काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को बुधबार भएको खेलमा विराटनगर किंग्सले रोमाञ्चक जित हात पारेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा अन्तिम ओभरको सुरुआती ५ बलमा १७ रन जोड्दै विराटनगरले लुम्बिनी लायन्सविरूद्ध २ विकेटको रोमाञ्चक जित निकालेको हो । सो ओभर विवेक यादवले बलिङ गरेका थिए ।
२३ बल बलिङ गरेका विवेकले ६४ रन खर्चिए । यस क्रममा उनले १ विकेट त लिए । तर, त्यही विकेट लुम्बिनी हार्नुको मुख्य कारण बन्न पुग्यो । किनकि २०औँ ओभरको पहिलो बलमा विराटनगरका कप्तान सन्दीप लामिछाने १ रनमै आउट भएपछि क्रिजमा आएका क्रिस सोलले धमाका मच्चाएपछि विराटनगरको जित निश्चित भएको हो । सोलले पहिलो बलमा रन जोड्न नसके पनि त्यसपछिका ३ बलमा १४ रन हिर्काए ।
यादवले आफ्नो स्पेलमा खर्चिएको सो रन एनपिएलको मात्र होइन, सायद नेपाली फ्रेन्चाइजकै महँगो बलिङमध्ये हो । संसारमा टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा महँगो बलिङको कीर्तिमान गाम्बियाका मासिया जोबार्टनको नाममा छ । उनले जिम्बाबेविरुद्धको खेलमा ९३ रन खर्चेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को पूर्ण सदस्यमध्येको कमजोर टोली जिम्बाबेविरुद्धको यो प्रदर्शन सामान्य मानिए पनि फ्रेन्चाइजमा भने विरलै हो ।
बुधबारको खेलसँग एउटा अर्को अचम्मको संयोग पनि जोडिएको छ । विवेकको अन्तिम ओभरको बलिङमा धुवाँदार ब्याटिङ गरेका सोलकै हकमा खराब कीर्तिमान पनि छ । सोलले २७ जुलाई, २०२२ मा न्युजिल्यान्ड र स्कटल्यान्डबीचको खेलमा ७२ रन खर्चेका थिए । टी–२० अन्तर्राष्ट्रियमा महँगो सावित भएका बलरको सूचीमा उनको नाम तेस्रो स्थानमा छ । फ्रेन्चाइज र घरेलु लिगको हकका भने ६० देखि ७० रनको बीचमा खर्चिनेहरू धेरै छन् । फ्रेन्चाइजको हकमा भने गुजरातका मोहित शर्मा टी–२० का सबैभन्दा महँगा बलर हुन् । सन् २०२४ को आइपिएलमा दिल्लीसँगको खेलमा उनले ७३ रन खर्चेका थिए ।
एनपिएलका दुवै खेलमा सोलको बलिङ भने तुलनात्मक रूपमा महँगो सावित भएको छ । बलिङमा खराब प्रदर्शन गरेका विराटनगरका विवेकले पहिलो पारीमा ७ बलको सामना गर्दै ३ छक्काको मद्दतमा १९ रन जोड्न सफल भए । सोलले भने ४ ओभरमा ३४ रन दिँदै कुनै विकेट लिन सकेनन् । जनकपुरसँगको पहिलो खेलमा ३ ओभरमा सोलले ३१ रन खर्चेका थिए ।
प्रतिक्रिया