थियो । जबकि देसाईको साथमा ब्याटिङ प्रशिक्षक पनि नेपाली टोलीमा थिए ।
प्रतिक्रिया