फेरि हिन्दूकरणको राग किन ?

हिन्दू कसैले बनाएर बन्ने धर्म होइन यो त जन्मिँदै बनेर आउने धर्म हो, किनकी यो सभ्यतासँग जोडिएको बोन किराँत धर्मजस्तै प्राकृतिक पूजक धर्म हो । इसाइकरण हुन्छ, इस्लामीकरण पनि हुन्छ, बौद्धकरण पनि हुनसक्छ, ओशो करण, ॐ शान्तिकरण, कृष्ण प्रणामीकरण पनि हुनसक्छ तर जसरी प्राकृतिक धर्मको रूपमा रहेकोे बोनकरण किराँतकरण हुन सक्दैन त्यसैगरी वैदिक सनातन हिन्दूकरण पनि हुन सक्दैन । नहुनका केही मूलभूत कारणहरू छन् ।

मोहन लामा रुम्बा

पहिचानवादी नश्लवादी जातिवादीहरूले आरक्षणको माग गर्नलाई वा उदाहरण दिनलाई एउटा विम्व प्रयोग गर्छन् । आरक्षणले तल्लो तहको कमजोर वर्ग जाति समुदायलाई टेवा दिइयो भने समानता ल्याउन सहयोग हुन्छ भनेर विम्व चित्रमा देखाउने गर्छन् । त्यसैअनुरूप सरकारले आरक्षणको व्यवस्था गरेको पनि छ । ठिकै छ तर यही नियम ‘धर्म’ मा लागू हुने कि नहुने ?

आरक्षणले कमजोर जाति समुदायलाई समानतामा ल्याउँछ भनेर सैद्धान्तिक भाष्य गरेको जस्तै यही नीति धर्मको महलमा लागू हुन्छ कि हुँदैन ? धर्मनिरपेक्षताको वकालत गर्नेहरूतर्फ यहाँनेर हो प्रश्न । अहिले नेपालमा हिन्दू, बौद्ध, किराँत, इश्लाम धर्म मान्ने समुदायहरू छन् । यी धर्म मान्नेहरू मध्ये व्यक्तिगत रूपमा कुनै धर्मावलम्बी सम्पन्न होलान् कुनै विपन्न हुनसक्छन्, तर ‘धर्म’ र ‘व्यक्ति’ अलगअलग कुरा हुन् । व्यक्ति विपन्न हुनसक्छ, तर उनले मान्ने धर्म सम्पन्न हुनसक्छ, फेरि कतै धर्म सम्पन्न हुनसक्छ तर तिनले मान्ने व्यक्ति विपन्न हुनसक्छ ।
उदाहरणका लागि नेपालको इसाई मान्ने वर्ग विपन्न हुन्छ, तर तिनको धर्म सम्पन्न हुन्छ, भारतमा मुस्लिम विपन्न वर्गमा पर्छ तर तिनले मान्ने धर्म सम्पन्न हुन्छ किनभने अन्तर्राष्ट्रिय मुस्लिम ऐक्यबद्धताले १० घर मुस्लिम भएको ठाउँमा मस्जिद बनाउन मदरसा बनाउन अन्तर्राष्ट्रिय सहयोग आइपुगेको हुन्छ ।

नेपालमा धर्मको अवस्था

नेपालमा बहुसंख्यक हिन्दू भन्ने गरिन्छ, तिनको नेतृत्व गर्छु भनेर दर्जनौँ संघसंस्था खोलेर बस्ने गरेको देखिएको छ । एकदम नाम चलेको चल्तापुर्जा भनेर चिनिने संस्था विश्व हिन्द्र अन्तर्राष्ट्रिय २ वटा छन्, जसको कार्यालय खोलेर बसेको देखिएको छ । त्यो कार्यालयको ढोका सधैँ बन्द हुन्छ झ्यालको पर्दासमेत राम्रोसँग फेर्न सकेको देखिन्न । नियमित कार्यक्रमको त कुरै नगरौँ । नाम चलेको संस्थाको त यो हालत छ भने बाँकीको कुरा त के गरौँ सबै कार्यालय आफ्नै झोलामा हो ।

नेपाल बौद्ध संघ छ, त्यो संघमा नेपाली नागरिक राखेर अध्यक्ष पनि बसेको छ, तर त्यो कार्यालय व्यवस्थापन खर्च सबै तिब्बती गुम्बाद्वारा हो । सञ्चालन नै त्यसैद्वारा हो । नेपालकै नेपाली लगानीमा चलेको बौद्ध संघ निकै कम छन् । राष्ट्रिय स्तरमा महत्व राख्ने हैसियत नै तिनको छैन । केही बौद्ध संघ कुनै बौद्ध जागरण भन्ने संस्थाहरू खोलेको पनि देखिन्छ, तर त्यो सबै कार्यालय नै आआफ्नो झोलामा मात्रै सीमित रहेकोे संस्था हो । बिशुद्ध नेपाली लगानीमा खुलेको बौद्ध संघसंस्थाको हालत प्रायः सबैको यस्तै छ ।

बोन धर्मअन्तर्गत बोन्पो संघको कार्यालय छ, काठमाडौँको बौद्धमा । सदस्यहरूको चन्दाबाट भाडा तिर्दै अहिलेसम्म बसिरहेको छ । कुन दिन ढोकामा ताल्चा लाग्ने हो ठेगाना छैन भन्दै थिए त्यसका महासचिव रेशम ब्लोन तामाङ । बाँकी किराँतहरूको पनि हालत यही हो अझ योभन्दा दयनीय नै होला ।

क्रिस्चियन धर्मको अवस्था भने नेपालमा अन्य धर्मभन्दा बिलकुल फरक छ । यो वर्ष मात्रै (२०८१ का लागि) परिषद्मा आवद्ध १०१ वटा आइएनजीओले २२ अर्ब २२ करोड ५० लाख ४३ हजार रुपैयाँ नेपालमा खर्च गर्नेगरी कार्यक्रम स्वीकृत गराएका छन् । त्यसमध्ये ६ अर्ब ३ करोड ३ लाख ९० हजार रुपैयाँ हिन्दू र बौद्ध धर्माबलम्बीलाई क्रिस्चियनमा धर्मान्तरण गराउन बजेट छुट्याएको छ । (स्रोत–१२ खरी अनलाइन)

६ अर्ब त सिधा धर्मान्तरण गर्ने बजेट हो । बाँकी १६ अर्ब पनि धेरैजस्तो घुमाउरो रूपमा धर्मान्तरण गराउने उद्देश्यमा नै खर्चिने हो । संसारभर धर्मान्तरण गराउन इसाई मिसनरीहरूलाई पश्चिमी मुलुकले राज्य तहबाट नै बजेट विनियोजन गरेको हुन्छ । एउटा गैरसरकारी संस्था जुन नेपालमा पनि कार्यरत छ वल्र्ड भिजन इन्टरनेसनल । यसको सन् २०२३ को केन्द्रीय कार्यालयको वार्षिक बजेट लगभग ३ दशमलव ४ अर्ब अमेरिकी डलर थियो । यी केही नमुना मात्रै उदृत गरेको हुँ फेहरिस्त लामो हुनपुग्छ ।

यहाँनिर एउटा यक्ष प्रश्न खडा भएको छ । त्यो हो, नेपालमा रहेका हिन्दू बौद्ध किराँत बोन धर्मावलम्बी भएको गाउँ–गाउँ घर–घरमा गएर तिनीहरूलाई आफ्नो इसाइ धर्ममा धर्मान्तरण गराउन बनेको वार्षिक बजेट हो यो । अब मलाई भन्नुहोस् इसाइको त विदेशबाट अर्बौं अर्ब रुपैयाँ आयो त्यही अनुसारको योजना बनायो बाँकी हिन्दू बौद्ध किराँत बोनको लागि कहाँबाट आउँछ ? यहीँ भयंकर असमानता भएन ? यो त विश्व प्रसिद्ध बक्सर माइक टाइसनसँग मोहन लामालाई लौ जा लड भनेर रिङमा धकेलेको जस्तो भएन ?

अनि धर्मनिरपेक्षताले सबै धर्म बराबर भन्ने कुरा कसरी पुष्टि भयो ? कसरी धार्मिक समानता भयो ? या त इसाइ मिसनरीको रकम रोक्न पर्यो या त नेपालको रैथाने धर्महरूलाई राज्यको सुरक्षाको घेराभित्र राखेर लैजान धर्मसापेक्ष मुलुक घोषणा हुनुपर्ने होइन ?

हिन्द्र जन्मिन्छ बनिन्नन्

हिन्दूकरणको राग अलापेर आफ्नो दुनो सोझ्याएर जीविकोपार्जन गर्नेहरूले के बुझ्नुपर्छ भने हिन्दू कसैले बनाएर बन्ने धर्म होइन यो त जन्मिदै बनेर आउने धर्म हो, किनकी यो सभ्यतासँग जोडिएको बोन किराँत धर्मजस्तै प्रकृति पूजक धर्म हो । इसाइकरण हुन्छ, इस्लामकरण पनि हुन्छ, बौद्धकरण पनि हुनसक्छ, ओशो करण, ॐ शान्तिकरण, कृष्ण प्रणामीकरण पनि हुनसक्छ तर जसरी प्राकृतिक धर्मको रूपमा रहेकोे बोनकरण किराँतकरण हुन सक्दैन त्यसैगरी वैदिक सनातन हिन्दूकरण पनि हुन सक्दैन ।

नहुनका केही मूलभूत कारणहरू छन् । जसरी हाम्रो तामाङ जातिको बोन परम्परामा गोत्र (खोर) मा आधारित वंश परम्परा हुन्छ, एउटै म्हेमे (बाजे, पू्र्खा) बाट छुट्टिएर अनेकौँ ‘खोर’ मा विभाजन भएको थर ह्रुई हड्डी (जेनेटिक) सँग सम्बन्धित हाम्रो बोन परम्परा एवं संस्कृतिमा हामीले गैर तामाङ जातिलाई बोन परम्पराभित्र ल्याएर खोर अथवा गोत्रमा समावेश गर्न सक्दैनाँै । किनकि जन्मजात हाम्रो वंश परम्परामा आधारित हुन्छ, बोन धर्म वा परम्परा ।

त्यस्तै किराँतमा पनि राई जातिको ३ चुलो परम्परा हुन्छ । त्यही वंशमा आधारित ३ चुल्हो वंश वा कुल गोत्र परम्परासँग जोडिएको धर्म हो । राई जातिको अँगेनुमा रहने उत्तरतर्फको चुल्हो दिवालुङ (पितृ–माङ–सृष्टि चुल्हो) पश्चिमतिरको चुल्हो छेकुलुङ (छोरी–चेली–धर्ती–प्रकृति) र पूर्वतर्फको तेस्रो चुल्हो रुमिलुङ (सन्तान, वंशावली समाज) को प्रतीक मानिन्छ ।

त्यस्तै याक्थुङ लिम्बू समुदायको पनि यही पू्र्खाउली वंश परम्परा हो, उनीहरू गोत्रलाई ‘मिङ्स्रा’ भन्ने गर्छन् । याक्थुङ् लिम्बूहरूले जुनसुकै मांगेना (धार्मिक अनुष्ठान) गर्दा यो मिङ्स्राको उच्चारण अनिवार्य हुने गर्छ । आफ्नो बंशका प्रवर्तकले खोरिया फाडेको स्थान मांगेना यकको उच्चारण हुन्छ । बंश फैलिँदै गएको स्थान फेचुवा यक, कर्म स्थान नाहाङमा यक आदिको उच्चारण माङ्गेना अनुष्ठान गर्दा हुन्छ । मृतकहरूको आत्मा पुर्खालाई बुझाउने ठाउँ सामसामतेन, सुत्केरी महिलाहरूको सातो लिने स्थान सामलामातेनहरूको उच्चारण माङ्गेना अनुष्ठान गर्दा हुन्छ ।

लिम्बू समुदायमा विभिन्न मिङ्स्रा (गोत्रको) संख्या धेरै हुन्छ जसमध्ये फोङ्नाम–लुङ्साङ–सोङ्सिङ–केम्बाङ । मिङ्स्राले पुर्खाको भौगोलिक, सांस्कृतिक, वा धार्मिक पृष्ठभूमिलाई जनाउँछन् । प्रकृति पुजक बोन किराँत धर्मको ‘खोर’ ‘मिङ्स्रा’ ‘तीन चुल्हो’ आदि आदि यी सबै वंश परम्परामा आधारित धर्म हो, ठिक यस्तै वैदिक हिन्दूको पनि त्यही वंश (पू्र्खा) परम्परामा आधारित गोत्र प्रणाली परम्परा हुन्छ ।

एक अनादी कालको पुरुषको अविरल वंश परम्परा जुन माथिबाट तलतिर क्रमशः अटुट रूपमा छोरा, नाति, पनाति, खनाति हुँदै हजारौँ हजार वर्षसम्म चल्ने वंश पद्धति नै गोत्र परम्परा हो । हिन्दू समाजमा गोत्र शब्दले एक पुरुषको अनवरत वंश परम्परालाई जनाउँछ । गोत्र वैदिक ऋषिहरूको वंशजलाई जनाउँछ । प्रत्येक गोत्र कुनै विशिष्ट ऋषिसँग सम्बन्धित हुन्छ, जसलाई आफ्नो पुर्खा मान्ने गरिन्छ ।

उदाहरणका लागि कौशिक गोत्रः विश्वामित्र ऋषिको वंश । भारद्वाज गोत्रः भारद्वाज ऋषिको वंश । काश्यप गोत्रः कश्यप ऋषिको वंश । यसरी हिन्दू धर्मका वंश प्रवर्तक पू्र्खा ऋषिमुनिहरू हुने गर्छन् । आफ्नो वंशको कुलदेवता र कुलदेवीको पूजा गरेर आफ्नो वंशजहरूको रक्षा र समृद्धिका लागि प्रार्थना पनि गर्दछन् । हिन्दू एक प्राकृतिक धर्म हो । जसरी बोन किराँत आफ्नो कुल वंश गोत्रमा आधारित धर्म हो, ठिक त्यसैगरी हिन्दू धर्म संस्कृति परम्परा पनि वंशावली जेनेटिक्समा आधारित धर्म हो ।

जसरी लिम्बूले राईलाई आफ्नो ‘मिङ्स्रा’ भित्र हुल्न सक्दैन, त्यसैगरी राईले तामाङलाई ३ चुल्होभित्र मिलाउन सक्दैन, सोही प्रकारले तामाङले आफ्नो ‘खोर’ भित्र लिम्बूलाई लैजान सकिदैन, ठिक त्यस्तै सनातन वैदिक हिन्दूले आफ्नो ऋषि गोत्र वेद शाखा सूत्रभित्र लैजान सक्दैन । किनभने यो जन्मजातै शाश्वत रूपमा जन्मिने हो बनाएर बनिने हुँदैन । यसर्थ प्रकृति र वंश परम्परासँग अविच्छिन्न जोडिएको धर्म नै बोन किराँत र हिन्दू हो, त्यसैले जेनेटिक रूपमा जोडिएको धर्म हिन्दू बनाएर बनिन्न यो त जैविक रूपमा जन्मिन्छ । फेरि हिन्दूकरणको राग किन ?

प्रतिक्रिया