यू– १९ एसिया कप : नेपालले बंगलादेशलाई दियो ५५ रनको लक्ष्य

काठमाडौं । एसीसी महिला यू– १९ एसिया कप क्रिकेटअन्तर्गत सुपर ४ को अन्तिम खेलमा नेपालले बंगलादेशलाई जितका लागि ५५ रनको लक्ष्य दिएको छ ।

शुक्रबार मलेसियाको बायुमस ओभलमा वर्षाले रोकिएपछि खेल ११ ओभरमा घटाइएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनायो ।

नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् । कप्तान पुजा महतो ९ र एलिशा यादवले ८ रन बनाए । नेपालका ४ ब्याटर रनआउट हुन पुगेका थिए ।

पावर प्लेदेखि नै रनका लागि संघर्ष गरेको नेपालले ठूलो सट खेल्न सकेन । नेपालका लागि एलिसाले २ तथा सावित्री र पुजाले १–१ चौका प्रहार गरेका थिए ।

यो खेलमा जित हासिल गर्ने टोलीले फाइनलमा प्रवेश गर्नेछ । सुपर ४ को शीर्ष स्थानमा रहेर भारतले फाइनलमा स्थान पक्का गरिसकेको छ । भारतको ७ अंक छ भने नेपाल र बंगलादेशको ४–४ अंक छ भने नेट रनरेटमा बंगलादेश नेपालभन्दा अगाडि छ ।

गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित छ टोली सम्मिलित छन् । यसमा समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन् । पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिसकेका छन् । फाइनल खेल आगामी आइतबार हुनेछ ।

प्रतिक्रिया