दुबई । आइसिसीले ३ पूर्व क्रिकेटरलाई ‘आइसिसी हल अफ फेम’ सम्मान दिएको छ । आइसिसीले बुधबार दक्षिण अफ्रिकाका एबी डिभिलियर, इंग्ल्यान्डका एलस्टर कुक र भारतकी नितु डेभिडलाई ‘आइसिसी हल अफ फेम’ सम्मान दिएको हो ।
डिभिलियर्सले दक्षिण अफ्रिकाका लागि ११४ टेस्ट, २२८ एकदिवसीय र ७८ टी–२० खेल खेलेका छन् । उनले टेस्ट क्रिकेटमा ८ हजार ७६५, एकदिवसीय खेलमा ९ हजार ५७७ र टी–२० मा १६७२ रन बनाएका छन् । त्यस्तै इंग्ल्यान्डका पूर्व खेलाडी कुकले १६१ टेस्टमा १२ हजार ४७२ रन, ९२ एकदिवसीय खेलमा ३ हजार २०४ रन र ४ टी–२० मा ६१ रन बनाएका थिए । त्यसैगरी भारतकी नितु डेभिडले १० टेस्टमा ४१ विकेट लिएकी छन् भने ९७ एकदिवसीय खेलमा १४१ विकेट लिएकी थिइन् ।
आइसिसीले हरेक वर्ष आ–आफ्नो देशबाट विशिष्ट योगदान गरेका क्रिकेटरलाई ‘आइसिसी हल अफ फेम’ बाट सम्मान गर्ने गरेको छ । अहिलेसम्म विश्वका कुल ११५ क्रिकेटरले यो सम्मान पाएका छन् ।
अहिलेसम्म सबैभन्दा बढी इंग्ल्यान्डका ३३ क्रिकेटरले ‘आइसिसी हल अफ फेम’मा स्थान बनाएका छन् भने अस्ट्रेलियाका २९, वेस्ट इन्डिजका २१, भारतका १०, पाकिस्तान र दक्षिण अफ्रिकाका ७–७, श्रीलंकाका ४, न्युजिल्यान्डका ३ र जिम्बाबेका १ खेलाडी यस सूचीमा रहेका छन् । आइसिसीले २००९ देखि ‘आइसिसी हल अफ फेम’ सम्मान घोषणा गर्न थालेको हो ।
प्रतिक्रिया