काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले आफ्नो टोली सन्तुलित र बलियो रहेकाले साफ च्याम्पियनसिपमा च्याम्पियन बन्ने लक्ष्य रहेको बताएकी छन् । नेपालले तेस्रोपल्ट महिला साफ च्याम्पियनसिपको आयोजना गर्दैछ । बिहीबारदेखि घरेलु मैदानमा हुने साफ च्याम्पियनसिपमा नेपाली टोलीकी कप्तान तथा गोलकिपर कप्तान च्याम्पियन हुने लक्ष्य रहेको बताइन् । उनले सबै टोली मिहिनेत गरेर च्याम्पियन बन्नकै लागि आए पनि यसपल्ट आफ्नो टोली सन्तुलित र बलियो रहेको विश्वास व्यक्त गरिन् । कप्तान एञ्जिला यसपल्ट आफ्नो टोलीको मिहिनेत खेर नजानेमा आशावादी देखिएकी छन् । च्याम्पियनसिपको उद्घाटन खेलमा बिहीबार भारत र पाकिस्तान भिड्दैछन् ।
आयोजक नेपालले भने शुक्रबार भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुआत गर्दै छ । पहिलो लक्ष्य समूह चरणका खेलमा राम्रो गर्नु रहेको बताइन् । साफको तयारीका लागि समय छोटो भए पनि घरेलु लिगले मद्दत पुग्ने उनको विश्वास छ । डिफेन्समा समस्या हुँदा गोलकिपरले महत्वपूर्ण भूमिका खेल्नुपर्ने र यसमा राम्रो गर्नसके टोलीमा सुधार आउने उनको भनाइ छ । कप्तान एन्जिलाले अन्तर्राष्ट्रिय एक्सपोजर नभए पनि प्राप्त अवसरबाट उत्कृष्ट नतिजा निकाल्ने उद्देश्यअनुरूप खेल्नुपर्ने औँल्याइन् ।
केही समयअगाडि मात्र एन्फा महिला लिगको पहिलो चरण पूरा भएको थियो । सोही लिगको प्रदर्शनका आधारमा एन्फाले ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो । त्यहाँबाट राष्ट्रिय टोली निर्माण गरिएको हो । नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले घरेलु लिग सञ्चालन भएकाले २ हप्ता मात्रै तयारी गरेको र योजनाअनुरूप तयारी गर्ने समय नमिलेको बताए । फिजिकल स्ट्रेन्थ र इन्डुरेन्समा काम गर्न नपाएको उनको भनाइ छ । प्रशिक्षक तामाङले यसबीच केही स्ट्राइकरहरू पनि विदेशमा रहेकाले टिममा एकसाथ प्रशिक्षण गर्ने अवसर नमिले पनि प्रतियोगिताका लागि आफ्नो टोली तयार रहेको बताए ।
५ पटक साफको फाइनल खेले पनि उपाधिमा चुक्नुको मुख्य कारण डिफेन्समा कमजोरी रहेको उनको बुझाइ छ । यसको सुधारका लागि खेलाडीहरू पनि थप सजक हुनुपर्ने उनी बताउँछन् । तथापि, यसपल्ट डिफेन्समा सुधार भएको उनको विश्वास छ ।
नेपालको समूहमा रहेको भुटानले फुटबलमा धेरै लगानी गरिरहेको र त्यहीअनुरूप प्रदर्शन पनि गरेकाले सहज प्रतिद्वन्द्वी नहुने उनको भनाइ छ । सबै टोली बलियो रहे पनि आफ्नो टोलीका खेलाडी त्यो चुनौती सामना गर्न तयार रहेको प्रशिक्षक तामाङ बताउँछन् ।
आफ्ना २ स्ट्राइकरमध्ये रेखाले एकदिन मात्र टोलीसँगै प्रशिक्षण गर्न पाउने भए पनि अर्की स्ट्राइकर सावित्रा भण्डारीले १ खेलपछि मात्र खेल्ने भएकाले तालमेल अभाव हुने उनको बुझाइ छ ।
महिला साफ च्याम्पियनसिपको सफल टोली भारत हो । भारतले ५ पटक उपाधि उचाल्दा गत संस्करण मात्र बंगलादेशले जितेको छ । बंगलादेशका मुख्य प्रशिक्षक पिटर बटलरले युवा र अनुभवी खेलाडीसहित टोली सन्तुलित रहेको बताए । बंगलादेशले राम्रो तयारी गरेकाले डिफेन्डिङ च्याम्पियनका रूपमा खेल्ने पिटरको विश्वास छ । तर सबै टोलीलाई उतिकै बलियो टोलीका रूपमा खेल्ने पनि उनको भनाइ छ ।
बंगलादेशकी कप्तान सविना खातुनले पनि यस च्याम्पियनसिपका लागि खेलाडीले धेरै मिहिनेत गरेको र टोली सन्तुलित रहेकाले सुखद् प्रदर्शन गर्नेमा आशावादी देखिएका छन् । साफको सबैभन्दा बलियो टोली भारतका प्रशिक्षक सन्तोष कश्यपले सहभागी धेरै टोली बलियो रहेकाले र प्रतिस्पर्धात्मक खेलहरू हुने आशा व्यक्त गरे । भारतकी कप्तान आशालताले पनि राम्रो तयारी गरेको बताइन् ।
प्रतिक्रिया