एकादेशको कथा नबनोस् टोखा–छहरे सुुरुङ मार्ग

नेपाल र चीनबीच काठमाडौँको टोखा र नुवाकोटको छहरे सुरूङ मार्ग परियोजना निर्माणसम्बन्धी पत्र आदानप्रदान भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा गत मंगलबार यो परियोजना निर्माणसम्बन्धि पत्र आदानप्रदान भएको हो । टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि नेपालले चीनबाट सहयोगको अपेक्षा गरेको पञ्चायत कालदेखि नै हो । तर, चीनले तिब्बतको दक्षिणी उपत्यका केरुङसम्म सडक नबनेकोले खासै चासो दिएको थिएन ।

३ दशकअघि केरुङ उपत्यका सुविधा सम्पन्न सडक यातायातले जोडिएपछि चीनले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चासो दिँदै आएको छ । २०७६ सालमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आएका बेला यो परियोजना अघि बढाउने विषयमा २ पक्षीय सहमति भएको थियो ।

५ वर्षको यो अन्तरालमा संभाव्यता अध्ययन सम्पन्न गर्नेबाहेक अन्य प्रगति भएको छैन । करिब ५ किलोमिटर लम्बाइको हुने यो सुरुङ मार्ग निर्माणका लागि करिव ५० अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । टोखा–छहरे सुरुङ मार्गले काठमाडौँ उपत्यकालाई मध्यपहाडी लोकमार्ग तथा पृथ्वी राजमार्गको गल्छी बजारसँग छोटो दुरीमा जोड्नेछ ।

यसैगरी नुवाकोट जिल्लाको लिखु, तादी र त्रिशूली उपत्यकालाई पनि काठमाडौँ सहरकै एउटा अंगका रूपमा विकास गर्न मद्दत पुर्याउनेछ । यति मात्रै होइन चीनको दक्षिणी सहर केरुङ उपत्यका र नेपालको राजधानी काठमाडौँ उपत्यकाबीच छोटो र भरपर्दो सडक यातायातको सुविधा हुन्छ ।

टोखा–छहरे सुरुङ मार्ग नेपालका लागि सर्वाधिक महत्वको आयोजना हो भन्ने कुरामा देशका नीति निर्माताबीच खासै विवाद छैन । सुरुङ मार्गमध्ये पहिलो प्राथमिकतामा टोखा–छहरे पर्नुपथ्र्यो । नागढुंगा सुरुङ मार्ग प्राथमिकतामा पर्यो, पाल्पाको सिद्धगुफा सुरुङ मार्ग प्राथमिकतामा पर्यो, तर टोखा–छहरे सरुङ मार्ग भने अहिलेसम्म प्राथमिकतामा पर्ने सकेको छैन । अन्य सुरुङ मार्ग विदेशीसँग ऋण लिएर धमाधम निर्माण गरिँदै छ । तर टोखा–छहरे सुरुङ मार्ग निर्माण चीनले सित्तैमा गरिदेओस् भन्ने अपेक्षा गरिएको छ । यता यो सुरुङ मार्गलाई बिआरआई अन्तर्गतको परियोजनामा समावेश गरिएको छ ।

बिआरआईअन्तर्गत निर्माण हुने परियोजनाका लागि आर्थिक लगानी कसरी जुटाउने ? भन्ने सन्दर्भमा चीनको आफ्नै अवधारणा छ । चीनले विश्वका सयौँ देशमा बिआरआई अन्तर्गतका परियोजना निर्माण गरिरहेको छ, तर एउटा परियोजना पनि अनुदानमा निर्माण गरेको छैन । जिल्लास्तरका स–साना सडक तथा पुल निर्माणका लागि विदेशीसँग ऋण लिइरहेको नेपालले आर्थिक र रणनीतिक दृष्टिले सबैभन्दा फलदायी मानिने टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि किन चिनियाँ ऋण सहयोग अस्वीकार गरिरहेको छ ? भन्ने प्रश्न निकै पेचिलो बनेको छ ।

केरुङलाई नेपालका धेरैले हिमाली उपत्यका भन्ने गरेका छन् । तर केरुङ हिमाली उपत्यका नभएर हिमालभन्दा दक्षिणतर्फ पर्ने उच्च पहाडी क्षेत्रको उपत्यका हो । पश्चिमोत्तरबाट दक्षिणपूर्वतर्फ फैलिएको केरुङ उपत्यका नेपालको रसुवागढीसँग जोडिएको छ । समुन्द्रको सतहबाट १८ सयदेखि २७ सय मिटर उचाइमा रहेको केरुङ पुस–माघ महिनामा अक्कल झुक्कल हिउँ पर्नेबाहेक अत्यन्त अनुकूल हावापानी भएको उपत्यका हो । करिब करिब नेपालको पोखरा उपत्यका जत्तिकै क्षेत्रफल रहेको केरुङ उपत्यकामा निकै छिटो गतिका साथ सहरीकरण भइरहेको छ ।

चीनको केरुङ उपत्यका र राजधानी काठमाडौँ उपत्याकाबीच हालको सडक दुरी करिव १२० किलोमिटर छ । टोखा–छहरे सुरुङ मार्ग निर्माण सम्पन्न भएमा १०५ किलोमिटर दुरीमा झर्ने छ । यसैगरी स्याफ्रुबेसी–बेत्रावती सुरुङ मार्ग निर्माणको अध्ययन पनि भइरहेको छ । यो सुरुङ मार्ग निर्माण भएका केरुङ र काठमाडौँ बीचको सडक दुरी ८० किलोमिटरमा सीमित हुनेछ । त्यसैले नेपालका लागि अहिलेको मुख्य प्राथमिकता भनेको केरुङ–काठमाडौँ सुविधासम्पन्न सडक तथा सुरुङ मार्ग हो ।

जहाँसम्म केरुङ–काठमाडौं रेल मार्गको कुरा छ, यो अझै केही वर्षसम्म पाइप लाइनमै रहने परियोजना हो । किनकी चीनको शिगात्सेबाट केरुङसम्म करिव ४०० किलोमिटर लामो रेल मार्ग निर्माण आरम्भ हुनै बाँकी छ । केरुङसम्म चीनले जुन बेला रेलमार्ग ल्याउँछ, त्यही बेला केरुङबाट काठमाडौँसम्मको ८० किलोमिटर लामो रेल मार्ग सम्पन्न हुने गरी नेपालले पनि रणनीति बनाउनुपर्छ । हालका लागि सुविधासम्पन्न सडक तथा सुरुङ मार्ग नै मुख्य प्राथमिकता हो । विदेशीसँग ऋण लिएर पाल्पाको सिद्ध गुफा सुरुङ मार्ग बनाउन मिल्ने, तर केरुङ– काठमाडौं सुविधासम्पन्न सडक तथा सुरुङ मार्ग बनाउनका लागि चीनसँग ऋण लिन मिल्दै नमिल्ने तर्क शंकास्पद छ ।

प्रतिक्रिया