काठमाडौं । नेपाल क्रिकेट संघ (क्यानले नेपाललाई पहिलो पटक आइसिसी यु–१९ महिला टि– २० विश्वकपमा छनोट गराउन सफल टोलीलाई रु २ लाख ५० हजार नगदसहित सम्मान गर्ने भएको छ ।
क्यानले विश्वकपमा नेपाललाई पुर्याउन सफल टोलीका खेलाडी तथा अफिसियलहरुलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको हो । क्यानले बिहीबार एक विज्ञप्ती जारी गर्दै विश्व कपमा छनोट गराउन सफल खेलाडीलाई जनही २ लाख ५० हजार तथा अफिसियलहरुलाई जनही १ लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने जनाएको छ ।
छनोटका लागि जित्नै पर्ने खेलमा बुधबार युएईलाई ८ विकेटलाई हराउँदै आगामी वर्ष मलेसियामा हुने यु–१९ महिलाविश्व कपमा नेपालले पहिलो पटक स्थान बनाएको हो ।
विश्वकप आगामी बर्षको जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा आयोजना हुँदैछ । नेपालले विश्व कपमा स्थान बनाएसँगै अर्को महिना हुने एसिया कपमा समेत छनोट भएको छ ।
पहिलो संस्करणको यु १९ महिला एसिया कप मलेसियामा डिसेम्बर १५ देखि २२ सम्म आयोजना हुनेछ । यु १९ महिला एसिया कपमा नेपाल भारत र पाकिस्तानसँग एकै समूहमा परेको छ ।
एसिया कपमा नेपालसहित ६ टोलीको सहभागिता रहने छ । एसियाली क्रिकेट परिषद् (एसीसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र मलेसिया रहेका छन् । नेपालले आगामी पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिष्पर्धा गर्नेछ ।
प्रतिक्रिया