साफ महिला च्याम्पियनसिप : फेरि उपाधिबाट चुक्यो नेपाल

साफ महिला च्याम्पियनसिप

काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा उपाधि चुम्ने नेपालको सपना यस पटक पनि अधुरै रहेको छ । यसअघि ५ पटकसम्म उपविजेतामै सीमित भएको नेपालले यस पटक पनि च्याम्पियन बनेर इतिहास रच्ने मौका गुमाउँदै उपविजेतामै चित्त बुझाउन बाध्य बनेको हो ।

दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा नेपाल बंगलादेशसँग २–१ गोलअन्तरले पराजित भएको हो । सन् २०२२ को फाइनलकै रिम्याचका रूपमा रहेको खेलमा विजयी टोलीका मोनिका चक्का र ऋतु पूर्णा चक्काले गोल गरे भने नेपालका लागि अमिशा कार्कीले गोल गरिन् । ५२औँ मिनेटमा मोनिकाले नेपाली रक्षकहरूले समन्वयको अभावमा गरेको गल्तीको फाइदा उठाउँदै गोल गरेकी थिइन् । त्यसको ४ मिनेटपछि नै अमिशाले शानदार गोल गर्दै खेललाई बराबरीमा ल्याएकी थिइन् ।
निर्धारित समय सकिन ८ मिनेट बाँकी रहँदा ऋतुले क्रस गरेको बल नेपाली गोलपोस्टको बायाँ कर्नरमा गएर गोलमा परिणत भएपछि १८ हजार दर्शक क्षमता भएको दशरथ रंगशालामा सन्नाटा छाएको थियो । बंगलादेशले गरेको अनगन्ती आक्रमणलाई नेपाली टोलीकी गोलरक्षक एन्जिला तुम्बापो बचाएकी थिइन् ।

खेलको सुरुआतमा नै आक्रमण गरेको बंगलादेशले दोस्रो मिनेटमै गरेको आक्रमण विफल भएको थियो । पहिलो हाफमा नै बंगलादेशी कप्तान सविना खातुनको प्रहार बारमा लागेको थियो । सविनाले गरेको हेडरलाई नेपाली गोलकिपर एन्जिलाले नियन्त्रणमा लिइन् । नेपाल पनि पहिलो हाफमा नै गोलको नजिक नपुगेको होइन । १०औँ मिनेटमै बंगलादेशकी गोलकिपर रुप्ना चक्मा अघि बढेको अवस्थामा अमिशाले प्रहार गरेको बल बारमा लागेर फर्किएको थियो ।

साफ च्याम्पियनसिपमा व्यक्तिगत पुरस्कारतर्फ भुटानकी डेकी लाझोम शीर्ष गोलकर्ता बनिन् । उनले खेलमा ८ गोल गरेकी थिइन् । यस्तै, मोस्ट भ्यालुएबल प्लेयर बंगलादेशकी रितु पूर्ण चक्मा बन्दा उत्कृष्ट गोरक्षक रुत्ना चक्मा बनिन् भने फेयर प्ले अवार्ड भुटानले पाएको छ ।

फाइनलमा रेखाको अनुपस्थिति

साफ महिला च्याम्पियनसिप–२०२४ अन्तर्गत बंगलादेशविरूद्धको उपाधि भिडन्तका लागि नेपाली टोलीमा एउटा परिवर्तन गरिएको थियो । अघिल्लो खेलमा रातो कार्ड पाएकी रेखा पौडेलको स्थानमा सरु लिम्बूले पहिलो रोजाइमा खेलेकी थिइन् ।

नेपालका प्लेइङ ११ मा एन्जिला तुम्बापो सुब्बा (गोलकिपर तथा कप्तान), पूजा राना, विमला विक, अमृता जैशी, रेनुका नगरकोटी, सरु लिम्बू, गीता राना, प्रीति राई, सविता राना मगर, अमिशा कार्की र सावित्रा भण्डारी साम्बा थिए ।

सुरक्षामा सतर्क एन्फा

यसैबीच, अखिल नेपाल फुटबल संघ (एन्फा) ले रंगशालामा जाँदा लैजान नपाइने सामानहरूको सूची सार्वजनिक गरेको थियोे । बन्दुक, छुरा तथा अन्य कुनै पनि धारिलो हतियार वा औजार लैजान बर्जित थियो । यस्तै चुरोट, लाइटर, सलाई, मादक वा नशालु पदार्थ लैजान पनि प्रतिबन्ध थियो ।

ठुलो झोला पनि लैजान रोकिएको थियो । मोटरसाइकलको हेल्मेट, बिना अनुमतिका ब्यानर, झन्डा, पोस्टर, पानी वा अन्य कुनै चिसो पेय पदार्थका बोतल वा क्यान, लेजर लाइट, छाता, लिपिस्टिक, नेलकटर, कैंची, काइँयो लगायत लैजान प्रतिबन्ध लगाइएको थियो ।
यसअघि भारतविरूद्धको सेमिफाइनलमा क्षमताभन्दा बढी दर्शक छिराएको पाइएको थियो । खेल विवादित बनेपछि दर्शकसमेत आक्रोशित बनेका थिए । आक्रोशित दर्शकले खेल मैदानमा बोतलसमेत प्रहार गरेपछि फाइनल खेलमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको थियो । कडा सुरक्षा जाँचपछि मात्रै दर्शकलाई रंगशाला प्रवेश दिइएको थियो ।

नेपाल र बंगलादेशको फाइनल यात्रा

नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी गरेको थियो । यसैगरी, माल्दिभ्सलाई ११–० ले हराएको थियो भने श्रीलंकासँग ६–० को जित हात पारेको थियो । बंगलादेशले पहिलो चरणमा पाकिस्तानसँग १–१ गोलको बराबरी गरेको थियो । भारतलाई ३–१ ले हराउँदै बंगलादेशले समूहमा पहिलो स्थान पाएको थियो ।

पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ ले हराएको थियो भने दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ ले हराएको थियो । निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो ।

विगत संस्करणको फाइनल

पहिलो पटक सन् २०१० मा ढाकामा भएको प्रतियोगिताको पहिलो संस्करणमा नेपाललाई १–० गोलअन्तरले हराउँदै भारतले उपाधि जितेको थियो । सन् २०१२ मा श्रीलंकामा भएको प्रतियोगिताको फाइनलमा पनि भारतले नेपाललाई ३–१ ले हराएको थियो । सन् २०१४ मा पाकिस्तानमा भएको फाइनलमा भारतले नेपाललाई ६–० ले हराएको थियो । सन् २०१६ मा भारतमा भएको च्याम्पियनसिपमा भने नेपाल फाइनल प्रवेशबाट चुकेको थियो ।

सो फाइनलमा भारतले बंगलादेशलाई ३–१ ले हराएको थियो । सन् २०१९ नेपालमा भएको प्रतियोगिताको फाइनलमा भारतले नेपाललाई ३–१ ले हराएको थियो भने सन् २०२२ बंगलादेशले नेपालाई सोही गोल अन्तरले हराएको थियो ।

प्रतिक्रिया