मेयरमा बालेन शाह आएपछि काठमाडौँ महानगरपालिका पहिलाको भन्दा सफा सुन्दर देखिन थालेको छ । । त्यसैगरी अव्यवस्थित रूपमा राख्ने गरिएका फुटपाथ पसलहरू पनि महानगरले झण्डै झण्डै हटाइसकेको छ । अव्यवस्थित तरिकाले राख्ने गरेको सवारी पार्किङहरूलाई पनि व्यवस्थित गर्ने कोसिस भइरहेका छन् । एउटा प्रयोजनका लागि बनाएको स्थानलाई अर्कै प्रयाजनमा प्रयोग गरिरहेको विषयमा पनि महानगरले हात हालेको छ ।
नेपाली राजनीतिको वर्तमान समयमा ३ जना पात्र सर्वाधिक चर्चामा छन् । चर्चाको दृष्टिकोणले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने, मेडिकल व्यवसायी दुर्गा प्रसाई र काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहलाई यतिबेला कसैले उछिन्न सकेका छैनन् । यी ३ चर्चित पात्रमध्ये रास्वपाका सभापति लामिछाले सहकारीको रकम अपचलनको आरोप खेपिरहेका छन् भने मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि बैंकको किस्ता नतिरेको र साइबर अपराधको आरोप लागेको छ । तर, काठमाडौंको मेयर शाह भने अहिलेसम्म ‘क्लिन’ छन् । उनीमाथि कुनै दाग लागेको छैन ।
लामिछाने र प्रसाईमाथि लागेको आरोप राजनीतिक होइन । राजनीतिक प्रकरणमा उनीहरू पक्राउ परेका होइनन् । ठगीसम्वन्धी अपराधमा संलग्न भएको अभियोग उनीहरूलाई लागेको छ । तर यी लामिछाने र प्रसाईलाई समर्थन गर्नेहरूको भिड अहिले पनि ठुलै छ । अपराधको अभियोगपछि उनीहरूका समर्थकको संख्या घट्ने अनुमान गरिएको थियो ।
त्यसो त मेयर बालेन शाहले कार्यकाल संहालेको आधासमय भएको छ । साढे २ वर्षको यो अवधिमा उनले काठमाडौँ महानगरीय क्षेत्रभित्र उल्लेखनीय काम गरेको देखिएको छैन । त्यसैले उनका समर्थक घट्ने अनुमान गरिएको थियो, तर थुप्रै अनलाइन मेडिया र युट्युबेहरू बालेन शाहको पछि लागेका छन् । शाह काठमाडौँका मेयर हुन्, तर उनका समर्थकहरू काठमाडौँ भित्रका भन्दा पनि काठमाडौँ बाहिरका धेरै छन् । समाजिक संजालमै पनि काठमाडौँका मतदाताले उनको खासै प्रशंसा गरेको पाइन्न तर दूरदराजका गाउँबाट विदेश गएर बस्नेहरूका सामाजिक संजाल बालेनका प्रसस्तीले भरिने गरेका छन् ।
कार्यकारी पदमा भएका व्यक्तिको समर्थन वा विरोध उसले देखाएको ‘परफरमेन्स’का आधारमा हुन्छ । उसले आफ्नो कार्यक्षेत्रभित्र राम्रो काम गरे प्रशंसा हुनु र राम्रो काम गर्न नसके विरोध हुनु स्वभाविकै हो । तर बालेन शाहले न राम्रो काम गर्न सकेका छन्, न नराम्रो नै गरेका छन् । गत चुनावमा पनि काठमाडौँका करिब ७० प्रतिशत मतदाताले उनलाई भोट दिएका थिएनन् । काठमाडौँका कतिपय रैथानेले उनलाई देखेका पनि छैनन्, चिन्दा पनि चिन्दैनन् । खासमा भन्ने हो भने बालेन शाहका फेसबुके समर्थकहरू धेरै रहेका छन् । राजनीतिक शास्त्रमा यस्तोलाई अन्धो समर्थन भन्ने गरिन्छ ।
विदेशमा बस्ने नेपालीहरूले सामाजिक संजालमा भक्तपुर र ललितपुर सहरको फोटो पोस्ट गरेर ‘आहा ! बालेन सिटी’ भन्दै पोस्ट गरिदिँदा चिरिबाबु महर्जनको चित्त अवश्य दुख्दो हो, तर जसले ललितपुर र काठमाडौँ देखेकै छैन उसले त यस्तो पोस्ट पत्याउने नै भयो । त्यसो त बालेनको चमत्कार भन्दै बुटवल–भैरहवा सडक किनारको फूल बगैँचाको तस्बिर पोस्ट गरिँदा तिलोत्तमा नगरपालिकाका तत्कालीन मेयर बासुदेव घिमिरेको चित्त खुब दुख्दो हो, तर दैलेखबाट तल्लो बाटो हुँदै अमेरिका पुगेको युवाले यस्ता तस्बिरहरू काठमाडौँका हुन् कि होइनन् ? कसरी थाहा पाउनु ?
साढे २ वर्ष अघिको र अहिलेको काठमाडौँ सहरमा खासै भिन्नता आएको छैन । भूकम्पले भत्केका केही संरचनाको पुननिर्माणबाहेक खासै केही भिन्नता छैन । फोहोरको दुर्गन्ध, धुँवा धुलो घटेको छैन, बरु बढेको छ । काठमाडौँका रैथानेहरूलाई यो कुरा थाहा छ । त्यसैले बालेनको प्रसस्ती काठमाडौँमा होइन कि, काठमाडौँ बाहिर र विदेशमा बस्ने नेपालीहरू माझ गराइएको छ ।
काठमाडौँ महानगरपालिकामार्फत केही कामहरू विगत कैयौँ वर्षदेखि निरन्तर रूपमा हुँदै आएका छन् । शाही शासनकालमा जनप्रतिनिधि नहुँदा पनि यस्ता काम भइरहेकै थिए । काठमाडौँ महानगरमा जनताले तिरेको धेरै ठुलो राजस्व जम्मा हुन्छ । यो आम्दानीले केही न केही काम हुने गरेका छन् । फरक यति हो कि यसअघि महानगरपालिकाले यो यो काम ग¥यो भनिन्थ्यो, तर अहिले बालेन शाहले यो यो काम गरे भन्न थालिएको छ । यस क्षेत्रभित्र जति पनि राम्रा नराम्रा कामहरू भइरहेका छन् वा हुने गरेका छन् ती सबै महानगरपालिकाले गरेको हो भन्दा फरक नपर्ला । यस्ता काम आममहानगरबासीले तिरेको करको रकमले हुने हो, बालेन शाहको निज िसम्पतिले गरिने होइन । यो यथार्थतालाई बालेनका समर्थकहरूले बुझ्नैपर्ने हुन्छ ।
बालेनको बारेमा कतिपय अनलाइन मिडिया युट्यबेहरूले बढी नै प्रचारप्रसार गरिरहेका कारण एउटा आशंका उत्पन्न भएको छ । त्यो हो, ‘मोदी मिडिया भनेजस्तै काठमाडौँमा पनि बालेनले मिडियाहरूलाई पालेका त छैनन् ?’ केही समयअघि काठमाडौँको इन्द्रचोकदेखि नयाँ सडको जुद्धशालिकसम्म बिजुलीको तारलाई विद्युत् प्राधिकरणले अन्डरग्राउन्ड गरेको छ । त्यो कामलाई पनि बालेन शाहले गरेको भनेर फेसबुक र युट्युबमा प्रचार भइरहेको छ । त्यसो त त्यहाँ काठमाडाँै महानगरपालिकाले पदमार्ग फराकिलो गरेकोचाहिँ पक्का हो । यसमा बालेनको प्रयास रहेको कुरामा कसैको दुई मत नहोला । तर अरूले गरेको कामलाई पनि बालेनले गरेको भन्नु अनुचित होइन र ? काठमाडौँ महानगरपालिकाले गर्ने गरेको कामहरूलाई केही अनलाइन मिडियाहरूले आमनागरिकमाझ भ्रम छरिरहेका छन्भन्दा पनि फरक नपार्ला ।
विगतमा काठमाडौँ महानगरपालिकामा राजनीतिक पार्टीका कार्यकर्ताहरू मात्र मेयर बन्ने र तिनीहरूले पार्टीको स्वार्थ तथा निर्देशनमा काम गर्ने भएकोले जनता सन्तुष्ट भएनन् । २०७९ सालको स्थानीयतहको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार बालेन शाहलाइ मेयरमा जिताएका थिए काठमाडौँका आममतदाताहरूले । मेयरमा बालेन शाह आएपछि काठमाडौँ महानगरपालिका पहिलाको भन्दा सफा सुन्दर देखिन थालेको छ । । त्यसैगरी अव्यवस्थित रूपमा राख्ने गरिएका फुटपाथ पसलहरू पनि महानगरले झण्डै झण्डै हटाइसकेको छ । अव्यवस्थित तरिकाले राख्ने गरेको सवारी पार्किङहरूलाई पनि व्यवस्थित गर्ने कोशिस भइरहेका छन् ।
एउटा प्रयोजनका लागि बनाएको स्थानलाई अर्कै प्रयाजनमा प्रयोग गरिरहेको विषयमा पनि महानगरले हात हालेको छ । सार्वजनिक स्थानहरू अतिक्रमण गर्नेलाई पनि हटाउने काम महानगरले गेको छ । राम्रो कामलाई राम्रो भन्नुपर्छ भने नराम्रो कामलाई नराम्रो भन्न सक्नुपर्छ । झोले भएर समर्थन वा विरोध गर्ने, त्यसको पछिपछि लाग्ने काम जिम्मेवार नागरिकले गर्नु हुन्न । काठमाडौँ महानगरपालिकाले सर्वसाधारण सोझा साधाहरूको घरटहरामा डोजरले भत्काउने र ठुलाबडा पावरवालाहरूको अबैध संरचनाहरूलाई भत्काउन नसक्ने वा नभत्काउने भनेर पनि आरोप लाग्ने गरेका छन् । ठमेलको कमलपोखरीको सम्पदामा बनाएको छाया सेन्टरलाई भने भत्काउन त के यसको बारेमा बालेन होस वा काठमाडौँ महानगरपालिकोले एक शब्द पनि बोलेका छैनन् ।
त्यसैगरी नर्भिक हस्पिटलमा निर्माण गरिरहेका अबैध संरचनाहरूलाई पनि काठमाडौँ महानगरपालिकाले भत्काउन सकेको छैन । काठमाडौँको सानो टुँडिखेलमा आर्मीहरूले विभिन्न संरचनाहरू निर्माण गरेर पैसा ब्यापार गरिरहेका छन्, तर महानगरपालिकाले एक शब्द पनि बोल्न सकेको छैन । बालेन शाहको थुप्रै फेसबुके समर्थकहरू छन् । समर्थक हुन राम्रो हो, तर कुनै पनि कामको समर्थक वा विरोध गर्दा त्यस कामको के कति सदुपयोग हुन्छ वा दरुपयोग हो कि भन्ने पनि हेर्नुपर्दछ । काठमाडौँ महानगरपालिकाले बिहान बिहान पानीको ट्यांकरले काठमाडौँका मुख्य सडकहरू पखाल्ने गरिरहेको छ । यो आवश्यक छ त ? यता आमनागरिकहरूको घरघरमा पानीको समस्या भइरहेको छ । उता काठमाडौँ महानगरपालिकाले पानीले सडक पखालिरहेको छ । सडक ब्रुमरले सफा गरे पनि त हन्छ नि । यसकारणले पनि राम्रो कामलाई राम्रो र नराम्रो कामलाई नराम्रे भन्न सक्नुपर्छ ।
त्यसो त काठमाडौँ महानगरपालिकाले गर्ने गरेका कतिपय राम्रा कामहरूमा पनि विवाद हुने गरेका छन् । देश र जनताका लागि काम गर्छु, भन्नेलाई काम गर्न दिनुपर्छ । मेयर शाहको पदावधि २ वर्ष र केही महिना मात्र बाँकी छ । यो साढे २ वर्षमा मेयर बालेनको नेतृत्वमा काठमाडौँ महानगरपालिकाले गरेको कामको सही मूल्याकन सही विश्लेषण गर्नुपर्दछ र राम्रो कामलाई राम्रो भन्नुपर्छ भने राम्रो कामको प्रशंसा पनि गर्नुपर्छ । विरोधको लागि विरोध मात्र पनि गर्नु हुँदैन । मेयर बालेनको नेतृत्वमा काठमाडौँ महानगरपालिकाले गरेको काम सबै सही र राम्रो हुन्छ नै भन्ने पनि छैन । अबको बाँकी समयमा मेयर शाहले काठमाडौँका आदिबासी रैथानेहरूको मन पनि जित्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया