काठमाडौं । हङकङविरुद्धको यु–१९ एकदिवसीय क्रिकेट शृङ्खलामा नेपालले ‘क्लिनस्विप’ गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको अन्तिम एकदिवसीय खेलमा हङकङलाई १३० रनले पराजित गर्दै नेपालले शृङ्खलामा क्लिनस्विप गरेको हो ।
आज नेपालले दिएको २६६ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १३५ रन मात्रै जोड्न सक्यो । हङकङका लागि प्रित माङ्गुकियाले अविजित रहँदै अर्धशतकीय पारि खेले । उनले ८७ बलमा सात चौकाको मद्दतले ५५ रन बनाए ।
अब्दुल समदले २३ र कप्तान शिव माथुरले १९ रन जोडे । उनीहरूबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । हङकङका लागि आरेज दारले सात, शायन पुरीले अविजित रहँदै पाँच, डेनियल मापले चार, विल वाल्शले तीन, तरण लौङ्गानीले दुई र म्याथ्यू जेम्स क्लेटनले एक रन बनाए ।
यो खेलमा हङकङले अतिरिक्त पाँच रन पाएको छ । बलिङतर्फ नेपालका कप्तान अभिषेक तिवारी र अफरुद्दिन रेनले समान दुई–दुई विकेट लिए । राजेश बोहरा, दीपक सेराला र सन्तोष यादवले समान एक–एक विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २६५ रन बनाएको थियो । नेपालले पहिलो खेलमा हङकङलाई तीन विकेटले र दोस्रो खेलमा २२६ रनले पराजित गरेको थियो ।
प्रतिक्रिया