एउटै पार्टीको नाममा विभिन्न समूह खडा गर्ने, निर्वाचन आयोगसम्म विवाद पुर्याउने र सर्वोच्च अदालतको फैसलापश्चात फेरि नयाँ दल खोल्ने काम हुँदै आएको छ । गजेन्द्रनारायण सिंहकै कतिपय यस्ता वफादार सिपाहीहरू छन् जो कम पुँजी लगाएर नेपाल सद्भावना पार्टीको खरिद गर्ने तथा बढी पैसा दिनेलाई बिक्री गर्दै आएका छन् । यसपटक पुनः नेपाल सद्भावना पार्टीको खरिद बिक्रीका लागि बैना रकम दिने काम भइसकेको छ । यसै महिनाको पहिलो सातामा जनकपुर र वीरगन्जमा सम्पन्न नेपाल सद्भावना पार्टीको महाधिवेशनको विषय निर्वाचन आयोगसमक्ष पुगेको छ ।
नेपाल सद्भावना पार्टीलाई देशको सबैभन्दा पुरानो सार्थक मधेसी दलको मान्यता प्राप्त भयो । हुनत २०१० सालतिर कुलानन्द झा, रामजनम तिवारी र वेदानन्द झाद्वारा गठित तराई कांग्रेसलाई नेपालको पहिलो मधेसी दल मानिन्छ । जसले देशको पहिलो आमनिर्वाचन पनि लडेको थियो र २ प्रतिशत जति मत पनि ल्याएको थियो, तर राजा महेन्द्रद्वारा २०१७ पुस १ गते देशमा संसदीय बहुदलीय लोकतन्त्रलाई समाप्त पारी निर्दलीय पञ्चायती व्यवस्थालाई लादिएपछि नेपाली कांग्रेस र कम्युनिस्टका कतिपय नेताहरू जस्तै तराई कांग्रेसका अधिकांश नेताहरू पनि पञ्चायतमा प्रवेश गरे ।
केही सिद्धान्तवादी र संघर्षशील नेताहरू लोकतन्त्रको पक्षमा उभिए तथा जेल यातना र निर्वासनको पीडा भोग्न पनि तयार भए । २०४६ सालमा देशमा प्रजातन्त्रको पुनःस्थापनाका लागि भएको आन्दोलनको सफलतापश्चात देशमा राजनीतिक दलहरू सक्रिय हुन थाले । यसै क्रममा २०३९ सालमा बसाइँसराइसम्बन्धी जनसंख्या प्रतिवेदनको विरुद्धमा खुलेको नेपाली सद्भावना परिषद्लाई पनि गजेन्द्रनारायण सिंह र रामजनम तिवारी लगायतका नेताहरू मिलेर एउटा राजनीतिक पार्टीको आकार दिए । नेपाल सद्भावना पार्टीको रूपमा खोलिएको यस पार्टीले २०४८, २०५१ र २०५६ सालको आमनिर्वाचनमा ३ प्रतिशतभन्दा बढी मत ल्याई राष्ट्रिय राजनीतिक दलको मान्यता पनि प्राप्त गरेको थियो । तर, नेपाल सद्भावना पार्टीका नेताहरूमा देखिएको सत्ता र पदको लोभ, जातिवाद तथा परिवारवाद तथा निहित स्वार्थपूर्तिको खेलले नेपाल सद्भावना पार्टीको मर्यादित इतिहासलाई नै धुमिल बनाउने काम गर्यो ।
एउटै पार्टीको नाममा विभिन्न समूह खडा गर्ने, निर्वाचन आयोगसम्म विवाद पुर्याउने र सर्वोच्च अदालतको फैसलापश्चात फेरि नयाँ दल खोल्ने काम हुँदै आएको छ । गजेन्द्रनारायण सिंहकै कतिपय यस्ता वफादार सिपाहीहरू छन् जो कम पुँजी लगाएर नेपाल सद्भावना पार्टीको खरिद गर्ने तथा बढी पैसा दिनेलाई बिक्री गर्दै आएका छन् । यसपटक पुनः नेपाल सद्भावना पार्टीको खरिद बिक्रीका लागि बैना रकम दिने काम भइसकेको छ । यसै महिनाको पहिलो सातामा जनकपुर र वीरगन्जमा सम्पन्न नेपाल सद्भावना पार्टीको महाधिवेशनको विषय निर्वाचन आयोगसमक्ष पुगेको छ ।
२०४७ सालमा स्थापित नेपाल सद्भावना पार्टीले २०४८ सालमा भएको पहिलो आमनिर्वाचनमा ४ प्रतिशत जति मतसहित ६ वटा सिट जितेको थियो । पार्टीका संस्थापक र बरिष्ठ नेता रामजनम तिवारीलाई राष्ट्रिय सभामा ल्याउने वाचा गजेन्द्रनारायण सिंहले गरेका थिए र उनलाई चुनावमा उम्मेदवार नबनाई चुनाव प्रचारमा खटाइएको थियो । निर्वाचन परिणाम घोषित भएपछि पार्टीलाई राष्ट्रिय सभामा पनि एउटा सिट प्राप्त भएको थियो तर पार्टी अध्यक्ष गजेन्द्रनारायण सिंहले सो स्थानमा रामजनम तिवारीलाई नल्याई जातीय सन्तुलन मिलाउने तर्क राख्दै सर्लाही–४ मा पराजित पार्टीका उम्मेदवार रामेश्वर राय यादवलाई राष्ट्रिय सभामा ल्याए । यसवाट व्यथित रामजनम तिवारीले २०४९–०५० सालतिर नेपाल सद्भावना पार्टी (आर) को गठन गरे, उनलाई पार्टीका बरिष्ठ नेताहरू रामचन्द्र मिश्र, श्यामलाल मिश्र र भाग्यनाथ गुप्ताहरूले सहयोग गरेका थिए ।
२०५१ सालको मध्यावधि चुनाव ताका नेसपा (आर) को विलय नेपाल सद्भाव पार्टीमा भयो । ‘आफनो हातबाट रोपिएको विषवृक्षलाई उखेल्न र काटन माया लाग्छ, तर यो त राजनीतिक पार्टी हो भन्दै रामजनम तिवारी मूल पार्टीमा फर्किए । २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाल सद्भावना पार्टीको मत प्रतिशत र सिट संस्थामा ह्रास आयो । नेकपा एमालेको अल्पमतको सरकार अस्तित्वमा आयो । विपक्षी दलहरू संसद्का समितिको नेतृत्व आफनो हात्तमा लिन चाहन्थे नेपाली कांग्रेस, राप्रपा र सद्भावना अध्यक्ष गजेन्द्रनारायण सिंहबीच यस विषयमा सहमति पनि कायम भएको थियो तर नेकपा एमालेले संसद्को सार्वजनिक लेखा समितिको सभापतिको महत्वपूर्ण पद नेपाली कांग्रेसको सट्टा सद्भावना पार्टीलाई दिने प्रस्ताव गर्यो, तर गजेन्द्रनारायण सिंह विपक्षी मोर्चामा सामेल हुन चाहन्थे जबकी पार्टीका प्रखर वक्ता र कुशल सांसद हृदयेश त्रिपार्टी भने संसद्को यो महत्वपूर्ण समिति पार्टीको पक्षमा रहोस् भने चाहन्थे ।
त्रिपाठीलाई सार्वजनिक लेखा समितिको सभापति बनाउने विषयमा एमाले मात्रै होइन राप्रपाभित्र पनि सहमति बन्दै गयो र उनी सार्वजनिक लेखा समितिको सभापतिमा निर्वाचित भए । गजेन्द्रनारायण सिंहलाई यो कुरा मन परेको थिएन । तर, पार्टी भित्रकै २ अन्य नेताहरू रामेश्वर राम यादव र राजेन्द्र महतोहरू खुलेर त्रिपाठीको पक्षमा उभिएका थिए । पार्टी अध्यक्ष गजेन्द्रनारायण सिंहले त्रिपाठीमाथि अनुशासनको कारबाही गरेपछि पार्टी विभाजनतिर गयो । २०५३ सालमा रामेश्वर राय यादवको नेतृत्वमा समाजवादी जनता दलको गठन भयो ।
त्रिपाठी, राजेन्द्र महतो र सरिता गिरीहरू यसमा सहभागी थिए । भित्र विवाद बढ्दै जाँदा एक अन्य सांसद अनिश अन्सारी भने नेपाली कांग्रेसमा प्रवेश गरे । मित्र धर्मको निर्वाह गर्दै त्रिपाठीले पनि आफ्नो कोटामा आएको वन तथा भू–संरक्षण मन्त्रालय रामेश्वर राय यादवलाई दिए । २०५४ सालको अन्त्यतिर समाजवादी जनता दलको विलय पनि नेपाल सद्भावना पार्टीमा भयो । २०५४ सालको विराटनगर महाधिवेशनमा पार्टीका केही युवाहरू गजेन्द्र नारायण सिंहलाई मानार्थ नेता बनाएर पार्टीको नेतृत्वमा आउन चाहन्थे तर दिग्गज गजेन्द्र नारायण सिंहतर्फ यो कुरा मन परेको थिएन, अन्ततः उनी नै अध्यक्ष भए र पार्टीका युवा नेताहरू गोविन्द चौधरी, जितेन्द्र सोनल तथा सरिता गिरीहरू बहिष्करणमा पर्न थाले ।
२०५८ माघ १० गते गजेन्द्रनारायण सिंहको निधनपश्चात पार्टी उपाध्यक्ष बद्रीप्रसाद मण्डल पार्टीका कार्यवाहक अध्यक्ष बनाइए । २०५९ असोज–कात्तिकतिर निर्धारित ६ महिनाभित्र महाधिवेशन नगराइकन नै बद्रीप्रसाद मण्डलले थप ६ महिनाका लागि आफ्नो कार्यकाल बढाउने प्रस्ताव केन्द्रीय समितिमा ल्याउँदा त्रिपाठीले त्यसको विरोध गरेका थिए । जबकी त्यतिवेला बद्रीप्रसाद मण्डल देशका उपप्रधान स्थानीय एवं कृषि मन्त्री भएका कारण पार्टीका अन्य कुनै पनि नेताले उनको विरोध गरेनन् । बद्रीप्रसाद मण्डलले पार्टीका अन्य कतिपय नेतालाई मन्त्री बनाइदिन्छु भन्ने आश्वासन बाँडेका थिए ।
२०५९ सालको चैततिर बद्रीप्रसाद मण्डलले राजविराज महाधिवेशनमा आफना १–१ विरोधीलाई किनारा गरी पार्टीमा वर्चस्व बढाउन थालेपछि पार्टीका नेताहरू त्रिपाठी, भरतविमल यादव, राजेन्द्र महतो, सरिता गिरी, अनिस अन्सारीहरूले गजेन्द्रनारायण सिंहकी विधवा श्रीमती आनन्दीदेवी सिंह (७२ वर्षीयालाई) पार्टीको अध्यक्ष बनाए । विधिवत महाधिवेशनवाट बद्रीप्रसाद मण्डल र समानान्तर अधिवेशनवाट आनन्दीदेवी सिंह अध्यक्ष बनाइए । निर्वाचन आयोग र सर्वोच्च अदालतबाट पनि बद्रीप्रसाद नेतृत्वको कमिटी नै मान्य भएपछि नेसपा (आनन्दी देवी) को गठन भयो ।
यसरी एकातिर बद्रीप्रसाद मण्डल नेतृत्वको पार्टी राजा ज्ञानेन्द्रको कदमको पक्षमा उभियो भने आनन्दीदेवी लोकतन्त्रका बहालीको माग गर्दै सडक आन्दोलनमा आयो । जनआन्दोलन–२ को सफलतापश्चात श्रीमती आनन्दीदेवी नेतृत्वको नेसपा (आ) मा विवाद बढ्दै गयो । मन्त्री तथा संसद्को पद हात पार्न कलह सुरु भयो । बद्री मण्डलले आफनो ठाउँमा लक्ष्मणलाल कर्णलाई अध्यक्ष बनाए । त्रिपाठीले १० महिनापछि पदबाट राजीनामा गरे । राजेन्द्र महतोले आनन्दीदेवीको हस्ताक्षरवाट सिफारिस गराई मन्त्री बने । २०६४ असारमा राजेन्द्र महतोले लक्ष्मणलाल नेतृत्वको पार्टीको सम्पूर्ण जिम्मेवारी स्वीकार गरी पार्टी एकीकरण गराए । ३ महिनापछि महाधिवेशन मार्फत राजेन्द्र महतो नेसपा (आ) को नेतृत्व लिन चाहन्थे तर नेसा र नेसा (आ) को एकीकरण हुँदा त्रिपाठी, रामेश्वर राय यादव, भरत विमल यादवलाई कमिटीमा नराखिएको कारण विवाद भयो ।
राजेन्द्र महतो नेतृत्वको बीरगन्ज महाधिवेशन निर्वाचन आयोग र अदालतवाट मान्य भएन । पछि सदभावना पार्टीमा पनि विवाद भयो र संघीय सद्भावना पार्टी र राष्ट्रिय सद्भावना पार्टीका जन्म भयो जबकी, नेसा (आ) मा विवाद हुँदा श्यामसुन्दर गुप्ताले छुट्टै पार्टी खोले तर मान्यता सरिता गिरीहरूले पाए । २०७१ सालमा सरिता गिरीले पनि संघीय सदभावना पार्टीसित एकीकरण गरिन् तर त्यो नेपाल सद्भावना पार्टी पनि २०७४ वैशाखमा राष्ट्रिय जनता पार्टीमा समाहित भयो । धनुषाका रामकुमार महतोले पुनः नेपाल सद्भावना पार्टी खोले । रामकुमार महतोले जनकपुरमा नेपाल पार्टीको अधिवेशन गरेका छन् जबकी पूर्वमन्त्री रामचन्द्र कुशवाहाले वीरगन्जमा दुवै पक्षले मान्यताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । २०४७ सालदेखि २०६३ सालसम्म गौरवशाली इतिहास बोकोको नेसपा र नेसपा (आ) अचेल सार्वजनिक वाटोको ढुंगा भएको छ, जसलाई जो कोहीले पनि लात हानिरहेको अवस्था छ ।
प्रतिक्रिया