जुरिच । म्यानचेस्टर सिटी तथा स्पेनका मिडफिल्डर रोड्रीले यस वर्षको बालोन डी अवार्ड जितेका छन् । गत सिजन उनले क्लबका लागि १ खेल मात्र गुमाएका उनले यो अवार्ड जितेका हुन् । उनले स्पेनलाई युरो कपको उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ब्राजिलियन रियल म्याड्रिडका विङ्गर भिन्सियस जुनियरलाई पछि पारेका उनी सो अवार्ड जित्ने सिटीका पहिलो खेलाडी हुन् ।
फिफा वरीयताक्रमको शीर्ष १०० स्थानमा रहेका पत्रकारको जुरीको मतदानबाट सो अवार्ड दिइएको हो । सन् २००३ पछि पहिलो पटक ८ पटकका विजेता ३७ वर्षीय लियोनेल मेसी तथा ५ पटकका विजेता ३९ वर्षीय क्रिस्टियानो रोनाल्डो दुवै जना नोमिनेसनमा नपरेको यो पहिलो पटक हो । प्रभावशाली मिडफिल्डर उनी इंग्ल्यान्डसँगको युरो कपको फाइनलमा पहिलो हाफमा घाइते हुनुका बाबजुद प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
गत सिजन उनले सिटीका लागि ९ गोल गरेका थिए । उनले एक सिजनमा सबैभन्दा धेरै गोल गरेका हुन् । उनलाई सन् १९९५ का विजेता जर्ज वेले पुरस्कार प्रदान गरे ।
केन र एम्बाप्पेलाई गर्ड म्युलर अवार्ड
गत सिजन ५२ गोल गरेका हेरी केन र केलिएन एम्बाप्पेले संयुक्त रूपमा गर्ड म्युलर ट्रफी जितेका छन् । रियल म्याड्रिड र फ्रान्सका कप्तान एम्बाप्पे अनुपस्थित भएको कार्यक्रममा वायरन म्युनिख तथा इंग्ल्यान्डका केनले सो अवार्ड लिएका थिए ।
यमाललाई कोपा ट्रफी
२१ वर्ष मुनिका खेलाडीलाई दिइने कोपा ट्रफी स्पेन तथा बार्सिलोनाका विंगर लामिन यमाललाई प्रदान गरियो । गत जुलाईमा १७ वर्ष पूरा भएका उनले गत सिजन बार्सिलोनाका लागि ५० खेल खेल्दै ७ गोल गर्नुका साथै ७ एसिस्ट गरेका थिए ।
युरो कप विजेता टोलीका सदस्य उनले ४ एसिस्ट गर्दै सबैभन्दा धेरै एसिस्टको कीर्तिमान कायम गरेका थिए । युरो कपमा उनी उत्कृष्ट युवा खेलाडी हुनुका साथै कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान कायम गर्न सफल भएका थिए ।
मार्टिनेजलाई यासिन अवार्ड
अस्टन भिल्ला तथा अर्जेन्टिनाका इमिलियानो मार्टिनेजले दोस्रो वर्ष उत्कृष्ट गोलरक्षकको रूपमा यासिन ट्रफी जितेका छन् । सन् २०२२ का विश्वकप विजेता टोलीका सदस्य उनले अस्टन भिल्लालाई प्रिमियरसिपको चौथो स्थानमा राख्दै च्याम्पियन्स लिगमा छनोट गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । जुनियरले अवार्ड नपाउँदा यसमा असहमति जनाउँदै रियल म्याड्रिडका कोही पनि कार्यक्रममा उपस्थित थिएनन् ।
शीर्ष १० मा को को
शीर्ष १० खेलाडीको सूचीमा चौथो स्थानमा स्पेन तथा रियल म्याड्रिडका डानी काभाजाल छन् । यसैगरी, नर्वे तथा म्यानचेस्टर सिटीका एर्लिङ हलान्ड पाँचौँ स्थानमा रहे । फ्रान्स तथा गत सिजन पेरिस सेन्ट जर्मनका पूर्व तथा अहिलेका रियल म्याड्रिडका फरवार्ड केलिएन एम्बाप्पे छैटौँ स्थानमा रहे । अर्जेन्टना तथा इन्टर मिलानका लाउटारो मार्टिनेज सातौँ स्थानमा रहे । बार्सिलोना तथा स्पेनका लामिन यमाल आठौँ, जर्मनी तथा रियल म्याड्रिडका टोनी क्रेन नवौँ तथा इंग्ल्यान्ड तथा वायरन म्युनिखका हेरी केन १०आँै स्थानमा रहे । हाल रियल म्याड्रिडमा रहेका ५ खेलाडी शीर्ष १० को सूचीमा छन् । स्पेनका सर्वाधिक ३ खेलाडी सूचीमा छन् ।
मानमोटीलाई महिलातर्फको अवार्ड
स्पेन तथा बार्सिलोनाका मिडफिल्डर आइटिनो मोनमाटीले महिलातर्फको बालोन डी ओर अवार्ड जितेकी छन् । उनले गत सिजन बार्सिलोनाका लागि लालिगा, च्याम्पियन्स लिग, सुपर कोपा तथा कोपा डे ला रेइना उपाधि जितेकी थिइन् ।
फेब्रुअरीमा स्पेनले नेसन्स कप उपाधि जित्दा उनले ४ गोल गरेकी उनले फ्रान्ससँग २–० को जित हात पारेको फाइनलमा पनि १ गोल गरेकी थिइन् । चेल्सीलाई पाँचौँपटक सुपर लिग उपाधि दिलाएकी एमा हायस उत्कृष्ट महिला प्रशिक्षक भइन् । बार्सिलोना टोली घोषित भएको छ । मानवीय सेवामा समर्पित स्पेनकी जेनिफर हेरमोसोले सोक्रेटस अवार्ड जितेकी छन् ।
प्रतिक्रिया