काठमाडौँ । बलियो प्रतिद्वन्द्वी युएईविरुद्ध ८ विकेटको सानदार जित निकाल्दै नेपाली महिला क्रिकेट टोली पहिलो पटक यु–१९ महिला विश्वकपमा छनोट भएको छ । बुधबार भएको छैटौँ तथा निर्णायक खेलमा नेपालले तेस्रो खेलमा १३ रनले हराएको युएईसँग बदला लिँदै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो । यससँगै नेपाल सन् २०२५ को जनवरी–फेब्रुअरीमा मलेसियामा हुने आइसिसी यु–१९ टी–२० महिला विश्वकपमा सहभागी हुनेछ ।
एसिया छनोटअन्तर्गत आयोजक युएईसहित थाइल्यान्ड, कुवेत र नेपाल गरी ४ टोलीमध्ये अंकतालिकामा शीर्ष स्थानमा रहने टोलीले विश्वकप खेल्न पाउने प्रावधान छ । त्यसअनुसार नेपाल र युएईले समान ५ जितमा समान १० अंक जोडे पनि नेपाल रनरेटका आधारमा छनोट भएको हो । नेपालको रनरेट ३ दशमलव ९ रह्यो भने युएईको ३ दशमलव ७ मात्रै रहेको छ ।
युएईमा बुधबार भएको अन्तिम र निर्णायक खेलमा युएईले दिएको ८४ रनको लक्ष्य १४ दशमलव ४ ओभरमै २ विकेटको क्षतिमा पार गर्दै नेपाल आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा पुगेको हो । यस खेलमा नेपाल युएईलाई जित्नैपर्ने दबाबमा थियो । १६ दशमलव २ ओभरभित्रै जितेको अवस्थामा मात्रै नेट रनरेटका आधारमा विश्वकपमा छनोट हुनेमा २ ओभर कममै लक्ष्य पार गरेको हो । अजमानस्थित द सेभेन स्टेडियममा टस हारेर बलिङको निम्तो पाएको नेपालले घरेलु टोली युएईलाई ८३ रनमै समेट्यो । ८४ रनको सामान्य चुनौतीसहित जबाफी ब्याटिङमा उत्रिएको नेपालले १४ दशमलव ४ ओभरमै ८६ रन जोड्दै जित निकालेको हो ।
नेपालका लागि साना प्रवीणले सर्वाधिक ३५ रन बनाइन् भने कप्तान पूजा महतोले १८ बलमा ४ चौकाको मद्दतमा २१ रन बनाइन् । त्यस्तै, सोनी पाख्रिनले १३ तथा सावित्री धामीले १२ रनको योगदान दिए । नेपालले अतिरिक्त ५ रन प्राप्त गर्यो । युएईका लागि मेहक ठाकुरले २ विकेट लिइन् ।
त्यसअघि घरेलु टोली युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । युएईका लागि समाइरा धरनिधर्कले १ चौकासहित सर्वाधिक ३१ रन बनाइन् भने रिनिता राजितले १८ बलमा २ चौकाको मद्दतमा २० रन बनाइन् । युएईका लागि लावन्या केनी र इन्धुजा नन्दकुमारले समान १०/१० रन जोडे । आयुषी महेश ३ र अवनी सुनिल पाटिलले १ रन बनाउँदा एमिली थोमस, मेहक ठाकुर, अल मसीरा जहाँगीर, इशिता राजित र नेहा कुमारी शून्य रनमै आउट भए । युएईले अतिरिक्त ८ रन प्राप्त गरेको थियो ।
नेपालका लागि कृश्मा गुरुङले सर्वाधिक ४ विकेट लिइन् भने रिया शर्मा र सीमा केसीले २/२ तथा रचनाकुमारी चौधरीले १ विकेट लिए । २१ कात्तिकमा सुरु भएको एसिया छनोटमा नेपालले यसअघि ५ मध्ये ४ खेलमा जित हासिल गरेको थियो भने १ खेलमा पराजित भएको थियो । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले र दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो ।
यस्तै, तेस्रो खेलमा युएईसँगै १३ रनले पराजित भएको नेपाल आइतबार भएको चौथो खेलमा थाइल्यान्डलाई १०५ रन र मंगलबार भएको पाँचौँ खेलमा कुवेतलाई १६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
प्रतिक्रिया