चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई दियो १६५ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ ।

आइतबार भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रनको योगफल बनाएको हो । चितवनका लागि ओपनर हसन इसाखिलले सर्वाधिक ६५ रन जोडे । उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । हसन स्कट कुगेलेनको बलमा नरेश बुढाऐबाट क्याच आउट भए ।

रवि बोपारा १८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाउँदै दिपेन्द्र सिंह ऐरीबाट अन्तिम ओभरमा आउट भए । कप्तान कुशल मल्लले १६ बलमा १३ रन जोड्दै कुगेलेनको बलमा नै आउट भए । विकेटकिपर विपिन रावल सेब जेबको बलमा १७ रन जोडेर आउट भए ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेनले २ तथा सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले समान १ विकेट लिए । सुदूरपश्चिम लगातार चौथो जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा रहेको छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर, दोस्रोमा काठमाडौं गुर्खाज र तेस्रो खेलमा लुम्बिनीलाई हराएको थियो ।

सुरुवाती दुई खेल जितेको चितवन पछिल्लो खेलमा पराजित भएको थियो । काठमाडौं र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो । आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १रनले हराएको थियो । जनकपुरले लगातार चार खेलमा जित्दा लुम्बिनीले भने लगातार चौथो हार ब्यहोरेकोछ ।

प्रतिक्रिया