केही वर्ष अघिसम्म परालको ठुलो महत्व थियो । तर पशुपालनमा कमी भएसँगै परालको महत्व घटेको छ । तराई मधेसका जिल्लामा केही वर्षयता खेतमै पराल जलाउने प्रवृत्ति बढ्दै गएको छ । यसले माटोको उर्वराशक्तिमा ह्रास मात्र होइन, वातावरण दूषित हुनुका साथै मानिसको स्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको छ ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पराल, प्लास्टिक तथा घाँसपात जलाउन स्थानीयलाई प्रतिबन्ध लगाएको छ । नगरका विभिन्न क्षेत्रका खेत खलियान तथा खाली जग्गामा फाँडिएको झाडी, धानको बोटको जरा, पराल तथा प्लास्टिकजन्य फोहोर जलाउँदा वातावरण प्रदुषित भएको तथा जनस्वास्थ्यमा असर परिरहेको भन्दै यस्ता वस्तुहरू नजलाउन आग्रह गरेको हो । नगरपालिकाले आफ्नो आग्रहलाई बेवास्ता गर्दै कसैले यस्ता वस्तुहरू जलाएको पाइएमा कानुनबमोजिम कारबाही गर्ने पनि जनाएको छ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । क्षेत्रफलको हिसाबले पनि यसको स्थान पहिलो नै छ । धानको सह उत्पादन हो पराल । केही वर्ष अघिसम्म परालको ठूलो महत्व थियो । तर पशुपालनमा कमी भएसँगै परालको महत्व घटेको छ । तराई मधेसका जिल्लामा केही वर्षयता खेतमै पराल जलाउने प्रवृत्ति बढ्दै गएको छ । यसले माटोको उर्वराशक्तिमा ह्रास मात्र होइन, वातावरण दूषित हुनुका साथै मानिसको स्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको छ ।
खेती गर्ने रैथाने तरिकालाई व्यवस्थित गर्न नसक्दा र मेसिनको बढ्दो प्रयोगले वातावरण र उर्वराशक्तिमा असर परेको हो । खेतीमा नकारात्मक प्रभाव देखिन थालेपछि भारतको सर्वोच्च अदालतले खेतमा पराल जलाउन रोक लगाए पनि नेपाल सरकार भने यसप्रति अहिलेसम्म गम्भीर छैन । नेपालको सन्दर्भमा अहिले पनि पराल खेतमै जलाइरहेको देखिन्छ जसको मुख्य कारण यो हो कि उनलाई थाहा छैन कि उनी आफैँलाई कति ठूलो नोक्सान पु¥याइरहेका छन् ।
जलवायु परिवर्तनका कारण माटोको उर्वराशक्तिको समस्या बर्सेनि बढदै गए पनि संरक्षणमा जुटनुको साटो किसान आफैँ वातावरणलाई दुषित बनाउन अग्रसर देखिएका छन् । पछिल्ला वर्षहरूमा मेसिनले धान चुटेर घर लाने र पराल खेतमै जलाउने प्रवृत्ति मौलाएको छ । पशुचौपाया पालनमा ठुलो कमी आएको छ । पहिले पहिले एकहल गोरु र एउटा भैँसी प्रायः किसानको घरमा हुन्थ्यो । गोरुको सट्टा अब त ट्रयाक्टरले नै खेती हुन्छ । व्यापारीले पनि पराल लाँदैनन् । सित्तैमा दिँदासमेत पराल कसैले नलैजाने भएपछि पराललाई खेतमै आगो लगाएर खरानी बनाई गहुँ खेती गर्ने चलन बढेको छ ।
समयमा मजदुर नपाउनु, गोरु पालनमा विभिन्न समस्या देखिनु, ट्रयाक्टरले खनजोत गर्न सजिलो हुनु, समयको बचत लगायतका कारण पराल व्यवस्थापन गर्नुका साटो किसानले केही वर्ष यता आगो लगाइदिने जस्तो जोखिमपूर्ण बाटो रोजेका हुन् । अधिकांश किसानले यसरी नै खेतमै पराल जलाउन थालेपछि वातावरणमा नकारात्मक प्रभाव पनि बढ्दो छ । यसले वातावरणमा प्रदुषण फैलिने मात्र होइन माटोको उर्वराशक्ति छिन्न हुने र माटोमा रहेको चिस्यानमा कमी आउने भएकाले यसको असर अर्कोपटक लगाउने बालीमा पर्ने गरेको छ । मानिसको स्वास्थ्यमा समेत यसको प्रतिकूल असर उत्तिकै रहेको छ ।
सिँचाइ, मलखाद र उचित बजार भाउ नपाएका कारण किसान आफैँ वर्षौंदेखि समस्यामा छन् । यसको रोकथाम र धान, गहुँको अवशेषको व्यवस्थापनमा किसानले हेलचेक्रयाइ गरिरहेका छन् भने सरकार पनि गम्भीर छैन । धान गहुँको अवशेषको प्रांगारिक मल बनाउने, गाईवस्तुलाई खुवाउन सकिने, पेपर मिललाई बेचेर आर्थिक लाभ लिन सकिने, भुस बनाउन सकिने र राउन्ड बेलर मेसिनको प्रयोग गरी यसको बण्डल बनाई बेचेर थप आर्थिक लाभ लिन सकिन्छ । तर यसतर्फ सहजीकरणका लागि सरकारले पनि ध्यान दिन सकेको छैन ।
आजभन्दा १० वर्ष अगाडिसम्म पराल जलाउने घटनाहरू निकै कम थिए । पराल जलाउनाले किसानलाई तात्कालिक फाइदा हुन सक्छ, तर दीर्घकालिक नोक्सान भने धेरै हुन्छ । अधिकांश किसान अहिले धानको कटाई हार्वेस्टर मेसिनबाट गर्ने भएका छन् । यसबाट खेतहरूमा धानका अवशेषहरू बाँकी रहन्छन् । बाँकी अवशेषलाई किसानहरू खेतमै जलाइदिन्छन् । यसले खेतसँगै वातावरणलाई पनि नोक्सान पु¥याउँछ । किसानहरूले खेतमा बाँकी फसल अवशेषलाई जलाउँदा माटोको तापमान बढ्दछ, जसले गर्दा माटोमा भएको जैविक कार्बन जलेर कति नष्ट हुन्छ । यसबाट माटोको उर्वराशक्ति कम हुँदै जान्छ र बिस्तारै माटो बंजर बन्न थाल्दछ ।
किसानहरूले यो बुझ्नु अत्यावश्यक छ कि, जुन माटोमा बढी सूक्ष्म जीव (माइक्रोब्स) हुन्छन्, त्यो माटो उन्नत र जीवित हुन्छ, र त्यस माटोबाट बढी उत्पादन प्राप्त गर्न सकिन्छ । यसको विपरीत, जुन माटोमा कम सूक्ष्म जीव हुन्छन्, त्यो माटो मृत र निर्जीव जस्तो हुन्छ, र त्यहाँबाट राम्रो उत्पादन प्राप्त गर्नु कठिन हुन्छ । माटोमा पाइने अधिकांश सूक्ष्म जीव माटोको माथिल्लो तहमा पाइन्छन् । जब पराल जलाइन्छ, माटोको माथिल्लो तह अत्यधिक तातो हुन्छ र यी सूक्ष्म जीव मर्दछन्, जसले गर्दा माटो बिस्तारै खराब हुँदै जान्छ र अन्ततः बंजर बन्छ ।
धानको अवशेष जलाउँदा माटोमा नाइट्रोजनको कमी पनि हुन्छ, जसको परिणामस्वरूप उत्पादन घट्छ र वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढ्दछ । यसले वातावरणलाई प्रदुषित गरेर जलवायु परिवर्तनको कारण बनाउँछ । एक अनुमान अनुसार, १ टन बालीको अवशेष जलाउँदा लगभग ६० किलोग्राम कार्बन मोनोआक्साइड, १ हजार ४६० किलोग्राम कार्बनडाइअक्साइड र २ किलोग्राम सल्फरडाइअक्साइड ग्यास वातावरणमा फैलिन्छ, जसले पर्यावरणलाई नोक्सान पु¥याउँछ । किसानहरूले चेतनाको अभावमा पराल जलाइरहेका छन् । पराल जलाउँदा हाम्रा फाइदाजनक मित्र कीटहरूको ठूलो संख्या मर्छ, जसको कारण नयाँ–नयाँ रोग र कीटहरू हरेक वर्ष समस्या बनिरहेका छन्, जसलाई व्यवस्थापन गर्नका लागि हामीलाई कृषि रसायनमा निर्भर रहनुपर्छ ।
माटोमा रहेका हाम्रो मित्र सूक्ष्मजीवहरू, जो कृषि कार्यका लागि अत्यन्त महत्वपूर्ण छन्, पराल जलाउँदा मर्छन्, जसले माटोको संरचनामा हानि पु¥याउँछ । फसल अवशेषहरू, जुन सडेर माटोको उर्वराशक्ति बढाउन मद्दत पु¥याउँछन्, त्यसको फाइदा किसानहरूलाई प्राप्त हुँदैन । उपर्युक्त सबै लाभहरूबाट किसान वञ्चित भइरहेका छन् र तात्कालिक फाइदाका लागि पराल जलाइरहेका छन्, त्यसैले उनीहरूलाई यस विषयमा जागरूक गर्न आवश्यक छ ।
धानको पराल व्यवस्थापन विधिहरूबारे कृषकलाई सचेत बनाउनु जरुरी छ । धानका अवशेषलाई जोताइ गरेर माटोमा मिसाउन विशेष जोताइ उपकरणको आवश्यकता पर्छ । जोताइ गरेर यी अवशेषहरूलाई माटोमा मिसाउँदा माटोको उर्वराशक्ति बढ्छ, कार्बनिक पदार्थको मात्रा वृद्धि हुन्छ र रासायनिक उर्वरकहरूको आवश्यकतामा ठूलो कमी आउँछ । धानको पराल च्याउ खेतीका लागि सर्वोत्तम सबस्ट्रेट हो । यसको प्रयोग गरेर च्याउ खेती गर्न सकिन्छ र यसबाट अतिरिक्त आम्दानी प्राप्त गर्न सकिन्छ ।
धानको भुसा पशुहरूका लागि पूरक आहारको रूपमा प्रयोग गर्न सकिन्छ । यसले चारा लागत घटाउँछ र पशुहरूको लागि पोषणको अतिरिक्त स्रोत प्रदान गर्दछ । धानको भुसा बायोमास पावर प्लान्टहरूमा विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्छ । यसले स्वच्छ ऊर्जा प्रदान गर्दछ र जीवाश्म इन्धनको आवश्यकतालाई कम गर्दछ । धानको पराललाई माटो छोप्न, चिस्यान कायम राख्न र झारको वृद्धि रोक्न प्रयोग गर्न सकिन्छ । यसले जल धारण र माटोको तापक्रम नियन्त्रणमा सुधार ल्याउँछ ।
पोषकतत्वहरू भरपूर भएको मल बनाउन धानको पराललाई अन्य जैविक सामग्रीहरूसँग मिसाएर प्रयोग गर्न सकिन्छ । यसलाई भर्मी कम्पोस्टमा प्रयोग गरेर उच्च गुणस्तरको मल बनाउन सकिन्छ । धानको पराललाई जैविक इन्धन जस्तै बायोइथेनल वा बायोग्यासमा परिणत गर्न सकिन्छ । यसले जीवाश्म इन्धनमा निर्भरता घटाउँछ र ग्रिनहाउस ग्यास उत्सर्जन कम गर्न मद्दत पु¥याउँछ ।
अतः धानको परालको उचित व्यवस्थापन दिगो कृषि र वातावरण संरक्षणका लागि महत्वपूर्ण छ । माटोको सुधार, पशु आहारको प्रयोग, ऊर्जा उत्पादन, छापो, कम्पोस्टिङ, र बायोमास रूपान्तरणजस्ता विभिन्न तरिकाहरू अपनाएर, हामी कृषि र वातावरणका लागि धेरै लाभ प्राप्त गर्दै धानको परालसँग सम्बन्धित चुनौतीहरूको समाधान गर्न सक्छौँ । सकारात्मक परिवर्तन ल्याउन किसानहरूबीच जागरूकता बढाउन आवश्यक छ । अन्ततः, धानको परालको कुशल व्यवस्थापन कृषि क्षेत्रको समग्र स्थिरता र वातावरणीय दृष्टिकोणले अति महत्वपूर्ण छ ।
प्रतिक्रिया